|
फाइल फोटो

डडेल्धुराः नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अब बन्ने वामपन्थीको सरकारले देशलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउने बताएका छन्।

बिहीबार नेकपा एमाले डडेल्धुराले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा रावलले यो निर्वाचनमा वाम गठबन्धनले महत्त्वपूर्ण सफलता हासिल गरेकाले अब देशलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउन महत्त्वपूर्ण पाइला चाल्ने बताएका हुन्। 

अछाम निर्वाचन क्षेत्र नम्बर– १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सरकारी नियुक्ति र मन्त्रिपरिषदबाट महत्त्वपूर्ण निर्णय गर्नु राजनीतिक संस्कार र नैतिकता नभएको बताएका छन्।

प्रदेशसभा र प्रतिनिधिसभाका वाम गठबन्धनले सरकार बनाउने उल्लेख गर्दै उनले त्यो सरकारको देशलाई समृद्ध बनाउने एक मात्र उद्देश्य रहने बताए।

विश्वमा कसैको अगाडि नझुक्ने नेपालीका रूपमा नेपाली र  नेपाल संसारभरि चिनियून् भन्ने दृष्टिकोणबाट काम गर्ने उद्देश्य रहेको उनले बताए।

कांग्रेसप्रति लक्षित गर्दै उनले केही पार्टीका मानिसहरूले कम्युनिष्टहरू एक भए आधिनायकवाद आउने, जनताका अधिकारहरू कुण्ठिन हुन्छन् भन्ने प्रचार गरेको र त्यो प्रचारको कुनै अर्थ नभएको उनको तर्क थियो। 

नेपालको संविधानअनुसार अगाडि बढ्ने बताउँदै रावलले आम नेपाली जनताको जीवनलाई समृद्ध बनाउने कार्यमा लाग्ने धारणा राखे।

कम्युनिष्टहरू अल्पमतको पनि कदर गर्न जान्ने भन्दै उनले अब बन्ने गठबन्धनको सरकारले विपक्षीका जायज मागहरू सम्बोधन गर्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.