|

लहान : भौतिक सम्पत्तिको आधारमा सामाजिक हैसियत मापन गरिने हाम्रो समाजमा धन सम्पत्ति जोड्न दिनरात दौडिरहेका हुन्छन्। पुर्ख्यौली सम्पत्तिको हिस्सामा किचलो भए कतिपयले बरु मुद्दा लड्दालड्दै सम्पत्ति सिध्याउँछन्, सहोदर अंशियारसँग मुद्दा मामिला गर्न छोड्दैनन्।

तर सिरहाको गोलबजार नगरपालिका १ मुक्सारमा सामान्य व्यवसाय गरेर जीविका चलाइरहेका ४५ वर्षीय रामकुमार महतोले आफूले दुःख गरेर जोडेको करिब पाँच कठ्ठा जग्गा  गाउँको स्वास्थ्य चौकीलाई दान गरेर ‘धन होइन, मन हुनुपर्छ’ भन्ने देखाएका छन्।

गाउँमा टेण्ट, डिजे साउण्ड सञ्चालनको आम्दानीबाट घरखर्च कटाएर महतोले जोडेको चार कठ्ठा १७ धुर जग्गा गाउँको स्वास्थ्य चौकीलाई दान गरेका छन्। उक्त जग्गाको मूल्य अहिलेको भाउमा करिब २५ लाख रुपैयाँ हुने स्थानीय गाउँलेहरु बताउँछन्।

स्वास्थ्य चौकी नबन्ने भएपछि दान

गोलबजार नगरपालिका १ मुक्सारको अन्ध्रामा रहेको साविकको उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भएपछि बिरामीहरुको चाप अनुसारको भवन बनाउन पछिल्लो चार वर्षदेखि जग्गाको खोजी भइरहेको थियो।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग, जिल्ला स्वास्थ्य कार्यालयको टोली चार पटक जग्गाको लागि गाउँ आएपनि जग्गा दिन कोही तयार थिएनन्। स्थानीय वुद्धिजीवी तथा शिक्षक सागर पूर्वेका अनुसार आफ्नै गाउँठाउँका बिरामीका लागि बन्ने स्वास्थ्य चौकीका लागि जग्गा दिने कोही नभेटेपछि उनले दुःखले जोडेको जग्गा दान गरेका हुन्।

‘सम्पत्ति मानिसका लागि बाँचुञ्जेलसम्मका लागि मात्र हो, मरेपछि पनि गाउँका मानिसले सम्झिने भएकाले जग्गादान गरेको हुँ’ जग्गादाता महतोले भने। उनको निर्णयमा पत्नी चन्द्रकलादेवी महतोले पनि सहमति जनाएपछि स्वास्थ्यचौकी लाई जग्गादान गर्ने तारतम्य मिलेको शिक्षक पूर्वेले बताए।

भवनको शिलान्यास सम्मान

स्वास्थ्य चौकीका लागि २५ लाख रुपैयाँ बराबरको जग्गादान गर्ने महतोलाई बुधबार गाउँमा गोलबजार नगरपालिकाका प्रमुख देवानाथ साहले एक समारोबीच प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन्। सम्मानसँगै स्वास्थ्य चौकी भवनको नगरप्रमुख साहले शिलान्यास समेत गरेका छन्।

भवन निर्माणपछि मुक्सार वरिपरीका करिब एक दर्जन गाउँका सेवाग्राहीलाई सहज हुने स्वास्थ्य चौकी प्रमुख जगत महतोले बताए। प्रमुख महतोका अनुसार मुक्सार स्वास्थ्य चौकीमा गोला, भुल्के डाँडा, चौधरी टोल, चारघरे, अन्ध्रा, बैरीबाँध, बलडाँडा, टोड्के, जमदह, पहिरे डाँडा, धनडाँडा, ठकुरी टोल र रखाल डाँडाका बिरामीहरु आधारभूत स्वास्थ्य सेवा आउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.