|

  • अर्जुन सुवेदी-

सुनसरीः अनिल गुरुङको निर्णायक गोलको मद्दतमा चर्च ब्वाइजलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब काठमाडौं सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। 

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्चलाई १–० ले पराजित गर्दै  मनाङले फाइनलमा स्थान सुरक्षित गरेको हो। मनाङले अब उपाधिीका लागि बिहीबार हुने रूपन्देही ११ र नेपाली सेनाको त्रिभुवन आर्मीबीच हुने अन्तिम सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ। 

रूपन्देहीले हिमालयन शेर्पालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्दा आर्मीले मोरङ ११ लाई ४–२ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। स्थानीय दुहवी रंगशालामा बुधबार भएको खेलमा पहिलो हाफमा दुवै टिमले पाएका आधा दर्जन अवसर सदुपयोग गर्न सकेनन्। 

पहिलो हाफमा गोल गर्न नसकेका मनाङ र चर्चका खेलाडी दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएका थिए। चर्चको तुलनामा मनाङका खेलाडीले केही गोल गर्ने अवसर गुमाए पनि खेलको ८०औँ मिनेटमा मनाङका अनिल गुरुङले निर्णायक गोल गरे। उनले सुजल श्रेष्ठको पासमा डी एरिया नजिकैबाट प्रहार गरेको बलले जाली चुमाएका थिए। 

बुधबारको खेलको म्यान अफ द म्याच मनाङका हेमन गुरुङ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पाए। प्रतियोगितामा नेपालका ए डिभिजनस्तरका आठ टिमको सहभागिता रहेको छ। 

गोल्डकप बिजेताले नगद चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँसहित सिल्ड पाउनेछन्। प्रतियोगिताको फाइनल खेल पुस १ गते हुने आयोजक क्लबका खेल संयोजक एवम् सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष दिलीप राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.