|

बागलुङ : बागलुङ ताराखोलाको जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा नआएपछि आगो निभाउन नेपाली सेनाको टोली गएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले डढेलो नियन्त्रणका लागि नेपाली सेनाको टोली शुक्रबार बेलुकै डढेलो लागेको ठाउँतर्फ गएको जानकारी दिए। ‘हिजो दिउँसो आगो झन् फैलिएको खबर आएपछि बेलुकै सेनाको टोली यहाँबाट घोडाबाँधे ब्यारेक पुगेको छ,’ उनले भने, ‘सेनालाई जतिसक्दो चाँडो घटनास्थल पुर्‍याउने प्रयासमा हामी छौं।’

स्थानीय वासिन्दा र प्रहरीले मात्र आगो निभाउन नसकेपछि नेपाली सेनाको तालिमप्राप्त टोली पठाउन माग गरेका थिए। बागलुङ २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा (सागर) ले सहायक प्रमुख जिल्ला अधिकारीसँग तत्काल नेपाली सेनाको तालिमप्राप्त अग्नि नियन्त्रक टोली पठाउन माग गरिएको जानकारी दिए। ‘आगो फैलिएको तीन दिन भइसक्यो, ताराखोलाका जनताले रातदिन नभनेर निरन्तर गरेको प्रयासले डढेलो नियन्त्रणमा भएन मैले सेनाको टोली पठाउन भनेको छु,’ सागरले भने, ‘सरदमुकामबाट शुक्रबार बेलुकै सेनाको टिम हिँडेको जानकारी छ।’

बिहीबार दिउँसो ताराखोलाको वडा नम्बर–५ लाबाङ पारिको खरबारीबाट सुरु भएको डढेलो ४० घण्टादेखि जंगलमा फैलिएर प्राकृतिक सम्पादा नष्ट गरिरहेको छ। अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। डढेलो लागेको आसपासका २ सय भन्दाबढी स्थानीय दिउँसो र राति गरी पालैपालो आगो निभाउन जुटेपछि नियन्त्रणमा आउन नसकेको स्थानीय युवा कमल घर्तीले बताए। उनले आफूसहित झण्डै ५० जना बिहानै ३ बजे नै घटनास्थल पुगेर आगो निभाउने प्रयासमा रहेको बताए।

काँडा पोल्ने क्रममा बालिएको आगो खरबारी हुँदै आसपासको जंगलमा फैलिएको हो। धस्मर र करिमेला गाउँमाथिको जंगल र वडा नम्बर–४ को तिनचुले सामुदायिक वन आसपासमा फैलिएको ताराखोला–५ का वडाअध्यक्ष रामबहादुर रोकाले जानकारी दिए। शुक्रबार मध्यान्हतिर नियन्त्रणनजिक पुगेको डढेलो दिउँसोदेखि एक्कासी फैलिन थालेपछि स्थानीयवासी झन् आतंकित भएका छन्  

स्थानीयवासीले गरेको प्रयासबाट वस्तीतर्फ आगो पस्ने जोखिम कम भए पनि वनका धेरै रुखविरुवा, जडीबुटी नष्ट भएको युवा वर्ष आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णभद्र निउरेले जानकारी दिए । उनले आगलागीबाट झण्डै २ सय हेक्टर वन क्षेत्र नष्ट गरेको बताए।

स्थानीयवासी र इलाका प्रहरी कार्यालय ताराखोलाबाट पुगेको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि नेपाली सेना पठाउन भनिएको स्थानीय नेपाल माविका अध्यक्ष दिवश खत्रीले जानकारी दिए।

बिहीबार दिउँसो एक्कासी आगो दन्किएपछि निभाउन पुगेका स्थानीयवासी भागाभाग भएका थिए। अप्ठ्यारो भीरमा आगो फैलिएको र माथिबाट ढुङ्गा समेत खस्न थालेपछि स्थानीयको प्रयासमा नियन्त्रण लिन नसकिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.