|

काठमाडौं: कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले आगामी माघ ११ बाट क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरूको जानकारी दिन र नेपालमा भित्रिएका प्रविधिहरूको प्रचार प्रसार गर्नका लागि मेलाको आयोजना गरिएको क्यानका महासचिव विश्‍वराम बलामीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराए। 

सन् १९९५ देखि काठमाडौंमा क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यानले यस वर्ष २४औँ संस्करणको मेला आयोजना गर्न थालेको हो। यस वर्ष पनि क्यान इन्फोटेकको शीर्ष प्रायोजक सुविसु केबलनेट प्रा.लि. रहेको तथा एसोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारिक बिक्रेता लाइफ कम प्रा.लि. रहेको क्यानले जनाएको छ।

केके हुन्छ क्यान मेलामा?
यस वर्षको क्यान मेलामा २२२ स्टलहरू रहने भएका छन्। क्यान मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर पाँचवटा ब्रान्डिङ प्रदर्शनी कक्षहरू रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरू १४ र फुड स्टलहरू १० रहने क्यानले जनाएको छ। 

'सुविसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला'को शीर्ष प्रायोजक सुविसुले आफ्ना ग्राहकहरूलाई सेवासम्बन्धी जानकारी प्रदान गर्ने जानकारी गराएको छ। एसोसिएट प्रायोजक मोटोरोलाले नेपालका लागि विभिन्न फोनहरू प्रदर्शन गर्ने जनाएको छ। त्यस्तै, नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ फोर जी पनि प्रदर्शन गर्नेछ।

यस पटकको प्रदर्शनीमा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिएको क्यानले जनाएको छ। यसअन्तर्गत ब्रोडब्याण्ड इन्टरनेट सेवामा सहुलियत दिने जानकारी गराइएको छ।

'सुविसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला' अवलोकनका लागि सर्वसाधारणहरूलाई प्रवेश शुल्क १०० ररुपैयाँ र विद्यार्थीहरूलाई ५० रुपैयाँ तोकिएको छ। २०७४ माघ १४ गते आइतबारको दिनलाई विजनेस डेको रूपमा घोषणा गरिएको छ। उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताहरूका लागि  १०० रुपैयाँ तोकिएको छ। उक्त दिन विशेषगरी विजनेस हाउसहरूले आफ्नो व्यापार प्रवर्द्धनका लागि विभिन्न डिलर र भेन्डरहरूसँग प्रत्यक्ष रूपमा विजनेस डिल गर्न सक्ने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.