|

काठमाडौं: भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका क्रममा निर्वाचनका लागि बनाइएको आचारसंहिता अपेक्षाकृत रूपमा पालना हुन नसकेकाले यसबारे पुनर्मूल्यांकन गर्नुपर्ने सुझाव निर्वाचन पर्यवेक्षकहरूले दिएका छन्।

निर्वाचनका क्रममा निर्वाचनको पर्यवेक्षण गर्न देशभर परिचालन भएका राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र संकल्पले मंगलबार पत्रकार सम्मेलन गरी यस विषयमा पुनर्मूल्यांकन गरी पालना गर्न सकिने खालका आचारसंहिता मात्र बनाएमा आचारसंहिता लागू गर्न सकिने सुझाव निर्वाचन आयोग तथा सम्वद्ध निकायलाई दिएका हुन्।

निर्वाचन पर्यवेक्षणका क्रममा उचित मतदाता शिक्षा मतदाता समक्ष पुर्‍याउन नसक्दा समानुपातिक मत धेरै संख्यामा बदर हुने अवस्था देखिएको ती संस्थाहरूले बताएका छन्।

आचारसंहिता निर्माण गर्दा धेरै विषय समेटिए पनि सामाजिक सञ्जालमा लेख्ने/बोल्ने कुरालाई रोक्न कठिन देखिएको जियोकका अध्यक्ष हिमालयशमसेर राणाले बताए। 'समग्रमा निर्वाचन राम्रै भए पनि आचारसंहिता पालना अपेक्षाकृत हुनसकेन। यस विषयमा पुनर्विचार गर्नुपर्छ कि भन्ने लाग्छ', राणाले भने, 'हामीले बनाएर कतिपय आचारसंहिता पालना गर्न कठिन देखिन्छ। सामाजिक सञ्जालमा जति गरे पनि लेख्न छाड्दैनन्। यी कुरामा पुनर्विचार गर्नुपर्छ।' अध्यक्ष राणाले निर्वाचन केही हिंसात्मक घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए।

मंसिर १० र २१ गते गरी दुई चरणमा गरिएको निर्वाचनमा ६०/६५ प्रतिशत मतदान हुने अपेक्षा गरिए पनि अपेक्षाभन्दा बढी मतदान भएको उनले बताए। 'निर्वाचन बिथोल्न केही पार्टीले घोषित रूपमै विष्फोट गराए तर त्यस्तो दुखद् केही भएन', उनले भने। व्यस्थापन गर्न प्रतिकूल समय हुँदा पनि आयोगले छोटो समयमा मतपत्र छापेर निर्वाचन सम्पन्न गराएको राणाकाे भनाइ थियो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाताले निर्भीकताका साथ निर्वाचन प्रक्रियामा सहभागिता जनाएको बताए। मतदान केन्द्र, जनशक्ति, भौतिक पूर्वाधार तथा सुरक्षाका दृष्टिले निर्वाचन व्यवस्थित भएको प्रमुख आयुक्त यादवको दाबी थियो।

निर्वाचनका सन्दर्भमा इलेक्ट्रो सिस्टम प्रयोगको कुरा उठे पनि तत्काल उक्त सिस्टम प्रयोग गर्न गाह्रो भएको उनले बताए। निर्वाचन प्रणाली सुधारको आवश्यकता औँल्याउँदै यादवले मतदाता नामावलीमा केही त्रुटि देखिएको भन्दै त्यसलाई सुधार गरिने बताए। 'अब अनलाइन रजिष्ट्रेशन अनिवार्य भइसकेको छ। मतदाता नामावलीमा पनि केही त्रुटि देखिएका छन्, त्यसलाई हामी सुधार गर्छौं, प्रमुख आयुक्त यादवले भने, 'विदेशमा रहेका नेपालीको मतदाता नामावली रजिष्ट्रेशन गर्न कानुनमा व्यवस्था हुनुपर्छ। त्यो हामीसँग छैन।'

यस्तै, नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले सरकारबाट उचित सहयोग भएका कारण निर्वाचन सम्पन्न गराउन सफल भएको बताए। पर्यवेक्षणका क्रममा मतदान केन्द्र महिला तथा अपांगमैत्री पाइएको संकल्पकी महासचिव शोभा बस्नेतको भनाइ थियो। यस निर्वाचनमा महिला मतदाताहरूको सहभागिता बढी भएको तर सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट रूखो व्यवहार मतदाताले भोग्नुपरेको बस्नेतले बताइन्।

नियोकका महासचिव डा. गोपाल शिवाकोटीले पहिलो र दोस्रो चरणको निर्वाचन गरी देशभरमा नियोक, जियोक र संकल्प संस्थाद्वारा २५ सय बढी पर्यवेक्षक परिचालन भएको जानकारी दिए। पर्यवेक्षणको विस्तृत प्रतिवेदन भने निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.