|

लहान : हात्तीको आक्रमणमा मृत्यु भएका परिवरलाई सहयोग जुटेको छ। हात्तीको आक्रमणबाट मृत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका-१० बदगामाकी ६५ वर्षीया फूलुवादेवी यादव परिवारलाई सहयोग उपलब्ध भएको हो।  राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौंले यादवको परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको छ।
नेपाल सरकारका तर्फबाट हुने मानव– वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७३ बमोजिम मृतक परिवारलाई जीविकोपार्जनमा सहयोग पुग्ने खालको कार्यक्रम सञ्चालन गर्न रकम हस्तान्तरण गरिएको जनाइएको छ। मृतक यादवका पति बिलेतीतैथवार यादवलाई कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमसहितको टोलीले रकम हस्तान्तरण गरेको हो। 

रकम हस्तान्तरण कार्यक्रममा कोसीटप्पु वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत चुमन ठाकुर, बदगामा– जगतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष तथा कोसीटप्पु मध्यवर्ती व्यवस्थापन समितिकी पूर्वअध्यक्ष रहेकी रेणु साह र शत्रु मञ्जन गुल्मका गुल्मपति समेतको उपस्थिति थियो। यादवको मंसिर १२ गते हात्तीको आक्रमणमा मृत्यु भएको थियो। 

रकम हस्तान्तरण कार्यक्रममा आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत ठाकुरले हात्तीको आक्रमणमा मारिएका परिवारलाई थप राहतका लागि माथिल्लो निकायमा प्रक्रिया अगाडि बढाएको जानकारी दिए। त्यसअघि पछिल्लो चैत २२ गतेका दिन जङ्गली हात्तीले कोसीनदीको पश्चिमी बगरसँग जोडिएको सप्तरीको पुरानो जिल्ला सदरमुकाम समेत रहेको हनुमाननगर बजारमा प्रवेश गरी दुई जनालाई मारेको थियो। हात्तीको आक्रमणमा हनुमाननहर–कंकानिली नगरपालिका- ७ का २२ वर्षीय रोशन कुमार झा र वडा नम्बर-१२ का सञ्जय साफीलाई मारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.