|

भक्तपुर : निर्वाचन परिणामले यो पटक भक्तपुरमा कांग्रेस शून्य देखाएको छ। ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर–२ मा जितेको कांग्रेसले यो पटक हार बेहोर्नुपरेको हो। 

कांग्रेसले भक्तपुर–२ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार बनाएको थियो तर उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग करिब दोब्बर मतले हारेका छन्।क्षेत्र नम्बर २ ‘ख’ अन्तर्गत मध्यपुर ठिमी कांग्रेसको गढ मानिए पनि स्थानीय निर्वाचनमा समेत एमालेकै उम्मेदवार विजयी भएका थिए।  प्रदेश ‘क’ अन्तर्गत सूर्यविनायक नगरपालिका एमालेको गढ मानिन्छ।

निर्वाचन परिणामले भक्तपुरमा यो पटक वाम गठबन्धनबाट एमाले र नेमकिपालाई प्रतिनिधिसभामा पठाउने भएको छ भने प्रदेतर्फ पनि यी दुई पार्टीको मात्र प्रतिनिधित्व हुने भएको छ।

भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवाल विजयी भए। प्रदेशतर्फ १ ‘क’ मा एमालेका हरिशरण लामिछाने विजयी भए भने ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसाईँले जित हात पारे। भक्तपुर–२ ‘क’ मा एमालेका शशिजंग थापा र ‘ख’ एमालेकै राजेन्द्रमान श्रेष्ठ विजयी भए। 

भक्तपुर क्षेत्र नम्बर १ २०४८ को आमनिर्वाचनदेखि नै नेमकिपाको गढ मानिन्छ भने २ कांग्रेसको। यद्यपि क्षेत्र नम्बर २ मा नेमकिपा र कांग्रेसले पालैपालो जित्ने गरेका थिए। पहिलो संविधानसभा निर्वाचनमा यहाँ नेमकिपाका सुनिल प्रजापति विजयी भएका थिए। क्षेत्र नम्बर २ मा एमाले विजयी भएको यो पहिलो पटक हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.