|

रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर- २ बाट ४४ हजार ९०० मत ल्याएर विजयी भएका विष्णुप्रसाद पौडेल एमाले उपमहासचिव हुन्। अर्थमन्त्रीको अनुभव लिइसकेका पौडेल वाम गठबन्धनका सूत्रधारमध्येका एक हुन्। रूपन्देहीमा वाम गठबन्धनले पूर्व अनुमान गरेअनुसारको नतिजा नआएकोमा चित्त दुखाएका पौडेल आगामी निर्वाचनमा नतिजामा सुधार ल्याउने बताउँछन्।

चुनाव जितेर मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका पौडेलबाट रूपन्देहीवासीले अलि बढी अपेक्षा गरेका छन्। उनको चुनावी प्रतिवद्धतापत्र पनि यस पटक चर्चामा रह्यो। रूपन्देही- २ का विकासका कुरालाई मात्रै नभई रूपन्देही र आसपासलाई समेटेर तयार पारेको प्रतिबद्धतापत्रमा समेटेका कुरा पूरा होलान् कि नहोलान् भन्ने जिज्ञासा पनि रूपन्देहीवासीमा छ। यी र यस्तै विषयलाई केन्द्रमा राखेर थाहा खबरका लागि पौडेलसँग रूपन्देही संवाददाता सी. पी. खनालले गरेको कुराकानी।

रूपन्देहीको नतिजाबारे के समीक्षा गर्नुभयो? 

म रूपन्देहीको मत परिणामबाट सन्तुष्ट छैन। निर्वाचनमा मतपरिणाम मिश्रित आएको छ। जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर- ५ हामीले जित्ने भनेर अपेक्षा गरेको स्थान हो। यससँगै प्रतिनिधिसभा क्षेत्र न‌ं.- ३ प्रदेशसभा ‘ख’मा अनुप बरालले अवश्य पनि जित्नुपर्ने थियो। यसले पनि म यो नतिजामा सन्तुष्ट छैन। हामी समीक्षा गर्छौं। के कमजोरी भयो, यसलाई सुधार गर्नेछौँ।

तपाईंले भारी अन्तरले जीत हासिल गर्नुभयो। चुनावअघि तपाईंले मतदातालाई भनेका प्रतिबद्वता कहिलेसम्म पूरा हुन्छन्? 

हो, मैले मतदातामाझ केही ठूला योजनाहरू पेस गरेको छु। ती योजना पूरा गर्नका लागि स्रोत साधनबारे पनि मैले सोचेको छु। ती चुनावको बेलामा ल्याइएका योजना मात्रै थिएनन्। कतिपय आयोजनाहरू प्रकृतिगत ढंगबाट फरक फरक रहन्छन्। कुनै आयोजनाहरू छिटो सम्पन्न गर्न सकिने खालका हुन्छन् भने केही धेरै समय लाग्ने खालका हुन्छन्।

मैले भनेको छु, अहिले हामीले बुटवलमा उपमहानगर र आसपासमा नगरपालिका र गाउँपालिकाको चुनाव गर्‍यौँ। अब अर्को पटक महानगरको निर्वाचन हुनेछ। त्यसको लागि छिट्टै महानगर परिषद् पनि निर्माण हुनेछ र महानगरको लागि तयारी हुनेछ। अर्को कुरा, मैले कालीगण्डकी डाइभर्सनको कुरा गरेको छु। त्यसको लागि पनि विस्तृत परियोजना प्रतिवेदन तयारी चरणमा रहेको छ। त्यो प्रतिवेदन तयार भएसँगै निर्माण कार्यमा लैजान्छौँ।

यी त आगामी कुरा भए, अहिले जिल्लामा भइरहेका विभिन्न विकासका आयोजनाहरूको काममा ढिलाइ भएको छ। लुम्बिनी विकास गुरुयोजना, गौतमबुद्ध विमानस्थल, बुटवल–बेलहिया ६ लेन सडक, झुम्सा खानेपानी जस्ता ठूला योजनाहरूको काम एकदमै सुस्त छन्। यसका लागि के पहल हुन्छ?    

राजनीतिक संक्रमणकालबाट लाभ उठाएर कतिपय गलत खालका अभ्यासहरू पनि भएका छन्। ढिलाइ पनि भएका छन्। हामी कुनै पनि किसिमको विलम्ब गर्न चाहन्नौँ। हरेक आयोजनाबारे मेरो दृष्टिकोण तीन प्रकारको छ। पहिलो, आयोजना निर्धारित लागतमा पूरा हुनुपर्दछ, दोस्रो, निर्धारित समयमा पूरा हुनुपर्दछ र तेस्रो, आयोजनाको गुणस्तर सुनिश्चित हुनुपर्दछ।

यी तीनवटा दृष्टिकोणमा आयोजना सञ्चालन हुनुपर्दछ। यसमा कहिल्यै कसैसँग सम्झौता हुनेछैन। म अहिले नै तपार्इंमार्फत भन्छु, यदि कहीँ कतै त्यसरी जानीजानी ढिलाइ गरिएको छ भने त्यसलाई आजैदेखि सञ्चालन गरियोस् र अनेक वहानाका नाममा काममा विलम्ब नगरियोस्।

हरेक पटकका चुनावमा चर्चामा रहने तिनाउ नदी छेउछाउको बस्ती, जसलाई लालपूर्जा दिइनेछ भन्ने कुरा पनि गर्नुभएको छ, तर यो बस्ती पटक पटक बाढीको जोखिममा पर्छ, अव्यवस्थित बसोवास हो, यसलाई अन्यत्र सार्नुपर्छ भन्ने कुरा पनि आएका छन्। यो चुनावी नारा मात्रै त होइन?

सुकुम्वासीलाई बहाना बनाएर अब राजनीति गर्ने प्रचलन हामीले समाप्त गर्नेछौँ। सुकुम्वासीलाई लालपूर्जा प्रदान गरेर यसको अन्त्य गर्दै छौँ। यस क्रममा केही जोखिम आइपरेमा तदनुसारको व्यवस्थापन गर्दै सुकुम्वासी परिवारलाई जमिनको स्वामित्व प्रदान गर्नेछौँ।

अर्को लोकप्रिय नारा बन्यो, ५ नम्बर प्रदेशको राजधानी। तपार्इं त प्रतिनिधिसभाको सांसद, प्रदेशसभाका सांसदले यसको निर्णय गर्नेछन्। रूपन्देहीमा त अस्थायी राजधानी तोक्नका लागि बैठक बस्ने भवनसमेत भेटिएन भनेको छ प्राविधिक टोलीले। के हुन्छ अब, कहाँ बन्छ राजधानी?

मैले प्रदेशको राजधानी रूपन्देहीमा नै हुन्छ भनेको छु र भन्छु।  रूपन्देही प्रदेशको राजधानी बन्ने तीनवटा कारणहरू छन्। पहिलो पूर्वाधार, दोस्रो प्रशासनिक सुगमता र तेस्रो जनताको चाहना। प्रदेशसभाको अत्यधिक ठूलो हिस्साले रूपन्देहीमा नै प्रदेशको राजधानी बनाउनेमा सहमति जनाउने कुरामा म विश्वस्त रहेको छु।

त्यसका लागि सबै जिल्लाका प्रदेशसभा सदस्यहरूसँग आवश्यक छलफल तथा उचित वातावरण निर्माण गर्नेछु। मूलतः राजधानी प्रदेशसभाले तोक्नेछ र प्रदेशसभाको अनुकूलताअनुसार तोकिनेछ। त्यो रूपन्देहीमा हुनेछ।

वाम गठबन्धनले चुनावअघि भनेअनुसार नै बहुमत पाएको छ। अबको ५ वर्षमा रूपन्देही, ५ नम्बर प्रदेश र समग्र नेपालको स्वरूप कस्तो बन्छ? 

अहिलेसम्म विकास किताबमा मात्र पढ्नुपर्ने अवस्था रहेको थियो। विकास व्यावहारिक रूपमा नै गरेर देखाउने छौँ। चालु आयोजनाहरू शीघ्र सम्पन्न गर्नेछौँ। सुरुवाती चरणमा रहेका आयोजनालाई तत्काल सुचारु गरिनेछ। विकासको नमुना बनाउने रूपमा अगाडि बढाउने छौँ। जहाँसम्म राष्ट्रिय सन्दर्भको कुरा छ, हाम्रो ध्यान अब गरिबीतिर गएको छ। बेरोजगारीका विषयमा केन्द्रित भएका छौँ।

सुरुमा गरिबी र बेरोजगारी अन्त्य गर्नेतर्फ अग्रसर हुने हो। मुलुकलाई आधुनिकीकरण गर्दै जानेछौँ। हामीले कृषि, पूर्वाधारलगायतका निर्माणमा स्रोत, साधन र शक्ति प्रयोग गर्नेछौँ र तीव्र विकासका गतिमा मुलुकलाई परिवर्तन गर्नेछौँ। हामी पाँच वर्षभित्र समृद्ध राष्ट्रमा विकसित गर्न सक्छौँ भन्ने अठोटले विकासका योजना लिएर आएका छौँ।

सपनाहरू ठूलाठूला छन्, देशमा आम्दानीको स्रोत पर्याप्त छैन। संघीयताले अरू खर्च बढाउँदै छ, मुलुकले खर्च धान्न सक्दैन कि भन्ने विश्लेषण पनि हुन थालेको छ। तपाईं अर्थमन्त्रीको अनुभवी, समृद्धिको बाटोमा कसरी अघि बढ्छ मुलुक?

यहाँनेर एउटा कुरा आउँछ। धनी भएर विकास गर्ने कि विकास गरेर धनी हुने भन्ने कुरा हुन्छ। सम्पन्न भएर विकास थाल्ने त होइन नि हामीले। हामी विकास गरेर सम्पन्न हुने हो। प्रकृतिले हामीलाई असीमित स्रोत साधन दिएको छ। सोही स्रोत साधनलाई प्रयोग गर्दै विकास गर्ने हो। इतिहासले समेत हामीलाई धेरै कुराहरू छोडेर गएको छ। हामी अधिकतम स्रोत प्रयोग गर्छौं र मुलुकलाई समृद्धिको बाटोमा लानेछौँ।

वाम गठबन्धन अलि बढी चीनतिर ढल्केको छ, यसले भारत, अमेरिका र अरू दातृराष्ट्रलाई चिढ्याउने काम गर्छ र विदेशी अनुदान रोकिन्छ भन्ने खालको टिप्पणी पनि हुन थालेको छ नि!

यो पूर्वाग्रही टिप्पणी हो। हामी कतै पनि ढल्केका छैनौँ र ढल्किने पनि छैनौँ। हामी सिधा नै रहने छौँ। दुवै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सुमधुर ढंगले अगाडि बढाउने छौँ। हामीले नेपालको हितमा रहेर सम्पूर्ण मित्र राष्ट्रसँग सहकार्य गर्नेछौँ। संविधानको आधारमा लोकतान्त्रिक विधिका साथ निर्वाचनपश्चात् बनेको हुँदा सरकारले सबैलाई समान ढंगले अगाडि बढाउनेछ। 

अब एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता र सरकार गठन प्रक्रिया कसरी अगाडि बढ्छ?

सजिलैसँग अगाडि बढ्छ। यो गठबन्धन बिग्रियोस् भन्ने चाहना राख्नेको पनि त्यो इच्छा पूरा हुँदैन। बिग्रिन्छ कि भनेर डर मान्ने अवस्था पनि छैन। सरकार गठन सहज रूपमा टुंगिनेछ। छिटोभन्दा छिटो सरकार गठन हुनेछ।

पार्टी एकतापछि बन्ने पार्टीको विचारधारा कस्तो हुनेछ?

पार्टी एकतापछि पार्टी समाजवाद, मार्क्सवाद लेनिनवादमा विश्वास गर्ने लोकतान्त्रिक ढंगले जनताको विश्वास जितेर सहजतापूर्वक रूपमा राज्यव्यवस्था सञ्चालन गर्ने खालको हुन्छ। 

अन्त्यमा, आम मतदातालाई के भन्न चाहनुहुन्छ?

सबैभन्दा पहिला त म धन्यवाद भन्न चाहन्छु। मलाई यो स्थानबाट तेस्रो पटक विजयी बनाउनुभयो। देशभर वाम गठबन्धनलाई राम्रो नतिजासहित विजयी बनाउनुभयो। 

लोकतान्त्रिक संविधानको संघीयता कार्यान्वयन र सबलीकरणका आधारमा मतदान गर्नुभयो। यसका लागि म सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। मैले चुनावका बेला र त्यसअघि र पछिका प्रतिबद्धता पूरा गर्नेछु र आगामी दिनमा विकास र समृद्धिमा केन्द्रित भएर काम गर्नेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.