कोही मुख्य मन्त्रीको दाबीमा, कोही अस्तित्व जोगाउँदै

|

काठमाडौं: दुई चरणमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा यसअघि सांसद भइसकेका पनि प्रदेशसभामा निर्वाचित भए। विशेष गरेर वाम गठबन्धनका नेताहरू प्रदेशसभा सदस्यमा सीमित भएका छन्। पहिला नै सांसद भएकादेखि मन्त्री भएकासम्म यस निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भए। केही पूर्व सा‌ंसदले प्रदेशकाे मुख्यमन्त्री बन्ने दाउमा प्रदेशसभाका लागि निर्वाचनमा प्रतिष्पर्धा गरे त केहीले अाफ्नाे अस्तित्व जाेगाउनकै लागि प्रतिनिधिसभा त्यागेर प्रदेशसभा राेजे।

पूर्व मन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा काठमाडौं- ८ को प्रदेशसभा ‘ख’बाट निर्वाचित भइन्। ‘हेभीवेट’ भएर पनि उनी प्रदेशसभामा खुम्चिइन्। उनले कांग्रेसका देवरत्न डंगोललाई पराजित गरिन्।

पूर्व मन्त्री तथा एमाले नेता शंकर पोखरेल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए। उनी यस पटकको निर्वाचनमा एमालेका तर्फबाट दाङ- २ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए। उनले कांग्रेसका कमलकिशोर शर्मा घिमिरेलाई पराजित गरे। प्रदेशसभा सदस्यमा निर्वाचित पूर्व मन्त्री पोखरेल प्रदेश नम्बर- ५ को मुख्यमन्त्री बन्ने चर्चा छ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर- ६ बाट निर्वाचित भीमप्रसाद आचार्य यस पटक भने प्रदेशमा खुम्चिएका छन्। एमाले सचिवसमेत रहेका आचार्य सुनसरी- १ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उनी कांग्रेसका बुद्धिबहादुर कटुवाललाई पराजित गर्दै सांसदबाट खुम्चिएर प्रदेशसभा सदस्य भएका हुन्। 

पूर्व सांसद तथा एमाले नेता प्रकाश ज्वाल यस पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। सल्यान ‘ख’बाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी पनि प्रदेश नम्बर- ६ को मुख्यमन्त्रीको दावेदार मानिन्छन्। उनले कांग्रेसका डिल्लीराज रेग्मीलाई पराजित गरे। उनी २०५६ काे अामनिर्वाचन र ०७० सालको संविधानसभा निर्वाचनमा सल्यानबाट सांसद निर्वाचित भएका थिए।

२०४८ यताका संसदीय निर्वाचनमा लगातार धादिङबाट उम्मेदवार बन्दै आएका एमाले नेता राजेन्द्र पाण्डे यस पटक भने प्रदेशसभामा उम्मेदवार बनेर विजयी बने। उनी धादिङ- १ ‘क’बाट विजयी भए। उनले कांग्रेसका मधुकुमार श्रेष्ठलाई पराजित गरे। २०४८, ०५१ र ०५६ का निर्वाचन र ०७० काे संविधानसभामा समेत सांसद बनेका पण्डे यस पटक भने प्रदेश नम्बर- ३ को मुख्यमन्त्री बन्ने चर्चा छ। 

एमालेका युवा नेता तथा पूर्व मन्त्री शेरधन राई भोजपुर ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै उनी १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा छ। यसअघि उनी भोजपुर- २ बाट दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। राई कांग्रेसका गोविन्दबहादुर कार्कीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

झापा- ३ को प्रदेशसभा ‘क’बाट निर्वाचित माओवादी केन्द्रका पूर्णसिंह राजवंशी २०६४ सालको संविधानसभा निर्वाचनमा सभासद भएका थिए। उनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै पहिलो संविधानसभा सदस्य निर्वाचित भएका थिए। तर यस पटकको निर्वाचनमा भने राजंवशी प्रदेशमा सीमित भए। झापा- ३ ‘क’मा राजवंशीले भगीरथकुमार पोद्दारलाई पराजित गर्दै प्रदेशसभा सदस्य बने।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा हुम्ला- २ बाट निर्वाचित जीवनबहादुर शाही यस पटकको निर्वाचनमा हुम्ला ‘ख’ प्रदेशसभाबाट निर्वाचित भए । उनले माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरे।

विना विभागीयमन्त्री महेन्द्रबहादुर शाही कालीकोट- १ ‘ख’बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भए। बाहालवाला मन्त्री भए पनि प्रदेशसभा रोजेका माओवादी नेता शाहीले कांग्रेसका कालीबहादुर सहकारीलाई पराजित गरे। शाही यसअघि २०७० को संविधानसभा निर्वाचनमा कालीकोट- १ बाट निर्वाचित भएका थिए।

माओवादी केन्द्रबाट समानुपातिक सांसद तथा विना विभागीयमन्त्री आशा कोइराला पनि यस पटक प्रदेशससभामा नै सीमित भइन्। उनी तनहुँ- २ ‘क’बाट निर्वाचित भइन्। उनले कांग्रेसका प्रदीप पौडेललाई पराजित गरिन्।  

पूर्व सांसद वीरेन्द्रकुमार कनोडिया यस पटकको निर्वाचनमा भने प्रदेशसभा सदस्यमा खुम्चिएका छन्। नेपाली कांग्रेसका तर्फबाट निर्वाचनमा कपिलवस्तु- ३ ‘ख’बाट प्रतिष्पर्धा गरेका पूर्व सांसद कनोडियाले माओवादी केन्द्रका जाबेद आलम खाँलाई पराजित गरे।

२०६४ सालकाे संविधानसभामा मकवानपुर- ४ बाट प्रत्यक्ष चुनाव जितेर सभासद बनेकी माओवादी नेतृ कुमारी मोक्तान यस पटक भने प्रदेशसमा निर्वाचित भएकी छन्। एमाले र माओवादीबीच गठबन्धन हुँदा उनको भागमा प्रदेशसभा परेको हो। मकवानपुर- २ ‘क’बाट निर्वाचित मोक्तानले कांग्रेसका यतिराज सापकोटालाई पराजित गरिन्।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धादिङ- ३ बाट निर्वाचित माओवादी नेता शालिकराम जम्कट्टेल यस पटक प्रदेशसभामा निर्वाचित भए। उनी धादिङ क्षेत्र नम्बर -१ ‘ख’बाट निर्वाचित भए। उनले कांग्रेसका प्रभातकिरण सुवेदीलाई पराजित गरे।

पृथ्वी सुब्बा गुरुङ २०६४ सालको पहिलो संविधानसभामा लमजुङबाट निर्वाचित भए। तर यस पटक भने उनी प्रदेशसभा सदस्यमा निर्वाचित भए। आफू प्रदेश नम्बर- ४ को मुख्यमन्त्री हुने घोषणा गरेर प्रदेशसभा निर्वाचनमा होमिएका एमाले सचिव गुरुङ लमजुङ ‘ख’बाट निर्वाचित भएका हुन्। उनले कांग्रेसका कृष्णप्रसाद कोइरालाई पराजित गरे।

दोलखाबाट दुई पटक सांसद बनेका एमाले नेता पशुपति चौलागाईं यस पटक प्रदेशसभा सदस्यमा समेटिएका छन्। उनी दोलखा प्रदेशसभा ‘ख’बाट प्रतिष्पर्धा गर्दै विजयी भए। उनले कांग्रेसका केशवराज चौलागाईंलाई पराजित गरे।

२०५१ को मध्यावधि निर्वाचन र २०६४ सालको संविधानसभामा सुर्खेतबाट निर्वाचित यामलाल कँडेल यस पटक भने प्रदेशसभामा निर्वाचित भएका छन्। एमालेका ६ नम्बर प्रदेश प्रमुखसमेत रहेका कँडेल सुर्खेत- २ ‘क’बाट निर्वाचित हुँदै प्रदेशसभामा खुम्चिएका हुन्। उनले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरे।

माओवादीभित्र प्रभावशाली नेतृको पहिचान बनाएकी राधिका तामाङ प्रदेशसभा निर्वाचनमा निर्वाचित भएकी छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी तामाङ यस पटक भने प्रदेशसभामा नुवाकोट- १ ‘क’बाट प्रत्यक्ष निर्वाचित भइन्। उनले नेपाली कांग्रेसका महेन्द्र थिङलाई पराजित गरिन्।

गुल्मी- १ बाट २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन जितेका माओवादी नेता सुदर्शन बराल मगर यस पटक भने प्रदेशसभामा निर्वाचित भएका छन्। पूर्व सभासद बराल यस पटक  गुल्मी- १ ‘क’बाट निर्वाचित भए। उनले कांग्रेसका पृथबहादुर फौदारलाई पराजित गरे।

नेपाली कांग्रेसका तर्फबाट २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका भरतबहादुर खड्का यस पटक भने प्रदेशसभा सदस्य बनेका छन्। उनी  डोटी ‘क’बाट निर्वाचित भए। उनले एमालेका डोटी जिल्ला अध्यक्ष चक्र मल्ललाई पराजित गरे।

२०६४ सालमा दाङ- १ बाट निर्वाचित सभासद तथा माओवादीका नेता इन्द्रजित थारु यसपटक भने प्रदेशसभामा निर्वाचित भएका छन्। उनी दाङ- १ ‘क’बाट निर्वाचित भए। उनले कांग्रेसका प्रदीप थापालाई पराजित गरे।

२०७० सालको दोस्रो संविधानसभामा कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका डिल्लीबहादुर चौधरी यस पटक भने प्रदेशमा सीमित बनेका छन्। उनी दाङ- ३ ‘क’बाट निर्वाचित भए। उनले माओवादी केन्द्रका जगप्रसाद शर्मालाई पराजित गरे।

२०६४ सालमा एमालेका तर्फबाट तनहुँ- ३ बाट विजयी भएका किरण गुरुङ यस पटक भने प्रदेशमा सीमित भएका छन्। उनी यस पटक तनहुँ- २ ‘ख’मा प्रदेशसभाका लागि निर्वाचनमा प्रतिष्पर्धा गर्दै विजयी भएका हुन्। उनले कांग्रेसका ध्रुव वाग्लेललाई पराजित गरे।

नेकपा एमालेबाट २०७० सालको निर्वाचनमा पर्वतबाट विजयी भएका विकास लम्साल प्रदेशसभामा निर्वाचित भए। उनी पर्वत पर्वत ‘ख’ प्रदेशसभाबाट विजयी भए। उनले कांग्रेसका राजेन्द्रप्रसाद तिवारीलाई पराजित गरे।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर- २ बाट निर्वाचित भएका राजकाजी महर्जन यस पटक प्रदेशमै खुम्चिए। उनी ललितपुर- ३ ‘क’बाट निर्वाचित भए। उनले कांग्रेसका नवराज महतलाई पराजित गरे।

सप्तरीबाट नेकपा एमालेको तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित बनेका सत्यनारायण मण्डल यस पटक प्रदेशमा विजयी भए। उनी सप्तरी- १ ‘क’मा विजयी भएका हुन्। उनले राजपाका राजकुमार लेखीलाई पराजित गरे।

२०७० सालको निर्वाचनमा काठमाडौं- ३ बाट निर्वाचित रामेश्वर फुयाँल यस पटक त्यही क्षेत्रको प्रदेशमा खुम्चिए। उनी प्रतिनिधिसभालाई छाड्दै प्रदेशमा विजयी भएका हुन्। उनी काठमाडौं- ३ ‘ख’बाट निर्वाचित भए। फुयाँलले कांग्रेसका विमल ठकुरीलाई पराजित गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.