कांग्रेसलाई साथमा लिएर जान्छौँ: भट्टराई

|

काठमाडौं: २१ मंसिरमा सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन चार दिन बाँकी हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली विराटनगर पुगेर कांग्रेसमाथि खनिए। अहिलेको अवस्था देखेर कांग्रेसका संस्थापक वीपी कोइराला अहिलेसम्म जीवित भएका भए एमालेमा प्रवेश गर्थे भन्दै कांग्रेसप्रति कटाक्ष गर्न भ्याए, जसको निकै चर्चा पनि भयो।

उनले कांग्रेसभित्र वीपी केइरालाका चेला नभएको प्रतिक्रिया दिए। उनले भनेका थिए, ‘वीपीले भनेको समाजवाद भन्यो भने झसंग हुन्छन्, वीपीले भनेको राष्ट्रवाद भन्यो भने खोक्रो भन्छन्, असली चेला हामी भएका छौँ, वीपीका चेला कांग्रेसमा छैनन्।’ माथिल्लो ओहदामा वीपीका असली चेला नभएर अलोकतान्त्रिक चरित्र भएकाहरूको हालीमुहाली भएको बताउँदै उनले देउवाप्रति कटाक्ष गरेका थिए।

कांग्रेसप्रति उनी यतिमै सीमित थिएनन्। विराटनगरमा भएको कार्यक्रमको दुई दिनअघि आफ्नो गृहनगर झापाको दमकमा ओलीले कांग्रेस सभापित तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘भुलचुकले भएको प्रधानमन्त्री’ भन्नसमेत भ्याइसकेका थिए। उनी देउवालाई पटक पटक निर्वाचन सार्ने खेलमा लागेको अरोप लगाउँदै आएका थिए।

यो क्रम दोस्रो चरणको निर्वाचनको दिन २१ मंसिरसम्म नै चल्यो। निर्वाचनका दिन ओली र देउवाको जुहारी नै चल्यो। गृहजिल्ला डडेल्धुरमा भोट हालिसकेपछि ओलीप्रति कटाक्ष गर्दै देउवाले ओलीले अझै चुनाव सर्छ भन्न बेर लगाउँदैनन् भन्ने प्रतिक्रिया दिए। तर ओली पनि के कम! उनले पनि देउवाले अनेक बहाना गरेर पनि चुनाव सार्न नसकेको आरोप लगाए।

निर्वाचन सकिएपछि ओली केही नरम देखिए। निर्वाचनपछि उनी खासै सार्वजनिक कार्यक्रममा देखापरेका छैनन्। गएका केही कार्यक्रममा पनि उनले राजनीतिक भाषण भने गरेका छैनन्। चुनावपछिका भाषणहरूमा ओलीले विकास र समृद्धिमा जोड दिँदै आएका छन्। चुनावलगत्तै ललितपुरमा भएको एक कार्यक्रममा ओलीले वाम गठबन्धनको जीतमा कुनै प्रतिक्रिया दिएनन्।

बरु सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ नदिएर टारे। चुनाव जितेपछि गृहजिल्ला झापा पुगेका ओलीले कांग्रेसप्रति एक शब्द पनि नकारात्मक टिप्प्णी गरेनन्। बरु उनले कांग्रेसलाई साथ लिएर विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता जनाए। उनले भने, ‘प्रतिपक्षको विश्वास र मन जितेर राष्ट्रलाई एकताबद्ध, विकासोन्मुख र समृद्धितर्फ अघि बढाउन हातेमालो गरेर अघि बढ्नेछौँ।’

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणनाको नतिजा आइसक्दा एमालेले सबैभन्दा धेरै ८० सिट जितेको छ भने हाल भइरहेको समानुपातिक निर्वाचन पद्धतितर्फको मतगणनामा पनि एमाले करिब ३४ प्रतिशत मतसहित अगाडि छ। आगामी संसदको सबैभन्दा ठूलो दल बन्न लागेको एमालेका अध्यक्ष ओली चुनावी नतिजासँगै आफ्नो बोली र व्यवहारमा सुधार ल्याउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

चुनावअघिसम्म अध्यक्ष ओली निर्वाचनलक्षित प्रत्येक कार्यक्रममा कांग्रेस र प्रधानमन्त्री देउवाप्रति आफ्नो समय खर्च गर्ने गर्थे। तर चुनावपछि ओलीले आफ्नो भाषण परिवर्तन गरेका छन्। कांग्रेसप्रति कडा रूपमा प्रस्तुत हुने ओली पछिल्लो समय केही नरम बनेका छन्। चुनावअघिसम्म कांग्रेसप्रति आगो ओकल्ने ओलीले चुनाव सकिएपछि कांग्रेसप्रति केही प्रतिक्रिया दिएका छैनन्। ओलीले यसरी चुनावपछि कांग्रेसप्रति नरम बन्नुले विभिन्न विश्लेषण गर्न थलिएको छ।

केही राजनीतिक विश्लेषकहरूले ओलीको यो व्यवहारलाई राजनीतिक परिपक्वताको रूपमा हेरेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ओलीको यो गुणलाई नेतामा हुनुपर्ने गुणमध्येको एक भएको बताए। 'चुनावअघि सबै पार्टीले आफ्नो पक्षमा मत तान्न विपक्षी पार्टीप्रति आक्रामक नै बन्छन्। यो स्वाभाविक हो। तर ओलीजीले चुनावपछि जुन व्यवहार देखाउनुभएको छ, यो राम्रो पक्ष हो', उनले भने, 'चुनावताका हामीकहाँ मात्र होइन, संसारका जुनसुकै देशमा विपक्षीप्रति आक्रामक बन्छन् तर पछि सबैले अर्को पार्टी सम्मान गर्छन्।'

ओलीले राजनीतिक परिपक्वता देखाएको आचार्यको भनाइ छ। उनले भने, 'ओलीजीले कांग्रेसलाई कमजोर मान्नुभएन। यो उहाँको राम्रो पक्षा हो। प्रत्यक्षमा तेस्रो भए पनि समानुपातिकमा कांग्रेसले एमालेलाई पछ्याइरहेको छ। त्यस कारण ओलीजीले कमजोर नसम्झनुभएको हो।' कांग्रेसलाई चटक्क छाडेर अघि बढ्न नसकिने भएपछि सहजताका लागि पनि ओली कांग्रेसप्रति नरम बनेको आचार्यले थाहाखबरसँग बताए। निर्वाचनपछि एमाले पहिलो दल बन्ने करिब निश्चित भएपछि उसले कांग्रेसलाई नजिक बनाउन खोजिरहेको उनले बताए।

अब अफूहरू कांग्रेसलाई पनि सँगसँगै लिएर अघि बढ्ने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। 'कांग्रेस हाम्रो दुश्मन होइन। हामी कांग्रेसलाई पनि सँगै लिएर अघि बढ्छौँ। कांग्रेसले हामीमाथि प्रतिपक्षमा हुँदा गरेजस्तो व्यवहार हामी गर्दैनौँ', उनले भने, 'प्रतिपक्षले पाउने संवैधानिक हकअनुसार हामी अघि बढ्छौँ।'

उनले कांग्रेसप्रति अफूहरू कहिल्यै कडा नभएको बताए। 'कांग्रेससँग हामी कहीले पो कडा भएका थियौँ र! हामी कांग्रेसलाई सधैँ साथमा लिएर अघि बढ्छौँ', उनले भने। चुनावअघि पार्टी अध्यक्ष ओलीले कांग्रेसप्रति दिएको अविव्यक्तिका विषयमा भट्टराईले त्यो चुनावी भाषण मात्र भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.