|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वाम गठबन्धनले प्रदेशसभा ‘क’ मा शानदार जित हासिल गरेको छ। वाम गठबन्धनका साझा उम्मेदवार (एमाले) का पठानसिंह बोहराले प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै वाम गठबन्धनको सानदार जित देखाएका हुन्।

प्रतिनिधिसभा निर्वाचनका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिते। प्रदेशसभामा भने कांग्रेस र वाम गठबन्धनले एकएक सिट आफ्नो पोल्टामा पारेका हुन्।

प्रदेशसभा ‘क’ मा एमाले तर्फबाट वाम गठबन्धनका उम्मेदवार बोहरा विजयी भए। उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टलाई २ हजार १६९ मतले पछि पार्दै विजयी भएका हुन्। प्रदेशसभा सदस्यमा विजयी एमाले उम्मदेवार बोहराले १३ हजार ५६३ मत ल्याए। उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार भट्टले ११ हजार ३९४ मत पाप्त गरे।

वाम गठबन्धनको शाख जोगाउने को हुन् पठनसिंह बोहरा?

प्रदेशसभा सदस्य बोहरा नेकपा एमाले प्रदेश संगठन कमिटी सदस्यसमेत हुन्। ०२३ वैशाख २० गते जन्मेका बोहराको स्थायी ठेगाना जिल्लाको परशुराम नगरपालिका–४ कटाल हो। शिक्षामा कानुनतर्फ स्नातक उत्र्तीण गरेका बोहरा अधिवक्तासमेत हुन्।

सिद्धनाथ मावि जोगबुडामा अध्ययन गर्दै गर्दा अनेरास्ववियु (एकताको पाँचौं) बाट उनको विद्यार्थी राजनीति प्रारम्भ भयो। ०३७ को जनमत संग्रह हुँदा बहुदलको पक्षमा प्रचार प्रसार ठूलो भूमिकामा उनी थिए।

०४० चैतमा काठमाडौंमा सम्पन्न अनेरास्ववियु (एकताको पाँचाँै सातौं राष्ट्रिय सम्मेलनमा डडेल्धुरा जिल्लाबाट पहिलो प्रतिनिधिका रुपमा सहभागी भएका बोहरा ०४६ को संयुक्त जनआन्दोलनमा काठमाडौंमा सक्रिय सहभागी रहेका थिए।

०४७ मा युवा संघको सदस्यता प्राप्त गरी सोही वर्ष तत्कालीन नेकपा मालेको पार्टी प्रवेशपत्र प्राप्त गरेका थिए। ०५३ मा नेकपा एमालेको जिल्ला कमिटी सदस्य रहेका बोहराले ०५५ मा जिल्ला कमिटी उपसचिव हुँदै जिल्ला कमिटीको सचिवको जिम्मेवारी  सहज रुपमा सम्हाले।

०६३ मा सम्पन्न जिल्ला अधिवेशनबाट पार्टी प्रमुख (सचिव पदमा निर्वाचित  भएर दुई कार्यकाल रहेका थिए। ०६७ मा पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा निर्वाचित  भएका बोहरा पार्टीको साताँै र नबौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि भई सहभागी थिए।

बोहरा मतदातालाई धन्यवाद दिन गाउँगाउँमा

वाम गठबन्धनका तर्फबाट प्रदेशसभा क्षेत्र नं. १ मा विजयी भएका एमाले नेता तथा एमाले प्रदेश संगठन कमिटी सदस्य पठानसिंह बोहरा आफ्नो विजयपश्चात जनता भेट्न गाउँमा पुगेका छन्। बोहरा आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुगी धन्यवाद दिँदै छन्।

आफ्नो क्षेत्रमा सबै ठाँउमा पुगेर मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको उनले बताए। ‘सबै नेता विजयी भएपछि जिल्ला बाहिर जान्छन् तर म जनताको घरदैलोमा पुग्नेछु’ उनले भने, जनताले दिएको अपार माया र स्नेहले आफूलाई विजयी गराएको भन्दै जनताका सुख दुःखमासँगै हुनेछु।’

पाँच वर्षमा विकास निर्माणका कार्यलाई तीव्रता दिन्छु : बोहरा

प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेपछि प्रतिक्रिया दिँदै बोहराले पाँच वर्षको अवधिमा विकास निर्णमका कार्यलाई तिव्रता दिने बताएका छन्।

‘अब मेरो दायित्व भनेको यो जिल्लाको र हाम्रो निर्वाचन क्षेत्रको विकास निर्माणलाई तिव्र र रफ्तारको रुपमा अगाडि बढाउने हो।’ बोहराले भने, यो जिल्लाको विकासको लागि अब नयाँ ठोस योजना बनाएर अगाडि बढ्ने सो बनाएको छु।’

खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतका समस्याहरुको समाधान गर्ने योजना गरेको उनले सुनाए। ‘अहिले हामीसँग धेरै समस्या छन्, खानेपानीका समस्या, सडक, पूलपुलेसका समस्याहरु, भूक्षय, विद्युत् विस्तारलगायतका समस्याहरु छन्।’ बोहराले भने, जिल्लामा रहेको बेरोजगारी समस्यालाई हल गर्नको लागि यो क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने तर्फ मेरो ध्यान जान्छ।’

जनप्रतिनिधिबाट जनताले हिजोको जस्तो परम्परागत विकास नभई तीव्र विकास चाहेको उनी बताउँछन्। उनी भन्छन्, ‘अब हिजोको जस्तो परम्परागत ढंगले त्यो शैलीमा होइन्, जनताले तिव्र विकास चाहेका छन्। त्यसैले हाम्रो यहाँको सामाजिक, आर्थिक रुपान्तरणको कुरा र जनताको भावना छ, त्यो भावनालाई सम्वोधन गर्ने गरी विकास निर्माणका कार्यलाई आगाडि बढाउनु पर्दछ।’

बोहराले आफू विकास निर्माणका कार्यमा सजक भएर लाग्ने बताएका छन्। निर्वाचनका बेला जनतासामु गरेका बाचाहरुलाई पूरा गर्नेमा आफू प्रतिबद्ध गरेको उनी बताउँछन्। आफू निर्वाचित भइसकेपछि यो क्षेत्रको विकासका लागि सबैपक्षको साथ सहयोगको अपेक्षा गरेको पनि बोहरा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.