|
पर्सा क्षेत्र नम्बर १ मा विजयी फोरम नेपालका प्रदीप यादव

वीरगञ्ज : मधेस आन्दोलनको केन्द्रविन्दु पर्सा जिल्लाको ४ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मधेस केन्द्रित दलका उम्मेदवार विजयी भएका छन्। दुई मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले आपसमा गठबन्धन गरेकाले नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उनीहरु मधेस गठबन्धनका उम्मेदवार विजय हासिल गर्न सफल रहे।

पर्साका ४ क्षेत्रमध्ये एउटामा राजपा र अरु तीन क्षेत्रमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन्। चारवटै क्षेत्रमा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार छन् भने वाम गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा रहे। 

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका प्रदीप यादव विजयी भएका छन्। २१ हजार १ सय ३२ मत प्राप्त गरेका उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६ सय ५१  मत अन्तरले पराजित गरे। रुंगटाले १६ हजार ४ सय ८१  मत प्राप्त गरेका थिए।

यादव मतगणना शुरु भएदेखि नै अग्र स्थानमा रहेका थिए भने रुंगटाले पछयाउदै आएका थिए। यस क्षेत्रमा तेस्रो स्थानमा रहेको वाम गठबन्धनका उम्मेदवार एमालेका विचारी यादवले जम्मा ५ हजार ४ सय ८१ मत मात्र पाए। 

यसैगरी क्षेत्र नम्बर २ मा फोरम राजपा गठबन्धनबाटै फोरमका विमल श्रीवास्तव निर्वाचित भएका छन्। श्रीवास्तवले २१ हजार १ सय ६९ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय चौरसियाले १९ हजार ७ सय ४ मत पाए। श्रीवास्तवले १ हजार ४ सय ६५ मतान्तरले जित हासिल गरेका हुन्। तेस्रो स्थानमा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सलिम मन्सुरले ६ हजार ७ सय २९ मत पाए।

पर्सा क्षेत्र नम्बर ३ मा पनि फोरम राजपा गठबन्धनबाट संघीय समाजवादी फोरमका हरिनारायण रौनियार १५ हजार १ सय ६८ मत प्राप्त गरी विजयी भए। रौनियारले निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र चौधरीलाई १३ सय ६७ मतान्तरले पराजित गरे। चौधरीले १३ हजार ८ सय १ मत ल्याएका थिए। यसैगरी वाम गठबन्धनका एमाले उम्मेदवार राजकुमार गुप्ताले १० हजार ९ सय ८६ मत प्राप्त गरेका थिए। चौथो स्थानमा रहेको नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवले १० हजार ९ मत प्राप्त गरेका थिए।

पर्साको क्षेत्र नम्बर ४ मा पनि फोरम राजपा गठबन्धनबाट राजपा उम्मेदवार लक्षमणलाल कर्ण २० हजार ७ सय ३८ मत ल्याई विजयी भए। कर्णले निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजाललाई ६ हजार ४६ मतान्तरले पराजित गरे। रिजालले १४ हजार ७ सय २ मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत प्राप्त गरिन्। त्यस्तै नेपाल संघीय समाजवादी पार्टीका ईम्दाद गदीले २ हजार ७ सय ८९ मत पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.