​केसी र मैनाली समानुपातिकमा

|

काठमाडौंः दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उपप्रधानमन्त्री भइसकेका केही उम्मेदवारले पराजय भोग्नुपर्‍यो भने केही विजयी भए। उपप्रधानमन्त्री भइसकेकामध्ये सात जनाले हार व्यहोर्नुपर्‍यो। पाँच जना मात्र चुनावमा विजयी भए। दुई जना पूर्व उपप्रधानमन्त्री भने समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका छन्।

प्रतिनिधिसभको निर्वाचनमा पराजित हुनेमा दुई जना बहालवाला उपप्रधानमन्त्रीसमेत रहेका छन्। यस्तै दुई जना बहालवाला उपप्रधानमन्त्री प्रतिनिधिसभा सदस्यमा विजयी भए। पराजित हुनेहरूमा बहालवाला उपप्रधानमन्त्री कमल थापा, गोपालमान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्रीहरू रामचन्द्र पौडेल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि रहेका छन्।

यस्तै, चुनावी प्रतिष्पर्धामा सफल हुनेमा बहालवाला उपप्रधानमन्त्री विजयकुमार गच्छदार, कृष्णबहादुर महरा, पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावल, प्रकाशमान सिंह र टोपबहादुर रायमाझी रहेका छन्। दुई उपप्रधानमन्त्री चित्रबहादुर केसी र चन्द्रप्रकाश मैनाली भने यस पटक प्रतिनिधिसभा समानुपातिक सूचीमा परेका छन्

कुन उपप्रधानमन्त्रीलाई कसले हरायो?

बहालवाला उपप्रधानमन्त्री कमल थापा मकवानपुर- १ बाट पराजित भए। उनलाई नेकपा एमालेका कृष्णप्रसाद दाहालले पराजित गरे। पुराना कम्युनिष्ट नेताका रूपमा परिचय बनाएका दाहाल अहिलेसम्म एक पटक पनि मन्त्री बनेका छैनन्। पटक पटक उपप्रधानमन्त्री भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका थापालाई पराजित गर्ने दाहाल २०४८ र २०५६ सालको चुनावमा मकवानपुरबाटै निर्वाचित भएका थिए।

बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा- २ बाट पराजित भए। पटक पटक मन्त्री हुँदै उपप्रधानमन्त्री बनेका श्रेष्ठलाई एमालेकी पद्माकुमारी अर्यालले पराजित गरिन्। २०७० सालमा एमालेबाट समानुपातिक सांसद बनेकी अर्यालले श्रेष्ठलाई हराइन्। श्रेष्ठ २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए।

पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ- १ बाट पराजित भए। २०४८ सालको निर्वाचनयता हरेक निर्वाचनमा तनहुँबाट उनी निर्वाचित हुँदै आएका थिए। तर यस पटक भने उनको अपराजित निर्वाचनको यात्रालाई एमालेका कृष्णकुमार श्रेष्ठले पूर्ण विराम लगाइदिए। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पौडेलले नै हराएका श्रेष्ठले यस पटक भने पौडेललाई पराजित गरे। पौडेल सभामुखसमेत भइसकेका छन्।

कम्युनिष्ट गठबन्धन बनाएर चुनावमा प्रतिष्पर्धा गर्दा एमाले र माओवादीले राम्रै फाइदा लिए। तर केही नेतालाई भने गठबन्धनले पनि जिताउन सकेन। तिनै नेतामध्येका एक हुन्, पूर्व उपप्रधानमन्त्री वामदेव गौतम। वाम गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका गौतमलाई भने यस पटक गठबन्धनले जिताउन सकेन। उनलाई बर्दिया- १ बाट कांग्रेसका सञ्जयकुमार गौतमले पराजित गरे। २०७० सालको निर्वाचनमा बर्दियाबाट निर्वाचित भएका सञ्जयकुमार गौतम सिँचाइमन्त्रीसमेत हुन्।

पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर- २ बाट पराजित भए। माओवादी केन्द्रका नेतासमेत रहेका श्रेष्ठलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पराजित गरे। पूर्व सहकर्मीसमेत रहेका भट्टराई नेतृत्वको सरकामा श्रेष्ठ उपप्रधानमन्त्री थिए। यस पटकको निर्वाचनमा गोरखा- २ लाई महत्त्वका साथ हेरिएको थियो।

पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा क्षेत्र नम्बर- ३ बाट पराजित भए। उनलाई राप्रपाका माहामन्त्री राजेन्द्र लिङ्देनले पराजित गरे। सिटौलासँग पटक पटक निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका लिङ्देनले यस पटक भने सिटौलालाई पराजित गर्न सफल भए। सिटौला २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए।

पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि यस पटकको निर्वाचनमा पराजित भएका छन्। उनी धनुषा– ३ बाट राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसँग पराजित भए। उनी २०५६ सालको आमनिर्वाचन, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा धनुषाबाट विजयी भएका थिए। 

पूर्व उपप्रधानमन्त्री, कसले कहाँ जिते?

बहालवाला उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी- ३ बाट विजयी भए। उनले एमालेकी भगवती चौधरीलाई पराजित गरे। चौधरीसँग कांग्रेस नेता गच्छदारको यो तेस्रो पटकको प्रतिष्पर्धा हो। गच्छदारले चौधरीलाई तीनै पटक पराजित गरे।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा दाङ– २ बाट निर्वाचित भए। उनले कांग्रेसका राजु खनाललाई पराजित गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङ– ३ बाट निर्वाचित भएका महराले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा रोजे। माओवादी केन्द्रका नेता महरा रोल्पा- १ बाट दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।

पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावल अछाम- १ बाट निर्वाचित भए। उनले कांग्रेसका भरतकुमार स्वाँरलाई पराजित गरे। २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका रावल २०६४ सालमा एमालेबाट समानुपातिक सभासद बनेका थिए। उनी २०७० सालमा अछाम- १ बाटै निर्वाचित भए।

पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर- १ बाट निर्वाचित भए। उनले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पराजित गर्दै निर्वाचित भएका हुन्। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं- १ बाटै निर्वाचित सिंह २०७० सालमा उपप्रधानमन्त्री भएका थिए।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अर्घाखाँची- १ बाट निर्वाचित भएका छन्। माओवादी केन्द्रका प्रभावशाली नेतासमेत रहेका रायमाझीले कांग्रेसका डा. रामबहादुर वीसीलाई हराए। २०६४ सालमा अर्घाखाँची- १ बाटै निर्वाचित रायमाझी उपप्रधानमन्त्रीसहित चार पटक मन्त्री भइसकेका छन्।

केसी र मैनाली समानुपातिकमा

पटक पटक उपप्रधानमन्त्री भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा मालेका महासचिव चन्द्रप्रकाश मैनालीले यस पटक भने प्रत्यक्षमा प्रतिनिधिसमा सदस्यका लागि प्रतिष्पर्धा गरेनन्। उनीहरूले आफ्नो नाम पार्टीको तर्फबाट समानुपातिक सूचीमा समावेश गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.