|

डडेल्धुरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थीको अग्रता भइरहेका बेला त्यसको प्रभाव प्रदेश नम्बर ७ मा पनि परेको छ। 'कांग्रेसको गढ' भनेर चिनेने प्रदेश– ७ मा कांग्रेसलाई ठूलो झड्का लागेको छ। 

नेपाली राजनीतिमा आफ्नो परिचय बनाइसकेका कांग्रेसका प्रभावशाली नेताहरू यस पटकको निर्वाचनमा पराजित भएका छन्। प्रदेश–७ बाट प्रतिनिधिसभामा १६ मध्ये कांग्रेसले एक मात्र सिट जितेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट चुनाव जितेका हुन्।

यी हुन् प्रदेश– ७ मा प्रतिनिधिसभा निर्वाचनमा हार्ने कांग्रेसका प्रवाभशाली नेता

रमेश लेखक (पूर्वमन्त्री)
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुर–३ मा एमाले दिपकप्रकाश भट्टसँग पराजित भएका हुन्। लेखक भट्टसँग २५८ मतले पराजित भएका हुन्। एमालेका भट्टले २६ हजार ३६४ मत पाए भने कांग्रेसका लेखकले २६ हजार १०६ ल्याए। पूर्वमन्त्री लेखक २०७० सालको चुनावमा कञ्चनपुर–४ बाट विजयी भएका थिए।

एनपी साउद  (पूर्वमन्त्री)
कञ्चनपुर–२ का उम्मेदवार पूर्व सिंचाइमन्त्री एनपी (नारायणप्रकाश) साउद एमालेका नरबहादुर धामीसँग ८ हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन्। धामी ३३ हजार ३२० मत प्राप्त गरी विजयी भए। साउदले २४ हजार ८९३ मत प्राप्त गरे। २०७० सालको चुनावमा कञ्चनपुर–२ बाट चुनाव जितेका साउद दुईपटक मन्त्री भएका थिए। उनी कांग्रेसको केन्द्रीय सदस्य पनि हुन्।

वीरबहादुर बलायर (बहालवाला मन्त्री)
डोटीबाट चुनाव लडेका बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर पनि पराजित भए। उनी वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेमबहादुर आले मगरसँग पराजित भएका हुन्। आलेसँग  बलायर १६३२ मतान्तरले पराजित भएका हुन्। 

एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका ओलेले ३२ हजार ५१० मत पाउँदा बलायरले ३० हजार ८७८ मत ल्याए। बलायर २०७० सालको दोस्रो संविधान सभाको चुनामा उनी  डोटी– १ विजयी भएका थिए।

नरबहादुर चन्द (बहालवाला राज्यमन्त्री)
बैतडीबाट चुनाव लडेका बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द यो पटकको चुनावमा पराजित भए। उनी वाम गठबन्धनका उम्मेदवार तथा पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीसँग पराजित भएका हुन्। 

पूर्वराज्यमन्त्री भण्डारीसँग ११ हजार २३३ मत अन्तरले पराजित भएका हुन्। एमालेका भण्डारीले ३९ हजार ५२४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी चन्दले २८ हजार २९१ मत पाए। २०७० सालमा दोस्रो संविधानसभा चुनावमा चन्द बैतडी क्षेत्र नम्बर २ बाट विजयी हुँदै उनी पहिलोपटक सांसद भएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.