|

...भदौ महिनाको पहिलो दिन हाम्रा लागि छुट्टै हुन्थ्यो। त्यो दिनलाई भाँड्या सङ्क्रान्ति भन्थ्यौँ। त्यो हाम्रो सबैभन्दा विशेष चाड हुन्थ्यो। पहाडमा त आजभोलि पनि त्यो चाड धुमधामसँग मनाउँछन् तर यो तराईमा मनाउन छोडिसके।

म उठ्दाको त्यो बिहान घर सुनसान थियो। घरका कुनाकाप्चा सबैतिर हेरेँ। घरमा कोही थिएनन्। बाहिर कतै होहल्ला गुञ्जिरहेको सुनियो। मादल र सारंगीको धुन कानसम्म आइरहेको थियो। भाँड्या सङ्क्रान्तिको नाच सुरु भइसक्यो भनेर मैले जानेकी थिएँ अनि मेरा बा–आमा उतै गएको अनुमान गर्न मलाई गाह्रो भएन।
बाहिर निस्किएँ। आँगनको ढिकबाट हल्ला आइरहेको ठाउँतर्फ हेरेँ। थोरै तल सानो फराकिलो ठाउँमा मान्छेहरू उफ्रिरहेका थिए। त्यहाँ धुमधामले नाचगान भइरहेको थियो। खिस्स मुस्कुराउँदै केहीबेर हेरिरहेँ। टाढैबाट अरूले गरेको रमाइलो हेर्दासमेत रमाइलो लाग्दो रहेछ।

त्यहाँ जानुपर्थ्यो तर गइनँ। बेलासँग अघिल्लो दिन अलग्गै योजना बनिसकेको थियो। योजनाअनुरूप म बेलाको घर गएँ। ऊ घरमा एक्लै थिई, जाँड पिउँदै गरेकी। सँगै पिउने योजना भए पनि उसले सुरु गरिसकेकी रहिछे।

मलाई देख्नेबित्तिकै आँखाहरू ठूला पारी। भनी, ‘अलि छिटो आउनु पन्र्या। तँ जैलपन माठा गर्छै।’ 

तुरुन्तै अर्को लोटामा जाँड सारी, ‘आजै हो बाबै आमाको आँखा छली जाँड खुवान मिल्न्या।’ लोटाभरीको जाँड मलाई दिई अनि म पनि चिसो जाँड तनतनी पिउन थालेँ।

उसको घरमा जाँडले भरिएका घैँटा हुन्थे। उसकी आमोई खुब मीठो जाँड बनाउँथिन्। मेरा बा पनि जाँड खान प्रायः त्यहीँ जान्थे।

एकछिनपछि घैँटोबाट आआफैँ सारेर जाँड पिउन थाल्यौँ। त्यो बिहान पिउँदापिउँदै हामी लट्ठ पर्‍यौँ। बाहिरबाट आइरहेको बाजाको धून कानमा उफ्रियो। हामी कोठामा उफ्रियौँ, नाच्यौँ। बाहिरतिर गुञ्जिएको गीतको टुक्रा गाउने कोसिस पनि गर्‍यौँ।

नाच्दानाच्दै उसले फटाफट माथिको कपडा खोली। नाङ्गी देखिई ऊ। लरबराउँदै बोली, ‘हामीले माठा गरिहाल्यौँ। अरू सबै अघिदेखि नाच्न थालिसक्या। छिटो गर्।’
मैले पनि फटाफट आफ्नो चोली खोलेँ। आफ्नो ज्यानभन्दा बेलाको ज्यान औधी मनपर्‍यो। ऊ अग्ली, पातली थिई। छाती निकै अग्लो थियो। कम्मर पातलो र पुट्ठा ठूला देखिन्थे। शरीर लोभलाग्दो देखिन्थ्यो। उसको पुट्ठामा प्याट्ट हानेँ। मात्तिँदै बोलेँ, ‘यस्मा क्या माल भर्‍याकी छै?’

ऊ पनि लट्ठिँदै बोली, ‘सबै भित्रै फाल्दिन्छन् त... भर्रिगयो। हिहिही...’

बेलाले घोरिएर मेरो अनुहार हेरी, घाँटीमा हेरी अनि सेतो छातीमा आँखा राखी। खिसिक्क मुस्कुराई। झट्ट छातीमा हात राखी, ‘कस्ता बाटुला है। तेरो ज्यान पन गज्जबैको भैसक्या रै’छ। उसै मुखिया आजसम्म चाटिरा’का हुन्ना?’

उसको हात तुरुन्तै हटाएँ, ‘पर मर रन्डी!’ गाली गरेँ तथापि उसको प्रशंसाले मक्ख परेकी थिएँ।

त्यसपछि उसले सेतो कमेरो भिजाएको भाँडो ल्याई, ‘ल सुरु गर।’ 

त्यो सेतो कमेरो आफ्नो शरीरमा दल्न थाली। मैले पनि उसै गरेँ। पिठ्युँमा दल्न भने गाह्रो भयो। त्यसैले हामीले एकअर्काको पिठ्यँमा कमेरो दलिदियौँ।

केही समयमा नै हाम्रो जिउ कमेरो जस्तै सेऽऽऽतो भयो। अनि हामी पनि नाचगान भइरहेको ठाउँतर्फ मात्तिँदै गयौँ। त्यहाँ सबै हामी जस्तै थिए, अर्धनग्न र कमेरो जस्तै सेतै जिउ भएकाहरू। हामी त्यहाँ नाच्न थाल्यौँ, गाउन थाल्यौँः

‘बरै, कर्म छ खोटो, काँ पाउनु खुसी
हामी हौली बरै, संसारकै दुःखी
दुई दिनको चोला, आज हो भोलि
आज हे नाचौँ, मन खोली ऽऽऽ।’

दिनभर हामीले खुब मोज गर्‍यौँ। खुसुक्क बेलाको घर आउथ्यौँ। जाँड खान्थ्यौँ। फेरि नाच्न जान्थ्यौँ। 

लगभग साँझसम्मै त्यहीँ नाच्यौँ। मात्तियौँ। एकअर्कासँग जिस्कियौँ। माथि कोटका अगाडि नाच्न जाने सल्लाह भयो। सबै जना छड्के उकालो चढ्दै मंगलसेनको दरबारतर्फ लाग्यौँ। लोग्नेमान्छे, केटाकेटी, आइमाई सबै एक हुल बनाउँदै दरबारको आँगनमा पुगे। त्यहाँ झनै ठूलो हल्ला गर्दै नाच्न थाल्यौँ। हामी प्रत्येक वर्ष भाँड्या सङ्क्रान्तिको दिन यसरी नै रमाउँथ्यौँ। त्यसरी त्यहाँ नाचगान गर्नु हाम्रो रीति थियो।

कोटको फराकिलो आँगनमा मादल र सारंगीको धून गुञ्जियो। गीत बज्यो। वरिपरि सयौँ ठूला जातका मान्छेहरू मुस्कुराउँदै हेर्दै थिए हामीलाई। उनीहरूको होहल्ला पनि फैलियो। पऽऽऽर कुर्सीमा कोटका राजारानी बसेका थिए। उनीहरू पनि रमाइलो लिँदै गए। 

त्यत्राविधि चोखा जातिहरू देखेर मुखियाको याद आयो। मेरा आँखाले धेरै पटक उनलाई चारैतिर खोजे। ...धेरैपछि मैले झुलुक्क राजाको छेउनेर देखेकी थिएँ। मुखियालाई देख्दा खै किन आफ्नो शरीर नाङ्गो भएको महसुस भयो। थोरै लाज लागेजस्तो लाग्यो। उनीसँग अघिल्लो दिन बिस्तरामा खेलेका दृश्यहरू यादमा नाचे। मेरा गोडाहरू त्यही समय नाच्न थोरै अनकनाए। फेरि पनि नाच रोकिनँ। केही समयपछि नजरहरू मुखिया उभिएको ठाउँतर्फ नै कुदे तर उनी देखिएनन्।

वरिपरिको भिडमा नियाल्न थालेँ तर उनी कतै देखिएनन्। मलाई नदेखेर कतै गइहाले कि भन्ठानेँ। मनमा एक कुरा नाच्दै थियो, म अर्को तरिकाले नाच्दै थिएँ।
चोखा जातिहरूले हामीलाई नछोइनेगरी पैसा दिन्थे। त्यो दिन ठूला जातिका मान्छेले हामीलाई सुँगुर किनिदिनुपर्थ्यो। त्यो चलन नै थियो। त्यस पटक उनीहरूले एउटा सेतो सुँगुर किनिदिएका थिए। उनीहरू सुँगुरको पैसा तिर्थे तर छुन्थेनन्। सुँगुरलाई छोए उनीहरूको जात जान्थ्यो रे! तर हामी बादीहरूले उनीहरूले दिएको त्यो जिउँदो सुँगुरको जिउमा दाँतले टोक्नुपर्थ्यो। दाँतले टोकेरै मार्नुपर्थ्यो।

अर्को दिन मलाई कसैले घचघच्याएर ब्युँझायो। त्यसरी ब्युँझाउने सामान्य मान्छे थिएनन्, मुखिया थिए। मैले त कल्पना पनि गरेकी थिइनँ किनकि अघिल्लो दिन नै मुखिया मेरोमा आएर गइसकेका थिए। म हब्ब न कब्ब परेँ। एकैछिन त पत्याउनसमेत गाह्रो लाग्यो।

हामीले त्यो सेतो सुँगुरलाई टोक्न थाल्यौँ। टोक्दै सुँगुरलाई टाढा मिल्काउँथ्यौँ। सुँगुर च्वाँच्वाँ गर्दै खुबै चिच्याउँथ्यो र, भिडबाट भाग्न खोज्थ्यो। तर सुँगुरलाई कोही न कोही समाइहाल्थे। उसको चिच्याहट त्यो हल्लामा गौण थियो। उसको पीडाको त्यहाँ मूल्य थिएन। सुँगुर रक्ताम्मे हुँदै गयो, चिच्याइरह्यो। तर कसैमा दया जागेन। कसैले घाँटीमा टोके, कसैले कानमा, पेटमा, खुट्टामा। बस्, टोकिरहे पालैपालो। त्यो बखत कताकता भित्री मनमा हामी पनि जनावर हौँ झैँ लाग्यो। हामी आफैँ जनावर थियौँ या बनाइयौँ! सायद हामी मान्छे थिएनौँ। हाम्रो बनोट मात्र मान्छेको जस्तो थियो।

दाँतले टोकेर सुँगुर मार्न करिब एक घन्टा लाग्यो। त्यो समयसम्म धेरै अन्न र पैसा जम्मा भइसकेको थियो। सुँगुर मरेपछि हाम्रो नाच सकियो। हामी रक्ताम्मे मृत सुँगुर र अन्न बोक्दै घरतर्फ फर्कियौँ।

चाड त्यत्तिकै सकिँदैनथ्यो। त्यो रात वर्षभरिकै रमाइलो रात हुन्थ्यो हाम्रा लागि। सुँगुर काट्यौँ। सबैका लागि एक चुह्लो बनायौँ। मिलिजुली जाँडरक्सी खायौँ। नाच्यौ। गायौँ। लगभग बिहानसम्मै त्यो सिलसिला चलिरह्यो।

अर्को दिन मलाई कसैले घचघच्याएर ब्युँझायो। त्यसरी ब्युँझाउने सामान्य मान्छे थिएनन्, मुखिया थिए। मैले त कल्पना पनि गरेकी थिइनँ किनकि अघिल्लो दिन नै मुखिया मेरोमा आएर गइसकेका थिए। म हब्ब न कब्ब परेँ। एकैछिन त पत्याउनसमेत गाह्रो लाग्यो। कतै सपना त होइन!

आफ्नै मुखमा रक्सीको गन्ध बाँकी रहेको महसुस गरेँ। मातसमेत थोरबहुत बाँकी थियो। केही बोल्न खोजेँ। बोल्नुअगावै उनको थप्पड बायाँ गालामा पर्‍यो, ‘रन्डी, हिजो मस्तै रक्सी क्यान खाई। तँलाई क्यान कमेरो घस्नुपर्‍यो।’

दाह्रा किट्दै उनी जुरुक्क उठे। फनक्क घुमे। सरासर हिँडे त्यहाँबाट। म उठेर बाहिरसम्म पनि जान सकिनँ। पलमै घोडाको टापको आवाज सुनियो। टापको आवाज पातलिँदै गयो र शून्यमा बिलायो। आमोई हतारिँदै भित्र पसिन्। मेरो नजिकै आएर घचघच्याउँदै सोधिन्, ‘क्या भयो? क्यान यति बिहानै आयाका रैछन्? क्यान छिट्टै गया?’

मेरा आँखाबाट थोरै आँसु चुहियो। सबिस्तार मुखियाका शब्द र झापडबारे बताएँ। आमोई त मुस्कुराइन् पो! गाला थपथपाइन्। आँसु पुछिदिइन्, ‘लाटी, क्यान रुन्छै? यो त खुसीको कुरा हो। तँ बिस्तारै था पाइहाल्छै।’

आमोईको कुरा अचम्मको लाग्यो। त्यो बेला मैले केही अर्थ्याउन सकिनँ।

(स्रष्टा विवेक अोझाको उपन्यास 'एेलानी'बाट। यस पुस्तकको मंसिर २९ गते शुक्रबार राजधानी काठमाडौँमा लोकार्पण हुँदै छ।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.