|

बाँकेः बाँकेका तीनवटै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएको नेपाली कांग्रेस समानुपातिकतर्फ जिल्लामा पहिलो भएको छ। 

समानुपातिकतर्फको बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेस पहिलो भएको हो। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य जितेको एमाले दोस्रो भएको छ। 

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य जितेको माओवादी केन्द्र चौथो स्थानमा पुगेको छ। एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य जितेको संघीय समाजवादी फोरमले माओवादीलाई उछिन्दै बाँकेमा तेस्रो ठूलो दलको रूपमा आफूलाई उभ्याएको छ। 

मत परिणामअनुसार कांग्रेसले ५० हजार ८५६ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको एमालेले ४८ हजार ६९७ र तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले २६ हजार ६४ मत प्राप्त गरेको छ। 

चौथो स्थानमा रहेको माओवादी केन्द्रले २२ हजार ७६२ मत ल्याउँदा पाँचौँ स्थानमा रहेको राप्रपाले आठ हजार १०४ मत ल्याएको छ।

प्रदेशसभा समानुपातिकतर्फ कांग्रेसभन्दा एमालेले बढी मत पाएको छ। एमालेले ४४ हजार ८६० मत पाएको छ भने कांग्रेसले ४३ हजार ५६६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशसभातर्फको समानुपातिकमा पनि संघीय समाजवादी फोरमले माओवादी केन्द्रभन्दा बढी मत ल्याएको छ। तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले २३ हजार दुई मत ल्याउँदा माओवादी केन्द्रले २२ हजार ४६५ मत प्राप्त गरेको छ। 

राजनीतिक दललाई प्रत्यक्षभन्दा समानुपातिकमा कम मत 
राजनीतिक दलले प्रत्यक्षतर्फको प्रतिनिधिसभा निर्वाचनमा पाएको मतभन्दा समानुपातिकमा कम पाएका छन्। क्षेत्र नं.– १ मा माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज (अथक) विजयी भए। उनले ३१ हजार १७३ मत प्राप्त गरे। तर, समानुपातिकतर्फ उक्त क्षेत्रमा माओवादी केन्द्रले १२ हजार ३५ मत मात्र प्राप्त गरेको छ।

क्षेत्र नं.– १ मा नेपाली कांग्रेसले समानुपातिकतर्फ २० हजार ३०८ मत पाएको छ। सोही क्षेत्रमा कांग्रेसका उम्मेदवार माधवराम खत्रीले २८ हजार २१० मत प्राप्त गरे। 
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीका उम्मेदवार रहेको क्षेत्र नं.– १ मा एमालेले माओवादी केन्द्रभन्दा बढी मत पाएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ उक्त क्षेत्रमा एमालेले १८ हजार ५५२ मत पाएको छ। 

क्षेत्र नं.– २ मा संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई २१ हजार ५७५ मत पाएर विजयी भए। तर, फोरमले समानुपातिकतर्फ १७ हजार ३०६ मत मात्र प्राप्त गर्न सफल भयो। उक्त क्षेत्रमा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार पशुपतिदयाल मिश्रले १५ हजार ९५१ मत प्राप्त गरे पनि समानुपातिकतर्फ एमालेले नौ हजार ८७७ मत मात्र पाएको छ। 

लोकतान्त्रिक गठबन्धनका राप्रपाका उम्मेदवार ओमप्रकाश आजादले ११ हजार बढी मत पाए पनि समानुपातिकतर्फ उनको दलले चार हजार ७२० मै चित्त बुझाउनुप¥यो। क्षेत्र नं.– २ मा कांग्रेसले नौ हजार ६२२ मत पाएको छ। 

एमालेका उम्मेदवार नन्दलाल रोकायले जितेको प्रतिनिधिसभा क्षेत्र नं.– ३ मा समानुपातिकतर्फ कांग्रेसले एमालेभन्दा बढी मत पाएको छ। कांग्रेसले २० हजार ३०८ मत पाउँदा एमालेले २० हजार २६८ मत पाएको निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले जानकारी दिए। उनका अनुसार माओवादीले सात हजार ९६१, संघीय समाजवादी फोरमले तीन हजार ७८५ र राप्रपाले जम्मा एक हजार ३३६ मत प्राप्त गरेको छ। 

प्रत्यक्षभन्दा समानुपातिकमा धेरै मत बदर
बाँकेमा प्रतिनिधिसभाभन्दा प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ धेरै मत बदर भएको छ। प्रतिनिधिसभातर्फ २६ हजार ९९६ बदर मत हुँदा प्रदेशसभातर्फ ३९ हजार ६६५ मत बदर भएको तथ्यांकले देखाएको छ।  

प्रतिनिधिसभा क्षेत्र नं.– १ मा समानुपातिकतर्फ सात हजार ८६८ मत बदर भएको छ भने प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं.– १ ‘क’मा सात हजार ४५२ र १ ‘ख’मा चार हजार ८७३ गरी १२ हजार ३२५ मत बदर भएको छ। 

प्रतिनिधिसभा क्षेत्र क्षेत्र नं.– २ मा नौ हजार २०४ मत बदर हुँदा प्रदेशसभा क्षेत्र नं.– २ ‘क’मा आठ हजार ५५१ र निर्वाचन क्षेत्र नं.– २ ‘ख’मा चार हजार ८७५ मत बदर भएको निर्वाचन कार्यालयका प्रवक्ता लामिछानेले जानकारी दिए।

उनका अनुसार समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नं.– ३ मा ६७ हजार ४८० मत खसेकोमा नौ हजार ९२४ मत बदर भएको छ। उनले प्रदेशसभा ३ ‘क’मा छ हजार ८१ र क्षेत्र नं.– ३ ‘ख’मा सात हजार ८३३ मत बदर भएको जानकारी दिए। 

शहरी क्षेत्रभन्दा ग्रामीण भेगमा धेरै मत बदर 
शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा बढी मत बदर भएको छ। ग्रामीण भेगका निर्वाचन क्षेत्रमा बदर मतलाई आधार मान्ने हो भने ग्रामीण क्षेत्रमा मतदाता शिक्षा पुग्न नसकेको देखिन्छ। 

बाँकेको ग्रामीण एवम् विकट क्षेत्र मानिने क्षेत्र नं.– १ ‘क’मा सात हजार ४५२ मत बदर भएको छ। यस क्षेत्रमा नरैनापुर र राप्ती–सोनारी गाउँपालिकाका विकट वडाहरू पर्दछन्। तर, कोहलपुर नगरपालिका र राप्ती–सोनारी गाउँपालिकाको सुगम वडा समेटेर बनाइएको नरैनापुर र राप्ती–सोनारी गाउँपालिकाको विकट क्षेत्रलाई समेटेर बनाइएको क्षेत्र नं.– १ ‘ख’मा चार हजार ८७३ मत मात्र बदर भएको छ। 

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकासमेत रहेको क्षेत्रभन्दा डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाको ग्रामीण वडा समेटेर बनाइएको प्रतिनिधिसभा क्षेत्रमा बढी मत बदर भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.