|

काठमाडौंः लेखकले सधैँ विषय खोजिरहेको हुन्छ। एउटा उत्कृष्ट विषय, जसले लेखकलाई चर्चित बनाओस्, त्यस्तो विषयको खोजीमा हुन्छ लेखक। त्यस्तै विषयको खोजीमा रहेका उनले आफ्नै गाउँको एक दर्दनाक पीडा सम्झिए। आफ्नै आँखा अगाडि वर्षौँदेखि खेल्दै आएको पीडा उनले यसअघि कहिल्यै सम्झेका थिएनन्।

तीन वर्षअघिको कुरा हो। उनी अर्थात् शुक्रबार राजधानी काठमाडौंमा सार्वजनिक गरिएको उपन्यास ‘ऐलानी’का लेखक विवेक ओझा उपन्यास लेख्नलाई विषयको खोजी गरिरहेका थिए। काठमाडौं आइसकेका उनले विषयको खोजीमा आफ्नै ठाउँ कैलाली जाने निधो गरे। उनले आफ्नो गाउँमा चल्दै आएको ‘वादी’ प्रथालाई उपन्यासमा उतार्ने निधो गरे। ‘एउटा लेखक सधैँ राम्रो विषयको खोजीमा हुन्छ। म पनि उपन्यास लेख्ने योजना बनाएदेखि नै विषयको खोजीमा थिएँ’, उनले भने, ‘तर आफ्नै आँखा अगाडि रहेको त्यो वादी कुप्रथालाई चाहिँ मैले देखेको रहेनछु। मैले यही प्रथालाई मेरो उपन्यासमा समावेश गर्ने योजना बनाएँ अनि म गाउँ गएँ।’

उनले उपन्यास ‘ऐलानी’मा एक छाक खानका लागि ‘वादी’ समुदायका महिलाले एक बोरा धानका लागि आफ्नो अस्मिता परपुरुषलाई सुम्पनुपरेको यथार्थ घटनालाई समावेश गरे। ‘मैले उपन्यासमा समेटेको विषय सबै यथार्थ हो। यसका लागि मैले लामो समय गाउँमै गएर अध्ययन गरेँ', उनले भने, 'वादी समुदायको पीडालाई नजिकबाट नियालेँ। त्यही भएर त सधैँ सदरमुकाम धनगढी जाँदा नदेखेको उनीहरूको समस्यालाई बुझ्ने मौका पाएँ।’ उपन्यासमा भएका सबै पात्र उनले आफैँ भेटे। 

उपन्यासमा ‘वादी’ आमादेखि छोरी हुँदै नातिनीसम्मको पीडालाई समावेश गरेका छन्। एक १४ वर्षे बालिकाले मन नहुँदा नहुँदै पनि एक छाक टार्नका लागि आफ्नो अस्मिता बेच्नुपरेको ‘ऐलानी’मा लेखक ओझाले समेटेका छन्। ‘मैले यो समस्यालाई त्यसै लेखेको होइन। यो समस्यालाई राज्य सरकारले हेरोस्। वादी समुदायको यो बाध्यतालाई अन्त्य गरोस् भनेर उठान गरेको हुँ’, उनले भने, ‘यसलाई समस्या नसम्झिएर समाधानतर्फ पनि लाग्नुपर्छ भन्ने मेरो आग्रह हो।’

उनले उपन्यासमा भारतमा देह व्यापारका लागि बेचिएर उद्धार गरेर नेपाल फर्काइएका केही वादी युवतीहरूको कथालाई पनि समेटेका छन्।

उनले उपन्यासमा यसरी भारत पुर्‍याइएर नेपाल फर्काइएका केही युवतीहरूले सीप सिक्न सुरु गरेको र सीपबाट राम्रो आम्दानी नभएपछि देह व्यापार नै ठीक भएको भन्ने गरेको प्रसंग पनि समावेश गरेका छन्। ‘यो मेरो परिकल्पना मात्र होइन, यी पात्रलाई मैले प्रत्यक्ष भेटेको छु। संवाद गरेको छु। यो घटना यथार्थ हो’, ओझाले भने। 

शुक्रबार भएको विमोचन कार्यक्रममा केही टिप्पणीकारले उपन्यासमाथि टिप्पणी पनि गरे। कवि तथा उपन्यासकार प्रोल्लास सिन्धुलीय, उपन्यासकार अमर न्यौपाने र निबन्धकार कुमारी लामाले पुस्तकमाथि टिप्पणी गरे। 

न्यौपानेले उपन्यासमा लेखकले संवेदनशीले विषय उठान गरेको भन्दै प्रशंसा गरे। ‘यो विषय एकदम संवेदनशील हो। हामीले पनि यो पीडालाई समाचारमार्फत जानकारी पाएका थियौँ। तर यो उपन्यास पढेपछि त्यहाँको पीडालाई बुझ्ने मौका पाएँ’, उनले भने, ‘वादीको पीडा यति धेरै रहेछ कि एउटी महिला जसले आफ्नो अस्मिता पैसामा साट्नलाई ग्राहक नपाएपछि आत्महत्या गर्छिन्। यो विषयले मलाई धेरै भावुक बनायो।’

वादी महिलाका श्रीमानहरूले आफ्नै श्रीमतीका लागि ग्राहक खोज्नुपर्ने यो सामन्ती प्रथा अन्त्य गर्न सरकारले चासो देखाउनुपर्ने उनले बताए। टिप्पणीकार सिन्धुलीयले धर्म र संस्कृति भन्दै वादी महिलाले देह व्यापार गर्न बाध्य हुनुपर्ने कुप्रथा अन्त्यका लागि राज्य लाग्नुपर्ने धारणा राखे। 

लामाले वादी प्रथामा केही परिवर्तन आए पनि पूर्ण रूपमा अन्त्य हुन नसकेको बताइन्। उनले यसको अन्त्यका लागि चेतना सँगसँगै संरचना परिवर्तन आवश्यक रहेको धारणा राखिन्। उपन्यासमा नारीलाई केही कमजोर बनाउन खोजिएको उनकाे भनाइ थियो। ‘उपन्यास समग्रमा उपन्यास राम्रो छ। उपन्यास धेरै अध्ययन गरेर लेखिएको छ तर केही ठाउँमा चाहिँ महिलालाई कमजोर बनाउन खोजिएको छ’, उनले भनिन्, ‘वादी प्रथा अन्त्य गर्ने मनस्थिति बनाएकी आधुनिक युगकी एक वादी युवतीलाई पनि अन्तिममा देह व्यापार नै राम्रो हो भन्नेमा पुर्‍याएका छन् लेखकले।’

उनले वादीलाई सरकारले अझै पनि विभेद गरिरहेको बताइन्। उनले भनिन्, ‘अहिले पनि वादी महिललाबाट जन्मिएका छोराछोरीलाई नागरिकता दिइनन्। अझै पनि सरकारले वादीलाई विभेद नै गरिरहेको छ।’

पुस्तक साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.