बागलुङः बागलुङ ताराखोलाको वस्ती नजिकै वनमा आगलागी भएको छ। ताराखोला गाउँपालिका– ५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिँदै वडा नम्बर–४, मसिनाको भीर हुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ।
बिहीबार दिउँसो स्थानीय टकबहादुर बुढाथोकीले आफ्नो खरबारीमा काँडा पोल्न लगाएको आगो फैलिएर झण्डै एक सय हेक्टर वन जलेको युवावर्ष आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णभद्र निउरेले जानकारी दिए।
खरबारीको काँडा जलाएर सकेपछि आगो निभाए पनि छुटेको ठाउँबाट सल्किएको उनको भनाइ छ।
दिउँसो २ बजेदेखि सल्किएकोे आगो फैलिएर गाउँतर्फ बढेपछि बेलास्पुर, धस्मर, लाबाङसहित आसपासको वस्तीमा समेत आगलागीको जोखिम बढेको छ।
स्थानीयवासीले दिनभर आगो निभाउने प्रयास गरे पनि अप्ठ्यारो भिरमा ठूलो आगो दन्किएकाले नियन्त्रणमा लिन नसकिएको ताराखोला– ५ का वडा अध्यक्ष रामबहादुर रोकाले जानकारी दिए। उनका अनुसार स्थानीय गाउँ धस्मर, लाबाङ, करिमेला, नाकबेलीखोला, बेलास्पुर र आसपासबाट दुई सयभन्दा बढी स्थानीयवासी जम्मा भएर आगो निभाउन जुटिरहेका छन्।
आगो दियालोको रूपमा बाल्न प्रयोग गरिने सल्लाका रूख र सुकेको खरमा दन्किएपछि नियन्त्रणमा कठिनाइ भएको रोकाले जानकारी दिए।
आगलागिपछि तत्काल इलाका प्रहरी कार्यालय ताराखोलामा खबर गरे पनि साँझ ६ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन। घटनाबारे बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठसँग बुझ्न खोज्दा आफूलाई कुनै जानकारी नभएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।