|

काठमाडौं : संघीयता कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयमा गठित उच्चस्तरीय संघीयता कार्यान्वयन तथा स्वास्थ्य नीति तर्जुमा समितिले स्वास्थ्य मन्त्रालयमा ८ वटा मात्र महाशाखा राख्ने प्रस्ताव गरेको छ। 

मन्त्रालयका प्रवत्ता एवं संघीयता कार्यान्वयन तथा स्वास्थ्य नीति तर्जुमा समितिका सदस्य सचिव डा.श्रीकृष्ण गिरीका अनुसार संघीय संरचनामा स्वाथ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति विकास तथा तालिम महाशाखा, जनसंख्या तथा परिवार स्वास्थ्य महाशाखा, स्वास्थ्य सामग्री तथा पूर्वाधार महाशाखा, नीति योजना तथा समन्वय महाशाखा, चिकित्सा सेवा महाशाखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा, जनस्वास्थ्य सेवा व्यवस्थापन महाशाखा र अनुगमन तथा मूल्यांकन तथा व्यवस्थापन महाशाखा राख्ने प्रस्ताव गरिएको छ। 

'आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारी स्थानीय तहले पाइसकेको अवस्था छ। उनीहरुलाई समन्वय गर्ने काम प्रदेशले र केन्द्रले गर्छ, नीति निर्माण र अन्य समन्वयको काम मन्त्रालयमा रहने महाशाखाहरुले गर्ने गर्छ। यस्तो अवस्थामा हाल स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका महाशाखाहरु खासै भूमिका नहुने हुँदा हटाउने प्रस्ताव गरिएको छ' उनले भने। 

नयाँ संरचनामा औषधी व्यवस्था विभागलाई राखेर स्वास्थ्य सेवा विभाग र आयुर्वेद विभागलाई हटाउने तयारी गरिएको छ। स्वास्थ्य सेवा विभाग र आयुर्वेद विभागको काम भने स्वास्थ्य मन्त्रालय अन्तर्गत रहने महाशाखाहरुबाटै गराउने तयारी भइरहेको डा. गिरीले बताए।

'नयाँ संरचनामा भने एउटा मात्रै विभाग राख्ने करिब करिब सहमति भएको छ तर यो प्रस्ताव अन्तिम होइन। मन्त्रालयकै स्वरुप यकीन नभएको अवस्थामा महाशाखाको स्वरुप अन्तिम हुने कुरै भएन। हामीले यो प्रस्ताव स्वास्थ्य मन्त्रालय मात्रै रह्यो भने भन्ने हिसाबले राखेका हौं' उनले भने। 

मन्त्रालयहरु पुनर्संरचना गर्दा स्वास्थ्यसंग अरु मन्त्रालय गाभ्ने सम्भावना रहेकाले प्रस्ताव गरिएको महाशाखा नाम र स्वरुपमा पनि परिवर्तन आउन सक्ने समेत डा. गिरीले बताए।

हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत तीन वटा विभाग (स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग र औषधी व्यवस्था विभाग) रहेका छन् भने स्वास्थ्य सेवा विभाग अन्तर्गत ११ वटा महाशाखा र मन्त्रालय अन्तर्गत ३ वटा महाशाखा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.