|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएलगत्तै पद त्याग गर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भनेका थिए, ‘तपाईंले राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गर्नासाथ म पद त्याग गर्छु।'

सरकारले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरे पनि चुनाव प्रणाली विवादमा दलहरू छन्। सरकारले राष्ट्रियसभाको चुनाव एकल संक्रमणीय व्यवस्थाअनुसार हुनुपर्ने प्रस्ताव गरे पनि एमाले र माओवादी त्यसको विपक्षमा छन्। सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको एक महिना भइसकेको छ। ‘राष्ट्रियसभा अध्यादेश टुंगिनासाथ म सहज रूपमै प्रधानमन्त्रीको पद हस्तान्तरण गर्दछु' देउवालाई उद्धृत गर्दै उनका प्रेस संयोजक गोविन्द परियारले भने। प्रधानमन्त्री देउवाले दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। उनले प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक मतगणनाबारे समेत राष्ट्रपतिलाई अवगत गराएका थिए।

राष्ट्रपति भवन स्रोतका अनुसार भण्डारीले अध्यादेशमा दलको सहमति खोज्न देउवालाई आग्रह गरेकी छन्। उनले राष्ट्रियसभा गठन प्रक्रियामा यसअघि दलबीचमा मतभेद रहेको स्मरण गराउँदै त्यसमा सहमति नखोजिए अध्यादेश तत्काल अघि बढाउन नसकिने सम्भावनाबारे घुमाउरो ढंगले चेतावनीसमेत दिएकी छन्। ‘राष्ट्रियसभा गठनसम्बन्धी केही विवाद देखिएको मैले अनुभूत गरेकी छु, त्यसलाई समाधान गर्न दलहरू एक ठाउँमा आउनुपर्छ। तपाईंले त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुहुने मेरो अपेक्षा छ,' राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो।

राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोशेढुंगाको रूपमा रहेको निर्वाचन तोकिएकै समयभित्र शान्तिपूर्ण रूपमा ठूलो जनसहभागितासाथ सम्पन्न गराएकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएकी थिइन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार भण्डारीले निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुनेमा विश्वास व्यक्त गर्दै सामाजिक, आर्थिक रूपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षालाई सफल पार्न सबै दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिएकी थिइन्।

राष्ट्रपतिले राजनीतिक दलको सहमति र सहकार्यमा आमजनताको रचनात्मक सहयोग र सहभागितासाथ संविधान कार्यान्वयन हुँदै आर्थिक विकासको अपेक्षा गरेको जानकारी चुडालले दिए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय संसद् निर्माण प्रक्रियामा राष्ट्रियसभा ऐन आवश्यक रहेको बताएका छन्।

राष्ट्रपतिसँग परामर्श गरी फेर्केका प्रधानमन्त्री देउवाले आफ्नो टिमसँग वार्ता गरेका थिए। वार्तापछि पौडेलले भने, ‘राष्ट्रियसभा अध्यादेश राष्ट्रपतिकहाँ रोकिएकाले अहिलेको प्रक्रिया अवरुद्ध भयो। त्यो अध्यादेश रोक्ने अधिकार राष्ट्रपतिमा छैन।'

एक प्रश्नको उत्तरमा पौडेलले राष्ट्रपतिबाट अध्यादेश पारित नभएसम्म प्रधानमन्त्रीले पद हस्तान्तरण गर्ने कुरै नउठ्ने दाबी गरे। प्रधानमन्त्री देउवाका स्वकीय सचिव केशवराज जोशीले भने, ‘राष्ट्रियसभा अध्यादेश राष्ट्रपतिकहाँ रोकिनुको कारण सरकारले एकल संक्रमणीय प्रणालीमा र एमाले एवं माओवादी केन्द्र बहुमतीय प्रणालीमा जान खोज्नु नै हो।'

राष्ट्रियसभा अध्यादेश पारित भएर त्यसअनुसार सांसद चयनपछि मात्र निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक मतपरिणाम सार्वजनिक गर्न सक्ने दाबी उनले गरे। एमाले नेता एवं पूर्वकानुनमन्त्री अग्निप्रसाद खरेलले पूर्वगृहमन्त्री विमलेन्द्र निधिले रूपान्तरित व्यवस्थापिका संसद्मा पेस गरेको राष्ट्रियसभा निर्वाचन विधेयकमा राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा जे–जस्तो प्रस्ताव राखेको छ, त्यसको समर्थन गर्ने बताए।

उनले भने, ‘विधेयकमा बहुमतीय निर्वाचन प्राणालीमा राष्ट्रियसभाको निर्वाचन हुने उल्लेख छ।' पूर्वगृहमन्त्री निधिले पेस गरेको विधेयकविपरीत असोज दोस्रो साता सरकारले अध्यादेशमार्फत पठाएको राष्ट्रियसभा निर्वाचन विधेयकमा एकल संक्रमणीय प्रणालीअन्तर्गत निर्वाचन गर्ने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.