|

जनकपुरधाम : धनुषा–१ मा नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन्। वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र उम्मेदवार रहेका मातृका यादवले संघीय समाजवादी फोरम नेपालका नेता दीपक कार्कीलाई पराजित गर्दै जित हासिल गरेका हुन्।

मातृका यादवले २६ हजार ४ सय १८ मत ल्याएर विजयी भएका हुन् भने, उनका प्रतिद्वन्दी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २ सय ९६ मत ल्याई पराजय व्यहोर्नु परेको छ। यादव र कार्कीबीच ९ हजार १ सय ३२ मतको मतान्तरले यादव निर्वाचित भएका हुन्।

को हुन् मातृका यादव?

०३३ मा पञ्चायती व्यवस्थाविरुद्ध आफ्नै गाउँ सबैलामा कांग्रेस कार्यकर्ताहरुको प्रभावमा परेर मातृका राजनीतिमा आएका थिए। कांग्रेसका नेता स्व. बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर ‘मेरो घाँटी र राजाको घाँटी एउटै हो’ भनेर नेपाल आएपछि मातृका कांग्रेसबाट अलग भएका थिए।

एउटा नयाँ पार्टी खोज्नुपर्छ, जसले वर्गीय, सामाजिक र राष्ट्रिय उत्पीडनलाई मुक्ति दिलाउन सकोस् भन्ने उद्देश्यले ०३४ मा नेकपाको चौथो महाधिवेशनमा उनले भाग लिए। ०३५/०३६ को आन्दोलनमा भाग लिनुका साथै मातृका जनमत संग्रहमा पनि सहभागी थिए।

त्यसपछि कलेजको पढाइ गर्न सिरहा गएका वेला सिरहा क्याम्पसमा दुई पटक स्ववियु सभापतिसमेत बनेका थिए। कम्युस्टि राजनीतिमा होल टाइमर रुपमा राजनीतिक जीवन बिताउँदा पञ्चायत कालमा विभिन्न आरोप खेपेर उनी जेलसमेत परे।

०३८ मा विद्यार्थीको सातौं राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बन्दै उनी भूमिगत रुपमा संगठन चलाउथे। सोही क्रममा राजधानीको इन्द्रचोकबाट उनलाई प्रहरीले पक्राउ गर्‍यो र पछि उनी विद्यार्थीभन्दा पनि पार्टीमा बढी सक्रिय भए।

चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य (पिबिएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गीय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए। त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए। ०३८ मा समातेर सरकारले उनलाई डिल्लीबजार खोरमा ४ महिनासम्म राखेको थियो। त्यहाँ उनले ठूलो संघर्ष गरेका थिए। जेलभित्रै अश्रुग्यास र गोली चल्यो।

आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरु मातृका यादवमाथि आक्रमण भएको थियो। त्यतिवेला मातृका यादवहरुले जेलको गेट कब्जामा लिएको थिए।०३९ मा जेलबाट छुटेपछि उनी पुनः कम्युनिस्ट पार्टीमा सक्रिय भए। ०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय ब्युरो सदस्य थिए।

०४२ मा उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो। त्यससमयमा मातृका ९ महिना जेलमा बसेका थिए। ०४४÷०४५ तिर पार्टी जनयुद्धमा जाने बहुसंख्यकको माग थियो। त्यसताका मातृका क्षेत्रीय ब्युरो सदस्य थिए।

०४६ पार्टीले भौतिक प्रशिक्षण सुरु गर्यो। त्यसमा पनि उनी सक्रिय रहे। फेरि उनी पक्राउ परे। झन्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यान लगायतका मुद्दामा जलेश्वर जेलमा राखियो। पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए।

०५०/०५१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए। उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो। उनी रामवृक्ष यादव ‘मास्टर साहेब’लाई केन्द्रीय सदस्य बनाउनु पर्ने अडान राखे र आफू गएनन्।

०५१ मा पार्टीको तेस्रो विस्तारित बैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो। पार्टी भूमिगत बन्यो। उनी धनुषामा केन्द्रित रहे। ०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडांै आउँदा पक्राउ परेपछि एक वर्षसम्म उनलाई बेपत्ता बनाइयो। ०५८ मा फेरि उनी जेल परे। ०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेलमुक्त भए भने, दोस्रो वार्तामा टोलीका सदस्य बने। ०६० मा फेरि दिल्लीबाट पक्राउ परे। ०६३ को वैशाख अन्तिमतिर उनी छुटे।

माओवादीको केन्द्रीय सदस्यका रुपमा रहेका यादव जनयुद्ध कालमा सुरुमा प्रशिक्षकको रुपमा काम गरेका थिए। पछि उनलाई लजिस्टिक डिपार्टमेन्टको प्रमुख बनाइयो। तर, त्यहाँ तस्करहरुसँग भेटघाट गर्नुपर्ने भएकाले त्यो विभाग छोडेर जनयुद्ध कालमा पार्टी भित्रको अन्य काममा उनी लागे।

०५६ को चैत्र मसान्तमा काठमाडौंमा मधेसी बुद्धिजीवीहरुसँग भेट्न जाँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो। २२ महिनाको कारावासपछि उनी रिहा भएका थिए।त्यसैगरी, भारतमा भूमिगत रहेको वेला ०६० को माघमा दिल्लीमा उपेन्द्र यादव, सुरेश आले मगर र मातृका यादवलाई पक्राउ गरियो।

उपेन्द्र यादवलाई दिल्लीमै राखियो भने, मगर र यादवलाई काठमाडौं पठाइयो। २७ महिनाको कारावासपछि उनी रिहा भएका थिए। जनयुद्ध कालमै मातृकाले काठमाडांैको पर्खालहरुमा ‘गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धर्ती पुत्र छि’ लेख्न लगाएका थिए।

‘त्यो नारा किन लेख्न लगाए भने काठमाडौंको मानसिकतामाथि प्रहार गर्नु थियो। मधेसी नागरिक भारतीय नागरिक नभएर नेपालकै राष्ट्रवादी नागरिक हुन् भनेर काठमाडौंलाई म्यासेज दिनु थियो।’ उनले भने त्यसपछि मातृका यादवले नेपाली नागरिकताको प्रमाण पत्र लिन ढाका टोपी नै लगाएको तस्बिर राख्नुपर्ने व्यवस्थाविरुद्ध समेत लडाइँ लडे।

आफ्नो छोरा अमर कुमार यादवलाई नागरिकता दिलाउन विनाटोपीकै तस्बिर सहितको फोटो राखेर नेपाली नागरिकताको प्रमाण पत्र पाउनुपर्छ भन्ने अडान राखे।

पछि विनाटोपीकै नेपाली नागरिकताको प्रमाण पत्र उनले आफ्ना छोरालाई दिलाए। जो कि नेपालमै ऐतिहासिक परिवर्तन थियो। शान्ति प्रक्रियामा आउँदा अनमिनका प्रमुख इयान मार्टिनसमक्ष मधेस मुद्दालाई अन्तर्राष्ट्रियकरण गराउन दबाब दिए। मधेस भन्ने शब्द संयुक्त राष्ट्रसंघमा पहिलो पटक मातृकाकै अडानका कारण प्रयोगमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.