|

काठमाडौं: प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन योजना’ सार्वजनिक गरेको छ। सरकार र निजी क्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने लक्ष्य बनाएको हो।

बुधबार सम्पन्न ४१औँ साधारणसभाबाट पास गराएपछि  भिजन ५ मिलियन योजनालाई सार्वजनिक गरेको हो। नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गरी पर्यटकलाई नेपाल ल्याउनका लागि पहलकदमी गर्ने जनाएको छ। संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहस्राब्दी विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने योजाना सार्वजनिक गरिएको हो।

‘अब बन्ने सरकारले पनि सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, हामीले पनि त्यही लक्ष्यलाई आधार बनाएका छौं’, पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भने। पाटाले नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने एक जना पर्यटन व्यवसायीलाई प्रदान गर्ने पाटा ‘पर्सनालिटी अवार्ड–२०१७’ बाट वरिष्ठ पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यलाई सम्मान गरेको छ। पाटा नेपाल च्याप्टरले यो वर्षबाट ‘वेस्ट स्टुडेन्ट्स च्याप्टर अवार्ड’बाट नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज्मको स्टुडेन्ट्स च्याप्टरलाई प्रदान गरेको छ। 

नयाँ नेतृत्व
पाटाको ४१औँ साधारणसभाबाट पर्यटन व्यवसायी सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। पाटाको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल  पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, उपाध्यक्षमा नेपाल वायु सेवा निगमका कर्पोरेट निर्देशक जनकराज कालाखेती, महासचिवमा विभूतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्। 

त्यस्तै, सदस्यमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रतिनिधि पदेन सदस्य रहेका छन्। अन्य सात जना निजी क्षेत्रबाट सदस्य चयन भएका छन्।

पाटाले हिमालयन ट्राभल मार्ट तथा इन्टरनेशनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फरेन्स– २०१८ नेपालमा आयोजना गर्ने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.