|

सुनसरी : विवादका कारण सुनसरी ३ को मतगणना अन्यौलमा परेको छ। सोमबार बिहानदेखि अवरुद्ध मतगणना कार्य सुचारु गर्ने प्रयास असफल भएपछि मतगणना अन्यौलमा परेको छ। मत पेटिकामा अर्धकट्टीसहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएपछि विवाद भएको हो। विवाद भएपछि मतगणना अनिश्चितकालको लागि स्थागित भएको छ।

अधकट्टीसहित भेटिएका मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा छाप लागेको भेटिएको एमालेकी उम्मेदवार भगवती चौधरीले बताइन्। चौधरीले अर्धकट्टीसहित भेटिएको मतपत्र सार्वजनिक गर्न र सिरियल नम्बर देखाउन माग गरेकी छिन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र सार्वजनिक गर्न नमानेपछि विवाद भएको चौधरीले बताइन्।

एमाले उम्मेदवार चौधरीले सोमबार दिउँसो मतगणनास्थलमा पत्रकार सम्मेलन गरी अर्धकट्टीसहित भेटिएका मत बदर हुनुपर्ने माग गरिन्। उनले मतगणना निष्पक्ष हुन नसकेको आरोप समेत लगाइन्। मतगणनास्थल बाहिर निर्वाचनका दिन मतदान अघिकृतले मुचुल्का गर्दा प्रयोग गरिने कागजात भेटिनु र सिल गर्दा प्रयोग गरिने सामाग्री गणनास्थल बाहिर भेटिनुले झन् आशंका बढाएको उम्मेदवार चौधरीले बताइन्।

सुनसरीका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले तत्काल मतगणना हुन सक्ने सम्भावना नरहेको भन्दै अर्धकटीसहितको मतपत्र भेटिएको बारेमा आफूलाइ विस्तृत जानकारी नभएको बताए। कांग्रेस उम्मेदवार तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पनि सोमबार दिउँसो पत्रकार सम्मेलन गरी विवाद भएका मतहरु नियम विपरीत नभएको दाबी गरे।

ती मतलाई सदर मानी तत्काल मतगणना तत्काल सञ्चालन गर्न उनले माग गरेका छन्। सुनसरी क्षेत्र नम्बर ३ मा जारी मतगणनामा वाम गठबन्धनका उम्मेदवार चौधरी १ सय ५५ मतले अगाडि रहेकी छिन्। त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार गच्छदारले २९ हजार १ सय सय ७१ मत ल्याएका छन् भने चौधरीको २९ हजार ३ सय २६ मत रहेको छ। अझै २० हजार मत गन्न बाँकी रहेको छ।

इनरुवा दिनभर तनावग्रस्त

विवादका कारण सोमबार दिनभरिजसो सुनसरी सदरमुकाम इनरुवा तनावग्रस्त भयो। एमालेका नेता कार्यकर्ता र काङ्ग्रेस नेता कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भए पनि सुरक्षाकर्मीको संयमताले अप्रिय घटना हुन नपाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए। मतगणनास्थल जिल्ला समन्वय समितिको कार्यालय अगाडि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका कारण झडप भने हुन पाएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.