|

  • पेमा लामा-

काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चाेकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विजयीहरूले जिल्लाको समग्र विकासमा केन्द्रित हुने बताएका छन्। उनीहरूले ईन्द्रावती बहुउद्देश्यीय परियोजना, सुनकोसी जलविद्युत परियोजना, धुलिखेल नमोबुद्ध पर्यटनमा विकास, धुलिखेलमा एयरपोर्ट, काभ्रे जिल्लालाई कृषि उत्पादनको केन्द्रको रूपमा विकास गर्नेलगायतका योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्।

काभ्रेपलाञ्चोक क्षेत्र नं.– १ मा गंगाबहादुर तामाङ ‘बमध्वज’ विजयी भएका छन्। यसरी नै क्षेत्र न‌ं.- २ बाट गोकुल बाँस्कोटा विजयी भएका छन्। दुवै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। बमध्वज माअोवादी केन्द्र र बाँस्कोटा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए।

तामाङले ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत प्राप्त गरेका हुन्।

को हुन् बमध्वज?
काभ्रेपलाञ्चोक जिल्लाको साविक मेच्छे गाविस– ९ मुक्पा, हालको तेमाल गाउँपालिकाको वडा नं.– ९ मा २०२८ मंसिर ७ गते जन्मिएका तामाङ वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएर प्रतिनिधिसभा क्षेत्र नं.– १ बाट चुनाव उठेका हुन्। 

सामान्य गरिब किसान परिवारमा जन्मेकै कारण उनले गाउँकै विद्यालयमा कक्षा ५ सम्म मात्रै अध्ययन गर्न पाएका थिए। उनी जिल्लामा ‘बमध्वज’ उपनामले परिचित माओवादी कन्द्रका नेता हुन्।

तामाङ जनयुद्धको सुरुवात हुने बेला काभ्रेपलाञ्चोक जिल्लाबाट भूमिगत भएर युद्धमा होमिएकामध्येका एक हुन्। तामाङ निडर, हक्की र लडाकु स्वभावका छन्। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका ‘बमध्वज’ले दश वर्षे जनयुद्धको बेला काभ्रे जिल्लामा २०५२ सालदेखि नै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको पूर्णकालिन सदस्य भएर भूमिगत जीवनसमेत बिताइसकेका छन्। उनले २०४६ सालबाट राजनीति सुरु गरेका हुन्।

परिवार नै युद्धमा होमिएका तामाङका भाइ लनम दोङ २०५९ सालमा भोजपुरको मोर्चामा शहीद भएका थिए। 

उनले २०६१ सालमा जनसरकार प्रमुख, शहीद परिवार समाजको अध्यक्ष, जिल्ला सेक्रेटरीसमेतको जिम्मेवारी सम्हालिसकेका छन्।

जनयुद्धमा लागेकै बेला काभ्रेपलाञ्चोक जिल्लाको मंगलटारबाट गिरफ्तारीमा पेरका उनले चार वर्ष जेल जीवन बिताएका छन्।

निर्वाचित भएपछि उनले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै जिल्लाको समग्र विकासका लागि आफूले भाषणमा नभई व्यवहारमा आफ्नो कार्यकालभित्र काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन्।

यसरी नै प्रतिनिधिसभा क्षेत्र नं.– २ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्।

उनले ५४ हजार ४२७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५७९ मत प्राप्त गरेका थिए। बाँस्कोटा १७ हजार ८४८ मतको अन्तरले विजयी भएका हुन्।

को हुन् गोकुल?
गोकुल बाँस्कोटा मण्डन देउपुर नगरपालिका– ४ का स्थायी बासिन्दा हुुन्। विद्यार्थीकालदेखि नै अनेरास्ववियुको संगठनमा बसेर राजनीति गर्दै आएका उनले काभ्रेको डेडिथुम्का माविबाट एसएलसी उत्तीर्ण गरेका हुन्। 

उनले नेकपा एमाले काभ्रे जिल्लाको जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंबाट उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्।

विद्यालयमा पढ्दा २०३७ सालदेखि नै राजनीतिमा लागेका बाँस्कोटा २०७० सालको संविधानसभा चुनावमा पनि उम्मेदवार बनेका थिए। तर उनी पराजित भएका थिए। हाल उनले नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्य भएर काम गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.