समानुपातिकबाट एमाले र माओवादीका थोरैमात्र पुरुष सांसद हुने

|

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ। अहिले देशका धेरै जिल्लामा समानुपातिक निर्वाचनपद्धतितर्फको मतगणना भइरहेको छ। नेकपा एमाले सबैभन्दा धेरै ३४ प्रतिशत मतसहित अग्रस्थानमा छ भने कांग्रेसले करिब ३३ र माओवादीले १४ प्रतिशत मत ल्याएका छन्।

दलहरुले समानुपातिक पद्धतितर्फ ल्याएको मतको आधारमा ११० जना सांसद चयन हुन्छन्। प्रत्यक्षतर्फबाट १६५ र समानुपातितर्फबाट ११० गरी प्रतिनिधिसभा २७५ सदस्यीय हुनेछ। अब धेरैको ध्यान समानुपातिक निर्वाचन पद्धतितर्फबाट चयन हुने ११० जनामा कुन दलले कति सिट पाउँछन् भन्नेतर्फ छ।

संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरिएकाले दलहरुले समानुपातिक पद्धतितर्फबाट धेरै महिला प्रतिनिधित्व गराउनुपर्नेछ। किनभने प्रत्यक्षतर्फबाट चुनाव जित्ने महिलाको संख्या न्युन छ। 

करिव दुई तिहाई सिटमा विजय हासिल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धनले समानुपातिक निर्वाचन प्रणालीबाट पाँच भन्दा कम पुरुषको मात्र प्रतिनिधित्व गराउन सक्ने देखिएको छ। 

हाल जारी समानुपातिक निर्वाचन प्रणालीको मत परिणामको प्रवृत्ति हेर्दा एमालेले करिव ३४ प्रतिशत र नेकपा माओवादी केन्द्रले १४ प्रतिशत मत पाउने देखिन्छ। मत परिणाम प्राप्त हुने गति र प्रवृत्ति यही देखिएमा एमाले र माओवादीले संविधान बमोजिम आ आफ्नो दलबाट संसदमा प्रतिनिधित्व गर्ने जम्मा सदस्यको ३३ प्रतिशत महिला हुनै पर्ने प्रावधानलाई कार्यान्वयन गर्न पुरुषको प्रतिनिधित्व थोरै संख्यामा मात्र गराउन सक्छन्। 

वाम गठबन्धनमा आवद्ध दल एमाले एक्लैले समानुपातिकमा ३४ प्रतिशत मत प्राप्त गर्ने देखिन्छ। थ्रेस होल्ड (३ प्रतिशत न्युनतम मत सीमा) नपुर्‍याउने दलहरुको मत करिब १० प्रतिशत हुने हुँदा त्यसबाट प्रतिनिधित्व हुनुपर्ने सांसद संख्या पनि थ्रेस होल्ड पार गरेकै दलहरुमा थपिन्छ। यसरी थपिदा ठूलो दलको हैसियतले एमालेमा करिव चार प्रतिशत थपिने देखिन्छ। यो चार प्रतिशतसमेत जोड्दा एमालेले पाउने करिव ३८ प्रतिशत मतबाट ४२ जनासम्म सांसद प्रतिनिधित्व हुन सक्छ। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० सिट ल्याएको एमालेलाई समानुपातिकमा पाउने करिव ४२  सांसद गरी एक सय २२ जनाको ३३ प्रतिशत महिला अनिवार्य राख्नु पर्ने हुन्छ। एमालेबाट प्रत्यक्षमा झापा २ र स्याङ्जा २ बाट गरी दुई महिलाको प्रतिनिधित्व छ। त्यसैले एमालेबाट तीन जनाभन्दा बढी समानुपातिकको बन्द सूचीमा नाम रहेका पुरुषको प्रतिनिधित्व सम्भव नहुन सक्छ। 

एमालेको समानुपातिकको बन्दसूचीमा नाम भएका ३९ जना महिला सांसद सदस्य हुन सक्ने सम्भावना देखिएको छ।

नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३६ जनाले विजय हासिल गरेका छन्। समानुपातिकमा माओवादी केन्द्रले १४ प्रतिशत मत पाउने देखिन्छ। थ्रेसहोल्ड नकटाउने दलले पाएको मध्येबाट माओवादी केन्द्रलाई दुई प्रतिशत मत थप हुन सक्छ। यसरी माओवादीको भागमा करिव १६ प्रतिशत मत आए उसले समानुपातिकमा १७ जना सांसद पाउँछ।

माओवादीका प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिकबाट आउने १७ गरी ५३ सांसद हुने दखिन्छ। यस्तो अवस्थामा माओवादीले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउन १८ जनासम्म महिला सांसद पुर्‍याउनुपर्छ। माओवादीबाट ललितपुर तीनबाट पम्फा भुसाल, रुकुम पुर्वबाट कमला रोक्का र कञ्चनपुर एकबाट बिना मगर गरी तीन जना निर्वाचित भइसकेको अवस्थामा १५ महिला र २ पुरुष मात्रको प्रतिनिधित्व हुने देखिन्छ।

समानुपातिकतर्फ विहीबार दिउँसो २ बजेसम्म ६० जिल्लाको मतगणना भइसकेको छ। एक करोड पाँच लाख मत खसेकोमा हालसम्म करिव ८० लाख मत गणना गरिसकिएको छ। 

कांग्रेसबाट पुरुषको प्रतिनिधित्व करिव ५० प्रतिशत नै हुने

नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचनमा २३ सिटमा विजय हासिल गरेको छ। उसले समानुपातिक निर्वाचन प्रणालीमा करिब ३३ प्रतिशत मत ल्याउने देखिन्छ। थ्रेस होल्ड नकटाउने दलले पाएको ४ प्रतिशत मत कांग्रेसमा थपिने देखिन्छ। ३७ प्रतिशत मत पाएको कांग्रेसको भागमा करिव ४० जना समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारले प्रतिनिधित्व गर्नेछन्।

प्रत्यक्षको २३ र समानुपातिकको ४० गरी ६३ सदस्य पाउने कांग्रेसबाट एक जना पनि महिलाले प्रत्यक्षमा निर्वाचन जितेका छैनन्। ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न कांग्रेसले २१ जना महिलालाई समानुपातिकबाटै समावेश गर्नुपर्ने देखिन्छ। यस्तो अवस्थामा कांग्रेसले भने १९ जना पुरुषलाई सांसदमा सिफारिस गर्नुपर्छ। 

फोरमबाट एक मात्र पुरुष र राजपाबाट सबै महिला पर्ने

प्रत्यक्ष निर्वाचनमा १० सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा पाँच प्रतिशत र थ्रेसहोल्ड नकटाउने दलले पाएको मत मध्येबाट एक प्रतिशत थप पाउने देखिन्छ। यस्तो अवस्थामा फोरमको समानुपातिकमा पाउने ६ प्रतिशत मतको आधारमा ७ जना प्रतिनिधित्व गराउन पाउँछ। १७ जनासम्म सांसद पाउने फोरमले ३३ प्रतिशत महिला पुर्‍याउन ६ महिला र एक पुरुषको प्रतिनिधित्व गराउनुपर्नेछ।

प्रत्यक्षतर्फ ११ सिट जितेको राष्ट्रिय जनता पार्टीले करिव चार प्रतिशत मत समानुपातिकतर्फ पाउने देखिन्छ। समानुपातिकमा चार सिट पाउने अवस्थामा राजपासँग १५ सांसद हुने देखिन्छ। यस्तो अवस्थामा राजपाले पाउने चार सिटमा चारैजना महिलालाई समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने सांसद सदस्यमा सिफारिस गर्नुपर्ने वाध्यता छ। 

प्रत्यक्षमा एक सिट झापा ३ बाट उम्मेदवार बिजयी गराउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टी र एक सिट पनि बिजयी गराउन नसकेको साझा बिबेकशील पार्टीले भने थ्रेस होल्ड नकटाउने लगभग पक्का भएको छ। प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारलाई सांसदमा सिफारिस गर्न समानुपातिकमा खसेको कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्छ।

सांसद बन्न सक्ने समानुपातिकका यी पुरुष उम्मेदवार 

एमालेले करिब तीन जना मात्र समानुपातिकको बन्दसूचीमा राखेका पुरुष उम्मेदवारलाई सांसदमा सिफारिस गर्न पाउँछ। जस अनुसार सबैभन्दा बढी करिव ३१ प्रतिशत प्रतिनिधित्व गर्ने खस आर्य समूहबाट मुकुन्द न्यौपाने, करिव २९ प्रतिशत प्रतिनिधित्व हुने आदिवासी जनजाति समूह र करिव चार प्रतिशत प्रतिनिधित्व गर्नुपर्ने पिछडिएको क्षेत्रबाट जयन्द्रसिंह ऐतवाल र करिव ६ प्रतिशत प्रतिनिधित्व हुने थारु समूह र करिव चार प्रतिशत प्रतिनिधित्व हुने अपाङ्गताबाट मझीलाल थारु थनेत मात्र सांसद बन्ने सम्भावना छ।

माओवादीबाट दुई जनासम्म पुरुषले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व पाउँछन्। यस्तो अवस्थामा माओवादीले खसआर्य समूहबाट हितराज पाण्डेको सम्भावना बढी छ। यो समूहबाट करिव ३१ प्रतिशतको प्रतिनिधित्व हुन्छ। खस आर्य र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रेमबहादुर सिंह र खस आर्य र अपाङ्गताबाट प्रतिनिधित्व गर्ने चुडामणि खड्कामध्ये एकको प्रतिनिधित्व हुने देखिन्छ।

एक जना मात्र पुरुषको प्रतिनिधित्व हुनसक्ने संघीय समाजवादी फोरमले भने खस आर्य समूहबाट परशुराम बस्नेत र खस आर्य र पिछडिएको क्षेत्रबाट वीरबहादुर शाहीमध्ये एकलाई सिफारिस गर्ने देखिन्छ।

कांग्रेसबाट समानुपातिकमा प्रतिनिधित्व हुने पुरुष उम्मेदवारहरु

खस आर्य समूह र अपाङ्गताबाट केन्द्रीय सदस्य किशोरसिंह राठौर, खस आर्य पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट, खस आर्यबाट केन्द्रीय सदस्यद्वय वालकृष्ण खाँड र दिलेन्द्रप्रसाद बढु, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डेको सम्भावना देखिन्छ। 

आदिवासी जनजातिबाट केन्द्रीय सदस्य बहादुरसिंह लामा तथा कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जीपछिरिङ लामा, दिव्यमणि राजभण्डारी र  जीवनप्रेम श्रेष्ठ समानुपातिक प्रणालीबाट सांसद सदस्यमा सिफारिस हुने सम्भावना छ। 

मधेसी समूहबाट विनोदकुमार चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार रायको सांसद बन्ने सम्भावना छ। दलित समूहबाट केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा, थारु समूहबाट पद्मनारायण चौधरी र मुश्लिमसमूहबाट अतहर कमाल मुसलमान समानुपातिकको बन्दसूचिबाट सांसदमा सिफारिस हुने सम्भावना छ। कांग्रेसले समानुपातिकमा ४१ सिट पाएमा पुरुष २० जना र ४० सीट पाएमा पुरुष १९ उम्मेदवार मात्र सांसदमा सिफारिस हुन सक्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.