|

काठमाडौं : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता विजयकुमार गच्छदार यस्ता भाग्यमानी हुन्, जसले २०४६ मा प्रजातन्त्र पुन: स्थापना भएपछिका चुनावमा कहिल्यै हार्नुपरेको छैन।  

देउवा डडेलधुरा र गच्छदार सुनसरीबाट निरन्तर चुनाव जित्नेमा पर्छन्। देउवाले वाम गठबन्धनबाट माओवादी उम्मेदवार खगराज भट्टलाई करिब ७ हजार मतान्तरमा पराजित गरेका थिए। बुधबारमात्रै निर्वाचित घोषित गच्छदारले वाम गठबन्धनबाट उम्मेदवार रहेकी एमालेकी भगवती चौधरीलाई ३ सय २१ मतले हराए। गच्छदारले ३८ हजार ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन्।

देउवा र गच्छदार चुनाव मात्र होइन, सबभन्दा बढी सत्ता–अभ्यास गर्नेमा पनि पर्छन्। गृहमन्त्री हुँदै चार पटक प्रधानमन्त्री बनेर देउवाले ‘रेकर्ड’ राखिसकेका छन्। अझै थाकेका छैनन्। ज्योतिषले ५ पटकसम्म प्रधानमन्त्री बन्ने योग देखाएको भन्दै देउवाले अझै प्रधानमन्त्री बन्ने लक्ष्य राख्दै आएका छन्। गच्छदार उपप्रधानमन्त्रीका रूपमा ५ र मन्त्रीका रूपमा १३ पटक प्रभावशाली र ‘आकर्षक’ मन्त्रालय लिएर सत्ताको केन्द्रमा छाइरहे। राजनीतिक दलका नेताहरू उनलाई मन्त्रीमा लोकसेवा नै पास गरेको भन्दै व्यंग्यसमेत गर्छन्। 

देउवा ०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गृहमन्त्री भएका थिए। ०५२ सालको मध्यावधि निर्वाचनपछि उनलाई प्रधानमन्त्री बन्ने ढोका खुलेको हो। पहिलो पटक प्रधानमन्त्री बन्दा उनी जम्मा ४९ वर्षका थिए। समकालीन नेतामा युवावयमै प्रधानमन्त्री बन्ने सौभाग्यसमेत यिनैलाई मिलेको छ। 

गच्छदार पनि ०४८ देखि नै गिरिजाप्रसाद कोइरालाको निकट रहेर सत्तामा हावी बन्न पुगेका थिए। त्यतिबेला कोइरालाको किचेन क्याबिनेटका रूपमा एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खडका, गोविन्दराज जोशी र विजय गच्छदार) का नामले उनी चर्चामा थिए। कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिरिनु परेन।

इतिहासको संयोग यस्तो छ कि यी दुवैले पार्टी छाडेर आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे। ०५८ मंसिरमा सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई नियन्त्रणमा लिन देउवाले संकटकाल लगाएका थिए। 

गच्छदारले ०६४ को संविधानसभा निर्वाचनअघि आफ्ना केही मान्छेले टिकट नपाएकामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडेका थिए। उपेन्द्र यादव नेतृत्वको संघीय फोरममा प्रवेश गरी ०६४ को संविधानसभा चुनावमा उनी निर्वाचित भए। माओवादी नेतृत्वको सरकार सात महिनामा ढलेपछि उनले उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन गरी गच्छदारले आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरे। लगत्तै उनी तत्कालीन माधव नेपाल नेतृत्वको सरकारमा मन्त्री भएका थिए। 

सत्ताका विभिन्न घुम्ती पार गर्दै उम्मेदवार मनोनयन गर्नुअघि गच्छदार कांग्रेस प्रवेश गरेका हुन्। देउवा पार्टी एकीकरणपछिको दोस्रो अर्थात् १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्। ०४८ सालपछि सत्ता र शक्तिमा निरन्तर रहेका यी दुई नेताले चुनावी प्रतिस्पर्धामा पनि डबल ‘हयाट्रिक’ गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.