|

रौतहट : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहटको ४ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले दुईवटामा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले १/१ क्षेत्र जितेका छन्। क्षेत्र नं. १ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झा, २ मा नेपाली कांग्रेसका मोहमद अफताब आलम, ३ मा माओवादी केन्द्रका प्रभु साह र ४ मा कांग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन्।

समृद्ध मधेस निमार्णमा सक्रिय हुन्छु : अनिल झा

रौतहट क्षेत्र नं. १ बाट निर्वाचित राजपाका सांसद अनिल झाले समृद्ध मधेस निमार्णमा सक्रिय भएर लाग्ने बताएका छन्। २१ हजार ४ सय ७२ मत ल्याएर विजयी भएका झाले संविधान संसोधन तथा मधेसको विकासका लागि प्रतिबद्ध रहेको बताए। पूर्व उद्योगमन्त्री समेत रहेका झा पहिलो पटक क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन्। यसैगरी सो क्षेत्रको प्रदेश सभा क मा राजपाका बाबुलाल साह  १० हजार ५ सय २४ मतसहित विजयी भएका छन्। प्रदेश सभा ख मा सदस्यमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादव बिजयी भएका छन्। यादवले ८ हजार ९ सय ५७ मत ल्याएका थिए।

जनताको भावना अनुसार काम गर्छु : मोहमद अफताब आलम

प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं. २ बाट  निर्वाचित संसद अफताब आलमले जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन्। पटक पटक मन्त्री भएका कांग्रेसका आलमले जनताप्रति समर्पित भएर काम गर्ने बताए। उनी हालसम्म सो क्षेत्रबाट ४ पटक निर्वाचित भइसकेका छन्। उनी २०७० सालको संविधान सभाको निर्वाचनमा आफ्नै भान्जाबाट पराजित भएका थिए। आलमले १८ हजार ८ सय ३३ मत ल्याइ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका किरण साहले १६ हजार ८ सय ६५ मत प्राप्त गरे। यस क्षेत्रको प्रदेश सभा क मा नागेन्द्रप्रसाद सिन्हाले ११ हजार ८ सय ५१ मत र प्रदेश सभा ख मा संघीय समाजवादी फोरमका रामकिशोरप्रसाद यादवले ९ हजार ५ सय २२ मत ल्याएर विजयी भएका छन्।

रौतहटलाई नमुना जिल्ला बनाउँछु : प्रभु साह

क्षेत्र नं. ३ बाट निर्वाचित सांसद प्रभु साहले रौतहट जिल्लालाई एउटा नमुना शहरको रुपमा स्थापित गर्ने बताएका छन। जिल्लाभरीका भौतिक पूर्वाधारको विकास, हरेक गाउँलाई राजमार्गसंग जोड्ने अभियान लगायतका योजना कार्यान्वयन मार्फत सुविधा सम्पन्न रौतहट निर्माण गर्न अग्रसर हुने सांसद साहले प्रतिक्रिया दिए। उनले योसहित सो क्षेत्रबाट निरन्तर रुपमा ३ पटक जितिसकेका छन्। साहले २७ हजार ७ सय ९९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार सुनिलकुमार यादवले १८ हजार २ सय ६ मत ल्याए। यस क्षेत्रको प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका कुन्दन कुशवाहले १४ हजार ३ सय २ मत ल्याएर विजयी भएका छन भने प्रदेश सभा ख मा नेकपा एमालेका नागेन्द्र यादवले ११ हजार १ सय ८२ मत ल्याएर विजयी भएका छन्।

दलअनुसार विभेद नगरी जनताको सेवा गर्छु : देवप्रसाद तिमल्सिना

रौतहट ४ बाट विजयी संसद देवप्रसाद तिमल्सिनाले कुनै पनि दल अनुसार विभेद नगरी जनताको सेवा गर्ने बताएका छन्। पहिले पनि कसैलाई विभेद नगरी जनताको सेवा गरेको हुँदा नै विजयी भएको बताउँदै अबका दिनमा पनि कुनै विभेद नगरी जनताको सेवा गर्ने सांसद तिमल्सिनाले प्रतिक्रिया दिए। क्षेत्र नं. ४  मा सांसद तिमल्सिना ५ हजार मतान्तरले विजयी भएका छन्।

२०४८ सालदेखि नयाँ अनुहारलाई जिताउँदै आएका यहाँका जनताले तिमल्सिनालाई यो पहिलो पटक तिमल्सिनालाई जिताएका हुन्। उनी २०७० सालको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए। उनले २८ हजार २ सय २८ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमालेका डा. वंशीधर  मिश्रले २३ हजार ६ मत प्राप्त गरेका थिए। यसैगरी सो क्षेत्रको प्रदेशसभा क मा नेपाली कांग्रेसका उम्मेदवार धनलाल ठोकरले १३ हजार ६ सय १० मत र प्रदेश सभा ख बाट स्वतन्त्र उमेदवार शेख कलाम आजदले ७ हजार ३ सय ९३ मत ल्याइ बिजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.