|

लहान : संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा जिल्लामा ४ सिट जितेर पहिलो दल बनेको नेपाली कांग्रेस मंसिर २१ गते निर्वाचनमा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ शुन्यमै सिमित भएको छ। निर्वाचन प्रचारका क्रममा मंसिर १४ गते सिरहाको दक्षिणी सीमावर्ती क्षेत्र भगवानपुर आएका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका थिए– ‘कम्युनिष्टहरु मधेसविरोधी भएकाले कांग्रेसलाई जिताउनुस्, संविधान संशोधन पनि गर्छौं र तपाईँहरुलाई देशको मालिक बनाउँछौं।’ तर, जनताले पत्याएनन्। प्रदेशसभाका लागि जिल्लामा कायम गरिएको आठ निर्वाचन क्षेत्रमध्ये वाम गठबन्धनले ६, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले एक÷एक क्षेत्रमा जितेको छ।

‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ भन्ने मूल नारासहित चुनावी अभियानमा होमिएको कांग्रेसले पार्टीका लागि आफ्नो जीवन र जवानी खर्चिएका पाका अनि अनुभवी नेताहरुलाई पनि जोड्न नसक्दा हार व्यहोर्नु परेको कांग्रेस कार्यकर्ताहरु नै बताउन थालेका छन्। ‘सिरहा कांग्रसको इतिहाससँग जोडिएका औहरीका सुरेशचन्द्र दास जसले २०४८ को संसदीय निर्वाचनमा जिल्लामै सबैभन्दा बढी मत ल्याएर जितेका थिए, ०५१ को निर्वाचन पनि जिते, उनीजस्ता अनुभवी नेतालाई पनि कांग्रेसले आफ्नो पार्टीमा अटाउन नसक्नु नै हारको कारण मध्ये हो,’ सिरहा कांग्रेसका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने। कांग्रेसले नपत्याए पनि दासले माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि कांग्रेस उम्मेदवार रामचन्द्र यादवभन्दा चार हजार ६ सय ५१ मत बढी ल्याएर सिरहा २ बाट निर्वाचित भए।

मधेस मामिलाका जानकार तथा प्राध्यापक विजयप्रसाद मिश्र कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारीका लागि थुप्रै युवा आकंक्षी रहेको भए पनि नेता परिवार र वरिपरि रहेकाले मात्र टिकट पाएपछि बढेको असन्तुष्टिले प्रदेशसभामा एक सिट पनि ल्याउन नसकेको बताउँछन्। ‘सामान्य मतदाताले चुनावमा मिलेको वाम गठबन्धनलाई रुचाए, कांग्रस एक्लै लडेको र असन्तुष्टि रहेकाले हार्‍यो,’ उनले भने।

नेता आफैं समानुपातिक उम्मेदवार र छोरालाई पनि टिकट

कांग्रेसका पूर्व केन्द्रीय सदस्य पद्मनारायण चौधरीका छोरा सन्तोषकुमार चौधरी सिरहाको प्रदेशसभा १ (क) र केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा सुभाषचन्द्र यादव प्रदेशसभा ३ (ख) बाट प्रतयक्षतर्फ उम्मेदवार मात्र थिएनन्, स्वयम् पद्मनारायण र सीतादेवी पनि प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार छन्। ‘नेता आफू पनि समानुपातिक उम्मेदवार बन्ने र छोराहरुलाई पनि टिकट दिएर चुनाव लडाउने भएपछि कार्यकर्ता भित्रभित्रै रुष्ट थिए,’ सिरहा कांग्रेसका एक नेताले भने।

चौधरीका छोरा सन्तोष राजनीतिकरुपमा पहिलोपल्ट चुनाव लडेका भए पनि सीतादेवीका छोरा सुभाषचन्द्र असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा सिरहा नगर प्रमुखमा हारेर तेस्रो स्थानमा थिए। सिङ्गो सिरहा नगरपालिकाको २२ वटा वडा कायम गरिएको प्रदेशसभा ३(ख) मा सुभाषले स्थानीय तहमा भन्दा प्रदेशसभा निर्वाचनमा एक हजार दुई सय २४ मत बढी अर्थात् नौ हजार चार सय ८६ मत मात्र प्राप्त गरी दोस्रो भएका छन्।

छ वाम गठबन्धन र दुई फोरम र राजपा

प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट सिरहा १ (क) मा नेकपा एमालेका लगनलाल चौधरी, १ (ख) अशोककुमार यादव, २ (ख) मा मदनसेन श्रीवास्तव, ३ (ख) मा प्रमोदकुमार यादव, ३ (क) मा माओवादी केन्द्रका रामकुमार यादव र ४ (क) मा दिलिपकुमार साह विजयी भएका छन्। प्रदेशसभा २ (क) मा संघीय समाजवादी फोरम नेपालका विजय कुमार यादव र ४(ख) मा राष्ट्रिय जनता पार्टी नेपालका सुरेशकुमार मण्डल विजयी भएका छन्। कांग्रेस प्रदेशसभा १ (क), २ (क), ३ (ख) र ४ (ख) मा निकटतम् प्रतिद्वन्द्वी बनेको छ भने ३ (क), १ (ख), २ (ख) र १ (क) मा तेस्रो स्थानमा सिमित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.