|

  • अर्जुन सुवेदी-

सुनसरीः सुनसरीको दुहवी नगरपालिका– ८ घर भएका विजयकुमार गच्छदार विद्यार्थी छँदा २०२७ सालदेखि राजनीति थालेका हुन्। उनले नेपाल विद्यार्थी संघमा सक्रिय रहेर पञ्चायतविरुद्ध आन्दोलन चर्काउँदा पाँच वर्षसम्म जेल बस्नुपर्‍यो। 

जेल जीवन बिताएलगत्तै पाँच वर्षसम्म उनले भारतमा निर्वासन जीवन बिताए। उनी २०३० सालमा प्रजातन्त्रिक आन्दोलनका लागि आर्थिक सहयोग जुटाउन नेता गिरिजाप्रसाद कोइरालाको निर्देशनमा भएको विमान अपहरण काण्डमा पनि संलग्न थिए। विद्यार्थी आन्दोलनमा सक्रिय हुने क्रममा उनी २०३३ सालमा महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु सभापति भए। 

गच्छदार सुनसरी क्षेत्र नम्बर– २ बाट कांग्रेसका तर्फबाट २०४८ सालको आमनिर्वाचन, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा विजयी भए। उनी २०६४ सालमा मधेसको माग सम्बोधन नगरेको भन्दै कांग्रेससँग असन्तुष्ट भएर मधेसी जनअधिकार फोरम नेपालमा आबद्ध भए। 

त्यस बेला उनी सुनसरी क्षेत्र नम्बर– ३ बाट विजयी भए। गच्छदारले पहिलो संविधानसभा निर्वाचनपछि भने फोरम नेपालबाट अलग भएर लोकतान्त्रिक फोरम नेपाल पार्टी खोले। यतिबेला एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाएपछि लोकतन्त्रवादी शक्ति एक हुनुपर्ने जनाउँदै गच्छदार पुनः कांग्रेसमा फर्किएको उनले बताउँदै आएका छन्। २०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक उपप्रधानमन्त्री बनेका छन्। 

२०४८ सालमा सञ्चार राज्यमन्त्री, २०५२, २०५४ र २०५५ मा निर्माण तथा यातायातमन्त्री बनेका गच्छदार २०५६ सालमा पर्यटन तथा नागरिक उड्ययनमन्त्री, २०५६ मा जलस्रोतमन्त्री, २०५८ मा जलस्रोतमन्त्री, २०६५ मा भौतिक योजना तथा निर्माणमन्त्री, २०६६ मा उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री, २०६८ मा उपप्रधान तथा गृहमन्त्री, २०७२ मा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, २०७४ मा उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेका छन्। 

राजनीतिक यात्राका क्रममा साढे छ वर्षभन्दा बढी जेल जीवन बिताएका गच्छदार २०६४ सालको संविधानसभा चुनावमा नेपाली कांग्रेसका अगमलाल चौधरीलाई पराजित गर्दै २३ हजार ७६९ मत ल्याएर विजयी भएका थिए। मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसमा उनको पुनरागमनले सुनसरीमा तीन सिट जित्नमा मनग्य ऊर्जा थपिएको सुनसरी कांग्रेस वृत्तमा चर्चा छ। उनी छैठौँ पटक सुनसरी क्षेत्र नम्बर– ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर चुनाव जितेका छन्। उनी कम्युनिष्ट अधिनायकविरुद्ध जस्तोसुकै संघर्ष गर्न पनि तयार र सक्षम नेतृत्व भएको बताउँदै आएका छन्। 

विजयकुमार गच्छदारकै महत्त्वपूर्ण भूमिकाका कारण २०७२ असोज ३ गते नयाँ संविधान जारी हुन सम्भव भएको घटना नेपालको राजनीतिक वृत्तमा निकै चर्चित छ। उनले त्यस बेला कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललार्ई एक ठाउँमा ल्याएर संविधान जारी गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। २०४८ सालयता पटक पटक मन्त्री भएका गच्छदारले सुनसरी जिल्लाको समग्र विकासका निम्ति सबैभन्दा बढी योगदान दिएका कारण आफू कहिल्यै पराजित नभएको बताउँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.