|

तनहुँः तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को मत परिणामअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस शून्य सिटमा सीमित भएको छ। तनहुँमा समानुपातिकमा पनि कांग्रेस पहिलो हुन सकेन। 

दुईवटा निर्वाचन क्षेत्र रहेको तनहुँमा समानुपातिकतर्फ पनि कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा भएको छ। 

मुख्य  निर्वाचन  अधिकृतको कार्यालय तनहुँले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार तनहुँमा समानुपातिकतर्फ नेकपा एमाले नै पहिलो पार्टी बनेको छ। क्षेत्र नम्बर– १ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ २६ हजार ५८६ मतका साथ नेकपा एमाले पहिलो पार्टी बनेको हो। नेपाली कांग्रेस २६ हजार ५४ मतका साथ दोस्रो पार्टी बनेको छ। 

त्यस्तै, छ हजार २९५ मतका साथ माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी तेस्रो र एक हजार ६०३ मतका साथ विवेकशील साझा पार्टी चौथो बनेको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

प्रदेशसभामा १ र २ को समानुपातिकतर्फ कांग्रेस पहिलो भएको छ। प्रदेशसभा १ मा नेपाली कांग्रेसको १४ हजार ७९७ र प्रदेशसभा २ मा १० हजार ६९ मत आएको बुधबार पत्रकार सम्मेलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जानकारी गराएको छ। 

त्यस्तै, एमालेले प्रदेश १ मा १४ हजार ३६३ र प्रदेश २ मा नौ हजार ८०० मत ल्याएको छ भने माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी गरी तीन पार्टीको संयुक्त दुई हजार ४०४ र प्रदेश २ मा चार हजार ६९१, विवेकशील साझा पार्टीको प्रदेश १ मा ७२७ र प्रदेश २ मा ५६१ मत आएको छ। 

क्षेत्र नम्बर– १ मा कुल ३७ हजार ४७७ मध्ये ३३ हजार ५७० मत सदर र तीन हजार ९०७ मत बदर भएको छ भने प्रदेश २ मा ३० हजार ३६३ मध्ये २६ हजार ६८७ मत सदर र तीन हजार ६७६ मत बदर भएको छ।  

क्षेत्र नम्बर– २ प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले २८ हजार ६९९, नेपाली कांग्रेसले २७ हजार ६६५, माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी गरी तीन पार्टीले चार हजार ४९९ र विवेकशील साझा पार्टीले एक हजार १४८ मत ल्याएका छन्। 

प्रतिनिधिसभातर्फ ६८ हजार ५०९ मतमध्ये ६४ हजार २७४ मत सदर, तीन हजार २८४ पूर्ण बदर र ९५१ मत आंशिक बदर भएको थियो। 

त्यस्तै, क्षेत्र नम्बर– २ प्रदेशतर्फ एमालेले २६ हजार ५९३, कांग्रेसले २६ हजार २३२, माओवादी केन्द्र, समाजवादी जनता पार्टी र जनजागरण पार्टी गरी तीन पार्टीले पाँच हजार ४१३ र विवेकशील साझा पार्टीले ८३० मत पाएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.