|

काठमाडौं: सरकारले क्यान्सर, मिर्गौलाको रोगको कारण डाइलासिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाइ जीविकोपार्जन खर्च स्वरूप मासिक पाँच हजार रुपैयाँ खर्च दिने तयारी गरेको छ।

स्वास्थ्यमन्त्री दीपक बोहोराले क्यान्सर र मिर्गौलाको बिरामीहरूको उपचार लामो समय गर्नुपर्ने र आफ्नो जीविकोपार्जन गर्न नसक्ने हुँदा मन्त्रालयले यस्ता बिरामीहरूलाई जीविकोपार्जन स्वरूप मासिक पाँच हजार रुपैयाँ दिने तयारी गरिरहेको बताए।

'हाल हामीले क्यान्सरको उपचारको एक लाख रुपैयाँ दिने र मिर्गौलाको नि:शुल्क उपचार गर्ने व्यवस्था भए पनि लामो समयसम्म उचार गर्नुपर्ने हुँदा दैनिक जीवनयापन यस्ता बिरामीहरूलाई गाह्रो हुने हुँदा क्यान्सर र मिर्गौलाका बिरामीको उपचार अवधिभर मासिक पाँच हजार रुपैयाँ दिने तयारी गरिरहेका छौँ', मन्त्री बोहोराले भने।

स्पाइनल इन्जुरीका बिरामीलाई जीवनभर, क्यान्सर र मिर्गौलाका बिरामीलाई मिर्गौला प्रत्यारोपण अगाडिको समयसम्म मासिक पाँच हजार रुपैयाँ दिने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी भएको र मन्त्रिपरिदले पास गरेलगत्तै कार्यान्वयनमा ल्याइनेसमेत मन्त्री बोहोराले बताए।

यस्तै, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले पनि क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी भएका बिरामीहरूले जीविकोपार्जन गर्न नसक्ने हुँदा सरकारले यस्ता रोगका बिरामीलाई उपचारमा सहयोग गरे पनि उनीहरूलाई जीविकोपार्जन स्वरूप मासिक पाँच हजार रुपैयाँ दिने तयारी गरिएको बताए।

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत हालसम्म १४२ जनाले नि:शुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने चार  हजार १८२ जनाले नि:शुल्क डायलाइसिस र ८८ जनाले पेरिटोलियल डायलाइसिस गराएका छन्। आठ हजार ६४३ क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन्।

यसको आधारमा क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिँदा वार्षिक ७८ करोड रुपैयाँ चाहिने हुँदा यदि यो प्रस्ताव पास भएर कार्यान्वयनमा जाने अवस्था आएमा  मदिरा र सुर्तिजन्य प्रदार्थमा स्वास्थ्य सुरक्षा कर लगाएर उठेको राजश्वमार्फत यस्ता बिरामीलाई जीविकोपार्जन स्वरूप उक्त रकम दिने प्रस्तावसमेत गरिएको डा. श्रेष्ठले बताए।

हाल सरकारले क्यान्सर र स्पाइनल इन्जुरीका, बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ उपचार खर्च दिँदै आएको छ भने मिर्गौला रोगीलाई भने नि:शुल्क डायलाइसिस, प्रत्यारोपण गर्नुपरेमा चार लाख रुपैयाँ, प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख रुपैयाँ र मिर्गौला प्रदान गर्ने तथा ग्रहण गर्ने बिरामीको प्रयोगशाला परीक्षणका लागि ५० हजार रुपैयाँ बराबरको उपचार सुविधा नि:शुल्क दिँदै आएको छ। यस्तै मिर्गौला रोगीमध्ये एक्युट रिनल फेलिएरका बिरामीका लागिसमेत एक लाख रुपैयाँ बराबरको उपचार सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.