|

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ। करिब ७० प्रतिशत मत गनिसक्दा शीर्ष ३ सहित ५ दलले थ्रेसहोल्ड पार गर्ने पक्का भएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका अलावा मधेसकेन्द्रित दुई दल संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले थ्रेसहोल्ड पार गर्ने पक्का भएको हो।

यो समाचार तयार पार्दासम्म एमालेले सबैभन्दा बढी २५ लाख ९५ हजार मत पाएको छ। यस्तै कांग्रेसले २५ लाख ८ हजार र माओवादी केन्द्रले १० लाख २६ हजार मत पाएका छन्। यस्तै संघीय समाजवादीले ३ लाख ४७ हजार र राजपाले २ लाख ९३ हजार मत पाएका छन्।

यसपटक १ करोड ५ लाख ८७ हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसमा ५ प्रतिशत बदर मान्ने हो भने करिब १ करोड मत सदर हुनसक्ने देखिन्छ। १ करोड सदर मतको ३ प्रतिशत हुन कम्तिमा ३ लाख मत पुग्नुपर्छ। जुन प्रतिनिधिसभामा समानुपातिक सिट पाउन थ्रेसहोल्ड हो। ४ दलले ३ लाख भन्दा बढी मत पाइसकेका छन् भने, राजपा यसको सम्मुखमा छ। त्यस हिसाबले यी ५ दलले समानुपातिक सिट पाउने पक्का छ।

राप्रपा र विवेकशील संघर्षरत

संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फ उल्लेख्य मत पाएको राप्रपा यसपटक थ्रेसहोल्ड पार गर्न संघर्षरत छ। उसले हालसम्म १ लाख ६९ हजार मत पाएको छ। अझै सवा लाखभन्दा बढी मत उसलाई आवश्यक देखिन्छ, तर करिब ७० प्रतिशत मतगणना भइसकेको छ।

नयाँ दल विवेकशील साझा पनि राप्रपाजस्तै थ्रेसहोल्ड पार गर्न संघर्षरत छ। उसले १ लाख ७१ हजार मत पाएको छ। बाँकी अन्य दलको सम्भावना भने लगभग सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.