|

वीरगञ्ज :  तलब भत्ताको विषयलाई लिएर पर्सामा म्यादी प्रहरीहरु आन्दोलित भएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भर्ना भएका म्यादी प्रहरीहरु सरकारले तोकेजति तलब–भता नपाएको भन्दै आन्दोलित बनेका हुन्।

म्यादी प्रहरीहरुले वीरगञ्जको घण्टाघरमा बिहीबार दिउँसो चक्काजामसमेत गरे। आगामी पुस ७ गतेसम्म ५५ दिनको लागि नियुक्त भएका म्यादी प्रहरीलाई सरकारले समय आगावै बिहीबारदेखि हटाएको र रकम पनि कम दिइएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन्।

उनीहरुले ५५ दिनका लागि आफुहरु नियुक्त भएको बताउदै ६१ हजार रुपैयाँ पाउनुपर्नेमा ४५ हजार रुपैयाँ मात्र दिएको बताएका छन्। तलब भताको कम भएको विषयमा जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरे पनि प्रहरीले बल प्रयोग गरेर हटाएपछि म्यादी प्रहरीले वीरगञ्जको मुख्य राजमार्ग घण्टाघर नजिकै सडक अवरुद्ध पारेका हुन्।

पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले सरकारको नियम अनुसार नै म्यादी प्रहरीलाई तलब भत्ता दिइएको बताए। ५५ दिनको लागि नियुक्त गरिए पनि निर्वाचन सकिएकाले गृह मन्त्रालयको आदेश अनुसार ४५ दिनको तलब भत्ताबापत ४८ हजार रुपैयाँ दिएर विदाइ गरिएको रेग्मीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.