|

लहानः सप्तरीको दक्षिणी सीमावर्ती डाकनेश्वरी नगरपालिका– ५ पातोका ७० वर्षका चन्द्रकान्त चौधरी नगरपालिकाको प्रमुख हारेर पनि सांसद बनेका छन्।

पछिल्लो असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव उठेका चौधरीसहितलाई राजपाले हराएको थियो तर मंसिर २१ गते सम्पन्न निर्वाचनमा उनी राजपाबाटै सांसद् बनेका छन्।

कांग्रेसले नपत्याएपछि स्वतन्त्र हुँदै राजपा
आफ्नो जीवनको उर्वर समय नेपाली कांग्रेसका लागि खर्चिएका चौधरी कांग्रेसले स्थानीय तहको चुनावमा टिकट नदिएपछि बाकस चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा उठेका थिए तर एक हजार ९३६ मत मात्र ल्याएर पाँचौँ स्थानमा खुम्चिए। 

स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६९ दिनपछि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चौधरी कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्व गृहराज्यमन्त्री दिनेशकुमार यादवलाई तीन हजार १८३ मतले पछि पार्दै २२ हजार ५८४ मत ल्याएर विजयी बने।

सप्तरीको दक्षिणी क्षेत्रमा कहलिएका स्वास्थ्यकर्मी मानिने बाबु उमाकान्त चौधरीको सामाजिक हैसियत र पुख्र्यौली सम्पत्तिको कारणले कांग्रेसको राजनीतिमा लागेका चौधरीलाई जीवनको उत्तराद्र्धमा मधेसकेन्द्रित दलको राजनीति फापेको छ। स्थानीय तहको निर्वाचनमा जातीयताको आन्तरिक कारणले जसले टिकट दिएनन्, उनै दिनेशलाई प्रतिनिधिसभाको निर्वाचनमा हराएर चौधरीले आफ्नो राजनीतिक हैसियत देखाएको स्थानीय बताउँछन्।

हराए भाइ ताराकान्तलाई पनि
एउटै बाबुका छोरा भए पनि दाजु चन्द्रकान्त र भाइ ताराकान्तले राजनीतिका दुई अलग धार समाते। जिल्लाको दक्षिणी क्षेत्रमा कांग्रेसका सक्रिय नेताको रूपमा चिनिएका चन्द्रकान्त हिँडेको बाटो छोडेर कम्युनिष्ट राजनीतिमा लागेका भाइ तारकान्त यस पटक आफ्नै दाजुबाट पराजित भएका छन्। संघीय समाजवादी फोरम नेपालको समेत समर्थन रहेको राजपाबाट सप्तरी क्षेत्र नं.– ३ का उम्मेदवार बनेका चन्द्रकान्त्तले बाजी मारे भने वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार रहेका तराकान्तले भने तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो। 

डाकनेश्वरी नगरपालिका– ६ फत्तेपुर घर भएका ताराकान्त २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं.– ३ बाट कांग्रेसकै दिनेशकुमार यादवलाई हराएर निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.