|

धनकुटा : प्रतिनिधिसभा र प्रदेश सभामा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवारहरु विजयी भए। एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने प्रदेशसभा ‘क’ मा निरन राई र ‘ख’ इन्द्रमणि पराजुली विजयी भए।

प्रतिनिधि सभामा विजयी राईले ३७ हजार ३ सय ३३ मत पाए भने लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री तथा हालका उद्योगमन्त्री सुनिलबहादुर थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरे।

प्रदेशसभातर्फ ‘क’ मा राईले २० हजार ८८ मत ल्याउँदा कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत पाए। ‘ख’ मा पराजुली २० हजार ६ सय ५२ मतसहित पराजुली विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत पाए

यस्ता छन्, नवर्निाचित जनप्रतिनिधि

राजेन्द्र राई, प्रतिनिधि सभा सदस्य 
०२२ भदौ २९ गते धनकुटा मुगा गाउँमा जन्मिएका राजेन्द्र राईले प्राथामिक तहको शिक्षा स्थानीय सरस्वती प्राथमिक विद्यालयबाट पूरा गरे भने माध्यमिक शिक्षा धनकुटा सदरमुकामस्थित माथिल्लो गोकुडेश्वर माविबाट लिए।  पढाइसँगै अनेरास्ववियुमा सङ्गठित भएका राई ०३६ सालमा काठमाडौंमा अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भए। 

०४२ सालमा सोही स्कुलबाट एसएलसी दिएलगत्तै पूर्णकालीन रूपमा पार्टीमा काम गर्न थालेका राईले धनकुटामा भएको शिक्षक आन्दोलनमा विद्यार्थी नेताको हैसियतमासहभागी भए।  धनकुटा बन्दका क्रममा गिरफ्तारीमा परेका उनलाई ४१ दिन हिरासतमा राखेर राजकाज मुद्दा लगाइयो।

यसपछि राईलाई राजकाज मुद्दामा विराटनगर जेलमा लगेर २४ महिना थुनियो। उनी २४ महिना लामो र कष्टकर जेल बसाइपछि रिहा भएर राई धनकुटा फर्किए। त्यसलगत्तै अनेरास्वावियु धनकुटाको उपाध्यक्ष भए। २०४६ सालको जनआन्दोलनको तयारीमा विद्यार्थी मोर्चाबाट उनी सक्रिय रहे। जनआन्दोलनका बेला घर धनकुटा मुगा पुगेकाउनलाई धनकुटाको पाख्रिबासमा ०४६ माघ १६ गते प्रहरीले पक्रेर फेरि थुन्यो।

जनआन्दोलनको सफल भएलगत्तै उनी अनेरास्ववियु धनकुटाको अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेर राजनीतिमा पूर्णकालीन बने। उनी ०४९ मा तत्कालीन जिविस धनकुटाको निर्वाचित सदस्य र ०५१ मा तत्कालीन जिविस धनकुटा उपसभापति भए। त्यसपछि पार्टीको सचिवालय सदस्य हुँदै किसान महासंघको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष जिम्मेवारी पनि सम्हाले।

उनी ०६६ असारदेखि हालसम्म एमाले जिल्ला अध्यक्ष छन्। ०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा–२ अहिलेकै प्रतिस्पर्धी थापासँग पराजित भएका थिए। 

निरन राई, प्रदेशसभा (क)  सदस्य 

निरन राई धनकुटा छिन्ताङमा २०२९ साल कार्तिक २७ गते एक राजनीतिक परिवारमा जन्मिएका हुन्। गंगाकुमारीका काेखबाट जन्मिएका राईका बुबा भक्त बोलनाले ०२५ साल देखिनै पञ्चायती व्यवस्थाविरुद्ध गाउँमा किसान आन्दोलन चर्काएका थिए। राजनीतिक परिवारमा जन्मिएका कारण निरन राई पनि पढाइकै राजनीतितर्फ अाकर्षित भए।

भारती माध्यमिक विद्यालय चुङवाङमा अध्ययन गर्दै अनेरास्ववियुमा संगठित भएका राई २०५३ सालमा धनकुटा बहुमुखी क्याम्पसमा स्ववियु सभापति भएपछि अनेरास्ववियुको केन्द्रिय सदस्य भएका राई २०६४ सालले पार्टीमा पूर्णकालिन कार्यकर्ता बने।

गाउँ कमिटी, इलाका कमिटी हुँदै ०६६ सालमा भएको जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी सदस्य निर्वाचित भएका राई २०६९ सालमा भएको जिल्ला अधिवेशनबाट उपसचिवभएका हुन्। ०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिक उम्मेदवार भए पनि उनी सभासद भएनन्। 

इन्द्रमणि पराजुली, प्रदेशसभा (ख) सदस्य

पराजुली धनकुटाको मारेककटहरेमा  ०२७ साल कात्तिक १७ गते एक किसान परिवारमा जन्मिएका हुन्। सुर्यबहादुर र लक्ष्मीकुमारीका छोरा पराजुली मावि तहमा अध्ययन गर्दाताका नै राजनीतिमा लागेका हुन्। गाउँमा मावि नभएकाले तेह्रथुमको फाक्चामारामा रहेको नवीन शिक्षा सदन माविमा पढ्न पुगे। त्यही विद्यालयमा अनेरास्ववियुमा संगठित भएका पराजुली उच्च शिक्षा अध्ययन गर्न धनकुटा बहुमखी क्याम्पस आए।

अनेरास्ववियुको संगठन विस्तारमा उनी निरन्तर क्रियाशील रहे। ०४९ सालमा धनकुटा बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति भएका पराजुली पूर्णकालीन राजनीतिक कार्यकर्ता हुन्। ०५४ सालमा जिविस सदस्य निर्वाचित भएपछि जिल्लाको विकास निर्माणको काममा महत्वपूर्ण भूमिका निभएका पराजुली संयुक्त वाम गठबन्धनको साझा उम्मेदवार भएका थिए।

१० वर्ष  एमालेको भ्रातृसंगठन युवा संघको जिल्लाको नेतृत्व गरेका पराजुलीले एमाले जिल्ला सदस्य हुँदै हाल सचिव छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.