|

हालसम्म साहित्यसम्बन्धी ज्ञान एउटै विशाल पोखरी वा अझ सागरमा झैं शीर्षक भिन्नभिन्न भए पनि सबैथोक सोलोडोलो एकै ठाउँमा हुने गथ्र्यो– कुन सिद्धान्त, कुन विधागत अध्ययन, कुन उपकरण, कुन साधना आदि। तर ‘साहित्यबोध’ले पहिलोपल्ट साहित्यका सैद्धान्तिक आधार, साहित्यका रूप वा विधा, साहित्यको साधना, उपकरण, यससँग जोडिएका तर यसैभित्रचाहिँ नपर्ने कतिपय अतिरिक्त कुरा आदि प्रत्येक क्षेत्रलाई विशिष्टीकृत रूपमा समूहबद्ध पारेको छ। त्यसैले यस पुस्तकको विषय सूची हेर्दैमा मनमा साहित्यको अध्ययनभित्र केके कुरा पर्दछन् र यसका शाखा उपशाखा केके हुन् भन्नेजस्तो विषयवस्तुसहित साहित्यिक अध्ययनको सिंगो खाका बनिहाल्छ।

कुनै परीक्षा उत्तीर्ण गर्न वा कुनै पारिश्रमिक पाउने प्रयोजनभन्दा पनि आफ्नै जोस र जाँगरमा प्रकाशमणि दहालले तयार पार्नु भएको यस कृतिमा साहित्यका मूलभूत विभागको स्थापनासहित प्रत्येक विभागअन्तर्गतका विषयका प्रत्येकको मौलिकता, भूमिका, विशेषतासहित अलग अलग परिचय गराइएको छ। दशकौँ शिक्षण पेसामा जीवन अर्पण गरेका लेखकले तयार पारेको यस पुस्तकमा हरेक सिद्धान्त, रूप, उपरूप, प्रत्येकको परिभाषा, विशेषता, आदिको वैज्ञानिक ढंगले विशद् अध्ययन गरिएको छ र प्रत्येकलाई पूर्वीय÷पाश्चात्य साहित्यिक मान्यता, परम्परा र शीर्षस्थ साहित्यिक रचनाहरूका उद्धरणबाट पुष्टि पनि गरिएको छ।

हालसम्म साहित्यका पूर्वीय साहित्यमा तीन, पाश्चात्य साहित्यमा बढीमा पाँच र नेपालीमा सात हेतु मात्र मानिएकोमा यस ग्रन्थले नौ हेतु स्थापित गरेको छ। त्यस्तै कुनै पनि विषयको सिद्धान्त वा आदिशास्त्र हुने कुरा उल्लेख गरेर साहित्यको पनि साहित्यशास्त्र वा सिद्धान्त र साहित्यिक सिर्जना बेग्लै भएको कुरा प्रकाशित गरेर हालसम्म लेखकहरूको ध्यान नगएको एउटा आवश्यक विषयमा प्रकाश पारिएको छ। यसबाट एउटा ठूलो अन्योलको समाधान भएको छ। साथै साहित्यका तत्त्व, प्रयोजन र गुणबारे विशेष खोजसहित विस्तृत विवेचना प्रस्तुत गरेर साहित्यिक अध्ययनलाई सान्दर्भिक, स्पष्ट र सारयुक्त पारिएको छ। 

हालसम्मका साहित्य सिद्धान्तले वास्ता नगरेको तर साहित्यको अध्ययनमा अत्यन्त सान्दर्भिक पक्ष, साहित्यका रूपको उद्गमबारे यस ग्रन्थले औचित्य र तर्कसंगतिसहित अनुसन्धानात्मक पाराले प्रकाश पारेको छ। त्यसअनुसार साहित्य मानवमनकै मनस्प्रवृत्तिको वाङ्मयिक प्रतिबिम्ब हो भन्दै यसले साहित्य मनको मनोप्रवृृत्तिगत भेदअनुसार नै मुख्य रूप र उपरूपहरूका भेषमा सिर्जना हुने यथार्थलाई स्थापित गरेको छ। यसबाट कुन विधा वा रूपको साहित्य मानव मनको कुन पक्षसँग सम्बन्धित छ भन्ने स्पष्ट भएको छ, जसले साहित्यको अध्ययनलाई विशिष्टीकृत र चाखलाग्दो पारेको छ।

साहित्य सिर्जनामा हुने नौवटा द्वित्वको खोज अत्यन्त घतलाग्दो, विचारोत्तेजक, प्रासंगिक र साहित्यको अध्ययन पहिचानमा अत्यन्त सहायक हुने देखिन्छ। हालसम्म कसैको ध्यान नगएको वा ध्यान जान आवश्यक नठानिएको यस पक्षअनुसार समग्र वाङ्मयिक सिर्जना आवश्यकता वा कामकाजपरक साहित्य तथा ऐच्छिक वा अभिव्यञ्जनापरक साहित्य दुई आदि भँगालो भएर प्रवाहित हुने, अभिव्यञ्जनापरक साहित्य फेरि समष्टि सिर्जित लोकसाहित्य र व्यष्टि सिर्जित अभिलेख साहित्य दुई उपधार हुने, अभिलेख साहित्य फेरि सिर्जनात्मक साहित्य र संरक्षणात्मक साहित्यका दुई क्षेत्रमा विभाजित हुने, सिर्जनात्मक साहित्य फेरि आत्मप्रकाशनपरक र अन्य प्रकाकाशनपरक तथा संरक्षणात्मक साहित्य फेरि मूल्यांकनपरक, व्याख्यानपरक, अभ्यासनपरक र भण्डारणपरक चार उपधारमा विभाजित हुने तथा सिर्जनात्मक साहित्य पनि आत्मप्रकाशनपरक र अन्य प्रकाशनपरक दुई मूलधार हुँदै वास्तविक साहित्यका अन्तिम रूपमा द्वित्व हुँदै जाने रहस्योद्घाटनले साहित्यको उत्पत्ति, प्रयोजन, प्रक्रिया, उपादेयता जस्ता सान्दर्भलाई सतहमा ल्याएर साहित्यको अध्ययनलाई अत्यन्त अर्थपूर्ण पारेको छ।

साहित्य र समालोचना एकै हुन् कि भिन्न हुन्, समालोचना साहित्य हो कि होइन, भए कस्तो खाले हो, नभए कसरी होइन, नभए किन यो साहित्यसँग अभिन्न हुन्छ भन्ने एउटा चीर विवादित विषयलाई ठोस तर्कहरू र घतिला उदाहरणहरू दिएर लेखकले प्रष्ट पारेका छन्। 

साहित्यका किसिम भनेर साहित्यमा प्रचलित विविधता प्रत्येकको परिचयसहित यी वैविध्य साहित्यको अध्ययनमा कुन शाखा वा क्षेत्रअन्तर्गत पर्दछन् भन्ने उल्लेख गर्नाले साहित्य भनेपछि सबै कुरा एकै ठाउँमा मासमिस रहने र पर्गेल्न अप्ठ्यारो पर्ने स्थितिलाई यसले अन्त्य गरेको छ। 

साहित्य र समाज जोडिएर एकअर्काका पूरक भएर एकअर्काद्वारा समर्थित भएर एकअर्काको सम्वद्र्धनमार्फत् समग्र मानव समाजको सम्वद्र्धन हुनुपर्ने अनिवार्यता स्थापित गरिएको छ र यो स्थापना कोरा विवेचनात्मक वा उपदेशात्मक शैलीबाट नभएर सोदाहरण काव्यिक माध्यमबाटै गरिएको छ। हालसम्म उपेक्षित तर साहित्यसँग अविभाज्य रहेर व्यवहारमा अनिवार्यतः प्रचलित उद्घोषण÷प्रवचन जस्ता मौखिक अभिव्यक्ति, पत्रिका जस्तो साहित्यको विद्यालय वा महाविद्यालय र साहित्यको अभिलेखीय पक्ष अर्थात् इतिहासलाई साहित्यको अभिन्न अंगका रूपमा स्थापित गरी प्रत्येकको परिभाषा, महत्त्व, तत्त्व, विशेषता, स्वरूप जस्ता कुरा कृतिमा प्रष्ट्याइएको छ।

समग्र कृति अनुसन्धानात्मक–नैबन्धिक–काव्यिक स्वरूपको त्रिवेणी रहेको छ र प्रत्येक अध्यायमा परेका अंग्रेजी तथा संस्कृत सबै उद्धरणका नेपाली अनुवाद राखेर तिनको मौलिक उद्धरण प्रत्येक पाठका अन्त्यमा राखिएको छ। फलतः अध्ययनको प्रवाहमा विदेशी भाषाको अड्चन वा अप्ठ्यारो कहीँ खट्किँदैन। 
स्वतन्त्र अध्ययन हुँदाहुँदै पनि सकेसम्म स्नातक र स्नातकोत्तर नेपाली पाठ्यक्रममा समावेश गर्न लायक यो कृतिमा संक्षिप्त हुँदाहुँदै पनि पाश्चात्य समालोचनाको सहित संस्कृत, नेपाली र अंग्रेजी साहित्यको इतिहास प्रस्तुत गरिएको छ। 

लेखन शैली अत्यन्त प्रवाहशील, विश्लेषणात्मक तर रोचक छ। थालेपछि छोड्न मन नलाग्ने साहित्यको पहिचानलगायत यसका अंगप्रत्यंगको जाँचपरख गर्ने क्रममा यस कृतिले यहाँ वहाँ साहित्यको अध्ययन हल्काफुल्का मनोरन्जन मात्र होइन, यो मानिसको आधारभूत मानवीय चैतन्यसँगै अभिन्न भएर गाँसिएको हुन्छ भन्ने स्पष्ट गरेको छ। मानव विकासक्रममा यो समानान्तर मात्र होइन, अघिअघि मार्गदर्शकका रूपमा पनि र पछिपछि सुधार परिमार्जन गर्दै शुभचिन्तक–अभिभावकीय दुवै भूमिकामा रहेको हुन्छ भन्ने कुरा बताएर साहित्यको पहिचानसँगै मानव जीवनको उद्गमबारेमा पनि जोड दिएको छ। 

अन्त्यमा, साहित्यका गम्भीर अध्येता तथा सुपरिचित लेखक गोविन्दप्रसाद घिमिरेको मन्तव्यका निम्न पंक्तिले यस कृतिका उपरोक्त विशिष्टतालाई मनग्गे पुष्टि गरेको देखिन्छः 

‘भूमिकाको लागि अध्ययन गर्न पाएका पुस्तकहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण ग्रन्थ मेरा लागि यही भएको छ। वर्तमान दिशाविहीन नवप्रवेशी साहित्य सर्जकहरूका लागि यो ग्रन्थ मार्गदर्शक हुने अपेक्षा गर्नै पर्दछ। पूर्वीय र पाश्चात्य साहित्य  सिद्धान्तहरूलाई नयाँपनमा ढाली सकेसम्म सरल र सहज बनाएर प्रस्तुत गरिएको उल्लेखनीय छ। धेरै मिहिनेतपूर्वक तयार पारिएको यो रचनाले साहित्यको मानक सिद्धान्तका रूपमा काम गर्छ भन्ने कुरालाई नकार्न सकिन्न।’ 

नेपाली साहित्यमा यति गहन कृति थप्ने लेखक प्रकाशमणि दहाललाई साधुवाद!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.