|

बाँकेः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ दशमलब ३१ प्रतिशत मत बदर भएको छ। 

तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल ७१ प्रतिशत मत मात्र खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्त अधिकारीले बताए।

क्षेत्र नं.– १ मा ९८ हजार ३२० जना मतदाता रहेकामा ६९ हजार ८३५ मत खसेको थियो। त्यसमा तीन हजार ५९२ मत बदर भएको छ। क्षेत्र नं.– २ मा ८२ हजार ९४७ मतदाता रहेकामा ५९ हजार १०१ मत खसेको थियो। त्यसमा चार हजार ८२८ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए।

क्षेत्र नं.– ३ मा ९५ हजार ४४९ मतदाता रहेकामा ६७ हजार ५४४ मत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा तीन हजार ९८१ मत बदर भएको छ। समानुपातिकतर्फ पनि बदर मत उल्लेख्य भएको सुवेदीले जानकारी दिए। 

गठबन्धन भएकाले समानुपातिकमा आआफ्नै तरिकाले मत मागिएको थियो। 

मतदाता शिक्षा प्रभावकारी नभएकाले धेरैजसो मतदाताले तलमाथि नै दुई दुई ठाउँमा स्वस्तिक छाप लगाएको पाइएको छ। ‘प्रत्यक्षभन्दा समानुपातिकतर्फ बदर मत धेरै छ, एउटै मतपत्रमा तलमाथि दुई ठाउँमा स्वस्तिक छाप लगाएको पाइयो’, उनले भने।

प्रदेशसभातर्फ पनि बदर मतको संख्या उल्लेख्य छ। प्रदेशसभा क्षेत्र नं.– २ ‘ख’मा २८ हजार २६२ मत खसेकामा एक हजार ५२८ मत बदर भएको छ भने प्रदेशसभा २ ‘क’मा दुई हजार ७२७ मत बदर भएको छ। यस प्रदेशसभामा ३० हजार ८६६ मत खसेको थियो।

अधिकांशको जमानत जफत
ठूला र प्रभावशाली नेताका कारण बाँकेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। तीनवटा प्रतिनिधिसभा र छवटा प्रदेशसभा क्षेत्र रहेको बाँकेमा १०३ जनाले प्रतिष्पर्धा गरेका थिए। तीमध्ये ८० जना उम्मेदवारको जमानत जफत भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

अधिकांश क्षेत्रमा तीन जनाभन्दा बढी उम्मेदवारले जमानत जोगाउन नसकेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

क्षेत्र नं.– १ को प्रतिनिधिसभा निर्वाचनमा १० जनाले प्रतिष्पर्धा गरेकामा विजयी भएका वाम गठबन्धन माओवादी केन्द्रका महेश्वर गहतराज (अथक) बाहेक निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधवराम खत्रीको मात्र जमानत जोगिएको छ। बाँकी आठ जनाको जमानत जफत भएको छ। 

क्षेत्र नं.– १ को प्रदेशसभा ‘क’मा विजयी उम्मेदवारबाहेक दुई जनाले जमानत बचाएका छन्। वाम गठबन्धककी कृष्णा केसीले १३ हजार ४३६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका शरदचन्द्र बर्माले १० हजार २४० मत ल्याएर जमानत जोगएका छन् भने संघीय समाजवादी फोरम नेपालका कसगर खाँको पनि जमानत जोगिएको छ। 

प्रदेशसभा १ ‘ख’मा विजयी उम्मेदवारबाहेक एक जनाले मात्रै जमानत बचाएका छन्। वाम गठबन्धनकी आरती पौडेलले १९ हजार ३८९ मत ल्याएर जित्दा कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार २०५ मत ल्याएर जमानत जोगाएका छन्। यस प्रदेशसभामा दश जनाले प्रतिष्पर्धा गरेका थिए। 

क्षेत्र नं.– २ को प्रतिनिधिसभामा १७ जनाले प्रतिष्पर्धा गरेकामा विजयी उम्मेदवारसँगै दुई जनाको मात्र जमानत जोगिएको छ। संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले २१ हजार ५७५ मत ल्याएर चुनाव जित्दा एमालेका पशुपतिदयाल मिश्र १५ हजार ९५१ मत ल्याएर दोस्रो भए। राप्रपा र कांग्रेसको लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजादले ११ हजार ६२२ मत ल्याए। बाँकी १४ जनाको जमानत जफत भएको प्रमुख निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए।

प्रदेशसभा २ ‘क’मा १३ जनाले प्रतिष्पर्धा गरेका थिए। तीमध्ये विजयीबाहेक दुई जनाले मात्रै जमानत जोगाएका छन्। संघीय समाजवादी फोरमका विजयबहादुर यादव ११ हजार ५७४ मत ल्याएर विजयी हुँदा कांग्रेसका निरञ्जनसिंह सिजापति सात हजार ७५१ र वाम गठबन्धनका कामता खटिकले चार हजार ८९८ मत ल्याएर जमानत जोगाएका छन्। 

प्रदेशसभा २ ‘ख’मा १५ जना प्रतिष्पर्धी रहेकामा विजयीबाहेक दुई जनाको मात्रै जमानत फिर्ता हुने भएको छ। लोकतान्त्रिक गठबन्धनका सुरेन्द्र हमाल विजयी भएको यस क्षेत्रमा संघीय समाजवादी फोरमका दुर्गेश गुप्ता र वाम गठबन्धनका विजयकुमार गुप्ताको जमानत जोगिएको छ। 

आठ जनाले प्रतिष्पर्धा गरेको बाँके क्षेत्र नं.– ३ मा विजयीबाहेक एक जनाको मात्र जमानत जोगिएको छ। वाम गठबन्धनका नन्दलाल रोकायले ३१ हजार ६०१ मत ल्याएर चुनाव जित्दा कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत ल्याएर जमानत जोगाएका छन्। 

प्रदेशसभा ३ ‘क’मा विजयी उम्मेदवारलाई छोडेर एक जनाले मात्रै जमानत जोगाएका छन्। नौ जनाले प्रतिष्पर्धा गरेकामा सात जनाले दश प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको छ। वाम गठबन्धनका आईपी खरेलले जितेको यस क्षेत्रमा कांग्रेसका चन्तराम थारूको मात्र जमानत जोगिएको छ। थारूले १४ हजार ९८१ मत प्राप्त गरे। 

प्रदेशसभा ३ ‘ख’मा दुई जनाको मात्रै जमानत जोगिएको छ। यस क्षेत्रमा ११ जनाले प्रतिष्पर्धा गरेका थिए। वाम गठबन्धनका बाबुराम गौतमले ११ हजार ८७७ मत ल्याएर चुनाव जित्दा लोकतान्त्रिक गठबन्धनका लक्ष्मीनारायण साह र स्वतन्त्र उम्मेदवार विजयकुमार पाठकले १० प्रतिशत मत ल्याएर जमानत जोगाएको प्रमुख निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.