|

  • अर्जुन सुवेदी-

सुनसरीः सुनसरीमा रहेका चार प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमध्ये एमाले एक सिटमा सीमित भएपछि असन्तुष्टि बढेको छ।

एमाले कार्यकर्ताले बिहीबार एमाले सचिव भीम आचार्यविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन्। बिहीबार सुनसरी क्षेत्र नम्बर– ३ ‘क’बाट प्रदेशसभाका लागि निर्वाचित लिलम बस्नेतको विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताहरू आचार्यविरुद्ध नाराबाजीमा उत्रिएका हुन्। 

विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताले ‘भीम आचार्य चाहिँदैन, पार्टी हराउन पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए। बिहीबार बस्नेतको विजय र्‍याली निकालिएको थियो। विजयी उम्मेदवार बस्नेतलाई इटहरीमा युवासंघका कार्यकर्ताहरूले १० किलोको माला लगाइदिएका थिए। 

इटहरीबाट सुरु भएको र्‍याली खनार, सोनापुर, मधेली, चादबेला हुँदै दुहवी पुगेको थियो। र्‍यालीमा सहभागी कार्यकर्ताले आचार्यविरुद्ध नाराबाजी गरेका हुन्। वाम गठबन्धनको आधार मानिएका केही क्षेत्रमा जीत हात पार्न नसकेपछि एमालेमा असन्तुष्टि बढेको हो। खासगरी स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा सुनसरी क्षेत्र नम्बर– २ र ४ मा प्रतिनिधिसभा तथा केही प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले जित्नुपर्ने क्षेत्रमा पनि आचार्यकै कारण हार व्योहोर्नुपरेको केही एमाले कार्यकर्ताको आरोप छ। ती क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित्न नसक्नुमा आचार्य दोषी रहेको भन्दै एमाले सुनसरीमा असन्तुष्टि बढेको हो। 

क्षेत्र नम्बर– २, ३ र ४ नम्बर क्षेत्रमा वाम गठबन्धनको बाहुल्य भएको क्षेत्रमा कम मत आएर हार व्योहोर्नुपरेको थियो। यी क्षेत्रहरूमा अन्तर्घात भएको भन्दै आलोचना सुरु भएको छ। प्रतिनिधिसभाका लागि पनि क्षेत्र नम्बर– २ एमालेले जित्ने हुँदाहुँदै एमालेभित्रको चरम अन्तरविरोधका कारण हार भएको आरोप लागेको छ।

आचार्यलाई मुख्यमन्त्री बन्न नदिन 'चलखेल'!

प्रदेश नं.– १ को प्रत्यक्षतर्फको निर्वाचनको मत गणना सम्पन्न भएसँगै मुख्यमन्त्री चयन र समानुपातिक प्रदेशसभा सदस्य चयनमा नेकपा एमाले जुटेको बेला सुनसरीमा एमाले सचिव भीम आचार्यलाई मुख्यमन्त्री बन्न नदिन खेल सुरु भएको छ। नेकपा एमालेका तर्फबाट प्रदेशसभाको मुख्यमन्त्रीमा पार्टीका केन्द्रीय सचिव तथा प्रदेश नं.– १ का संयोजक आचार्य हुने निश्चितप्रायः भएपछि यस्तो चलखेल सुरु भएको आचार्य पक्षधर नेताहरुको आरोप छ। समानुपातिकतर्फको नतिजा एक साता अगावै आइसक्ने भएकाले त्यसतर्फको प्रदेशसभाका सदस्यहरू चयन गरेर प्रदेशसभाको सरकार गठनका लागि एमाले नेता आचार्यको नेतृत्वमा सरकार गठन उनको भनाइ थियो।

यस्तो छ चुनावी नतिजा

मंसिर १० र २१ गते प्रदेश नं.– १ मा भएको निर्वाचनमा एमालेले ३६ सिट जितेको छ। माओवादी केन्द्रले १० स्थानमा बाजी मार्दा नेपाली कांग्रेसले आठ स्थानमा जीत हासिल गरेको छ। फोरम नेपालले एक र स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन्। १ नम्बर प्रदेशका लागि बाहिर हल्ला भएजस्तो मुख्यमन्त्री चयन गर्न कुनै समस्या र विवाद नभएकाले आचार्य सहज रूपमा चयन हुने एमालेका एक केन्द्रीय सदस्यले बताए।

यस्तो छ संवैधानिक व्यवस्था
नेपालको संविधान, २०७० अनुसार प्रदेशसभाको निर्वाचन भएको ३५ दिनभित्र प्रदेशसभाबाट सरकार गठन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। 

संविधानको धारा १६८ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३५ दिनभित्र प्रदेशको मुख्यमन्त्री निर्वाचित गरिसक्नुपर्ने व्यवस्था छ। प्रदेशसभामा पनि केन्द्रमा जस्तै कुनै एक दलले बहुमत ल्याएमा सोही दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन्। कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री बन्ने उल्लेख छ। 

प्रदेश सरकारको मन्त्रिपरिषद् प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशत नबढ्ने गरी गठन गर्नुपर्ने व्यवस्था संविधानमा छ। प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुने कानुनी व्यवस्थाअनुसार नेकपा एमालेका प्रदेशसभा सदस्यहरू नेता आचार्यलाई संसदीय दलको नेतामा चयन गर्ने तयारीमा जुटेका छन्। आचार्यका समर्थनमा निर्वाचित भएका दुई तिहाईभन्दा बढी प्रदेशसभा सदस्यहरू रहेकाले आचार्य सहज रूपमा ससंदीय दलको नेता हुने निश्चित भएको एक नेताले बताए। 

यी हुन् १ नम्बर प्रदेशका निर्वाचित सदस्य

१ नम्बर प्रदेशबाट प्रदेशसभा निर्वाचनमा एमालेबाट बलबहादुर सम्सोहाङ, लक्ष्मण तिवारी, तेजमान कन्दङ्वा, गणेशकुमार काङबाङ, खिनु लङवा लिम्बू, काजीमान कागते, रामबहादुर मगर, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, एकराज कार्की, बृखबहादुर प्रधान, वसन्त बानियाँ, हीराकुमार थापा, हिक्मतकुमार कार्की, अर्जुन राई, उपेन्द्र घिमिरे, लीलाबल्लभ अधिकारी, राजकुमार ओझा, जीवन घिमिरे, ज्ञानेश्वर राजवंशी, प्रदीपकुमार भण्डारी, भीम आचार्य, सर्वध्वज साँवा, लिलम बस्नेत, जगदीशप्रसाद कुसियैत, निरन राई, ईन्द्रमणि पराजुली, तुलसीप्रसाद न्यौपाने, राजेन्द्रकुमार राई, शेरधन राई, अम्विरबाबु गुरुङ, राजन राई, उत्तमकुमार बस्नेत, बुद्धिकुमार राजभण्डारी, विमल कार्की र कला घले निर्वाचित भएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.