|

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमार्फत बनेको सम्बन्ध प्रयोग गरी ठगी गर्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक माङ्खा–७ का ३३ वर्षीय तुलबहादुर तामाङ रहेका छन्। प्रहरीका अनुसार उनले कसैलाई विवाह त कसैलाई साथी बनाई ठगी गर्ने गरेको खुलेको छ। यसक्रममा उनले विभिन्न व्यक्तिबाट ५२ लाख रुपैयाँ ठगेका छन्।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले उनलाई सिन्धुपाल्चोकको माङ्खाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले फेसबुकको माध्यमबाट विवाह गरी बनेको सम्बन्धका आधारमा विभिन्न व्यक्तिलाई ठग्दै आएका थिए। यसक्रममा उनले राजेश गुरुङ र कैलास गुरुङबाट २१ लाख रुपैयाँ ठगेका छन्। राजेश र कैलास उनकी श्रीमती मनकला गुरुङका नातेदार हुन्। उनले मनकलासँग फेसबुकको माध्यमबाट चिनजान गरी विवाह गरेका थिए।

फेसबुकबाटै चिनजान गरेर विवाह
महाशाखाका डिएसपी प्रजित केसीका अनुसार तुलबहादुरले मनकलालाई प्रभावमा पार्न फेसबुकबाट रिक्वेस्ट पठाएका थिए। रिक्वेस्ट एसेप्टपछि दुईबीच सम्बन्ध झाँगिएको थियो। डिएसपी केसीले भने, ‘दुईबीच फेसबुकबाट चिनजान भयो, विवाह भयो, अनि उनले श्रीमतीकै नातेदारलाई ठग्न थाले।’ प्रहरीका अनुसार तुलबहादुरले युएस आर्मीमा जागिर लगाइदिने प्रलोभनमा राजेश र कैलाससँग २१ लाख रुपैयाँ लिएका छन्। रकम लिएलगत्तै बेपत्ता भएपछि मात्रै उनीहरूले आफू ठगिएको पत्तो पाएका थिए। उनलाई प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको छ।

तुलबहादुर यसअघि पनि सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी ठगी मुद्दामा सजाय भोगेका अभियुक्त हुन्। उनले सिन्धुपाल्चोककी सिर्जना दोङ र उनका आफन्तसँग २२ लाख रुपैयाँ ठगेका थिए। उनले सिर्जनासित डिपेन्डेन्ट भिसामा अमेरिका लैजाने प्रलोभनमा ९ लाख रुपैयाँ ठगेका थिए। उनका आफन्त सञ्जय दोङ र मिम लामासित क्यानाडा लैजाने भन्दै १३ लाख रुपैयाँ ठगेका थिए।

रोजगारीका क्रममा लेबनान पुगेकी दोङसँग उनको भेट फेसबुकमार्फत भएको थियो। जेभी नामबाट खोलिएको फेसबुक अकाउन्टबाट उनले दोङसँग सम्बन्ध बढाएका थिए। उनले सोही सम्बन्ध प्रयोग गरी दोङका आफन्त सञ्जय र मिमसँग सम्बन्ध बढाएका थिए। सबैलाई नेपाल बोलाएर उनले रकम फुत्काएको प्रहरीले जनाएको छ।

अदालतबाट छुटेपछि फेरि ठगी

प्रहरीका अनुसार उनले यसअघि फेसबुक नै प्रयोग गरेर रोजगारीका क्रममा साइप्रस पुगेकी कुसुम लामासँग पनि नौ लाख रुपैयाँ ठगेका थिए। उनले कुसुमलाई पनि क्यानाडा लैजाने प्रलोभन देखाई ठगी गरेका थिए। उक्त मुद्दामा प्रहरीले तुलबहादुरलाई डेढ वर्षअघि नै फक्राउ गरेको थियो। धरौटी रकम तिरेर उनी त्यतिवेला अदालतबाट छुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। त्यसलगत्तै उनी फेरि ठगी धन्दामा सक्रिय रहेको प्रहरीको भनाइ छ।

डिएसपी केसीले भने, ‘उनले कसैलाई अमेरिका त कसैलाई क्यानडा लाने प्रलोभनमा ठगी गरेको खुलेको छ। सबै ठगीमा उनले फेसबुकको प्रयोग गरेको पाइएको छ। यसअघि पनि यस्तै घटनामा तुलबहादुर पक्राउ परेका थिए, पछि धरौटीमा छुटे। त्यसलगत्तै उनी पुरानै धन्दामा लागे।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.