विजयी ९ सहित २८ जनाले मात्र बचाए जमानत

|

  • भूपाल थापा-

कपिलवस्तुः सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेशसभामा उठेका १५३ जना उम्मेदवारको जमानत जफत भएको छ। 
निर्वाचन ऐनअनुसार कुल खसेको मध्ये सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान छ। प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएका नौ उम्मेदवारसहित २८ जनाले मात्र जमानत जोगाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रतिनिधिसभातर्फ ४६ र प्रदेशसभातर्फ १०७ उम्मेदवारले आफ्नो जमानत जोगाउन असफल रहे। प्रतिनिधिसभाका आठ र प्रदेशसभाका २० उम्मेदवारले मात्र जमानत जोगाएका छन्। 

क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका १७ मध्ये तीन जनाको मात्र जमानत बचेको छ। नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक जनता कांग्रेस, नेपाल जनता पार्टी, युवा किसान पार्टीलगायतका पार्टीसहित स्वतन्त्रसमेत गरी १४ जनाको जमानत जफत भएको छ। 

त्यस्तै, क्षेत्र नम्बर– १ को ‘क’मा कांग्रेस र वाम गठबन्धनका १३ उम्मेदवार तथा सोही क्षेत्रको ‘ख’मा विजयी बनेको संघीय समाजबादी फोरम, राजपा, वामगठबन्धन, स्वतन्त्र उम्मेदवार अर्साउद्दीन मुसलमानबाहेक २४ जनाको जमानत जफत भएको छ।

क्षेत्र नम्बर– २ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका १५ मध्ये दुई जनाको मात्र जमानत जोगिएको छ। राजपा, संघीय समाजवादी फोरम, राजमो, नयाँ शक्ति पार्टी नेपाललगायतका दल र स्वतन्त्र गरी १३ जनाको जमानत जफत भएको छ। 

क्षेत्र नम्बर– २ को ‘क’मा वाम गठबन्धन र कांग्रेसबाहेक १७ जना तथा २ को ‘ख’मा वाम गठबन्धन, कांग्रेस र स्वतन्त्र उम्मेदवार राजुप्रसाद अर्यालबाहेकले धरौटी जोगाउन सकेनन्।

क्षेत्र नम्बर– ३ मा प्रतिनिधिसभातर्फ २२ जना उम्मेदवारमध्ये तीन जनाको मात्र जमानत जोगिएको छ। बहुजन समाजवादी पार्टी, राजमोलगायतका दल र स्वतन्त्र गरी १९ जनाकोे धरौटी जफत भएको छ। 

यस्तै, क्षेत्र नम्बर– ३ को ‘क’मा वाम गठबन्धन, राजपा, कांग्रेस, फोरमका उम्मेदवारबाहेक २० उम्मेदवार तथा ३ को ‘क’मा कांग्रेस, फोरम, राजपा र स्वतन्त्रबाहेक १८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताए।

कपिलवस्तुबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल १८१ जनाले उम्मेदवारी दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.