|

लहान : दोस्रो चरणअन्तर्गत पछिल्लो मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकामध्ये सप्तरीमा ३८ उम्मेदवारको जमानत जफत भएको छ। जमानत जफत हुनेमा साना दल र १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। सप्तरीमा स्वतन्त्र उम्मेदवारको हैसियतमा जमानत जोगाउनेमा प्रतिनिधिसभा क्षेत्र नं. २ बाट जयप्रकाश ठाकुर मात्र रहेका छन्, जसले संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिएका थिए। निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशतभन्दा कम नल्याउने उम्मेदवारको जमानत (धरौटी) जफत हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिपकुमार यादवले बताए।

क–कसले जोगाउन सकेनन् जमानत ?

प्रतिनिधिसभा सदस्या निर्वाचन क्षेत्र नं. १ मा विजयी संघीय समाजवादी फोरम नेपालका सूर्यनारायण यादवसँगै निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का अशोककुमार मण्डल र नेपाली कांग्रेसका रामदेव साह तेलीबाहेक ३ स्वतन्त्र गरी ८ जनाको जमानत जफत भएको छ। नयाँ शक्ति पार्टी नेपाल, नेमकिपा, नेकपा माक्र्सवादी, विवेकशील साझा पार्टी, एकीकृत राप्रपा (राष्ट्रवादी) लगायतका दल र ३ स्वतन्त्र गरी ८ उम्मेदवारको जमानत जफत भएको छ, जसमा नयाँ शक्तिबाहेक कसैले पनि एक हजार भन्दा बढी मत ल्याएका छैनन्। क्षेत्र नं. १ मा कुल खसेको मतमध्ये ५८ हजार ३ सय ८ मत सदर भएको थियो।

त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा विजेता संघीय समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादव, स्वतन्त्र जयप्रकाश ठाकुरबाहेक १२ उम्मेदवारको जमानत जफत भएको छ। क्षेत्र नं. २ मा कांग्रेसका सकलदेव सुतिहार, नेकपा (माले) का दुर्गानन्द मण्डल, एकीकृत राप्रापा (राष्ट्रवादी) का रामकिशोर मण्डल, देशभक्त लोकतान्त्रिक पार्टीका भोलाप्रसाद मुखिया, नेमकिपाकी निरोदेवी ठाकुरसहित ७ जना दलीय र ५ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधिसभाका लागि २ नं. क्षेत्रमा ४७ हजार दुई सय ९७ मत सदर भएको थियो।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ३ मा विजेता राष्ट्रिय जनता पार्टी नेपाल, निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दिनेशकुमार यादव, नेकपा (एमाले) का ताराकान्त चौधरीबाहेक ७ उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। कार्यालयका अनुसार उक्त क्षेत्रमा उम्मेदवार बनेकामध्ये नयाँ शक्तिका ताज मोहम्मद मन्सुरी, नेमकिपाका दिपुकुमार यादवसहित ६ दलीय र १ स्वतन्त्रसहित ७ जनाले कुल खसेको सदर मतको १० प्रतिशत कटाउन नसक्दा जमानत जफत भएको छ। क्षेत्र नं. ३ मा ५५ हजार २ सय ५७ मत सदर भएको थियो।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. ४ मा जितेका कांग्रेसका तेजुलाल चौधरी, राजपाका मृगेन्द्र सिंह यादव, एमालेका मो. इस्लामबाहेक ३ स्वतन्त्र र ७ साना दलका गरी १०  उम्मेदवारको धरौटी जफत भएको छ। उक्त क्षेत्रमा ५५ हजार ५ सय ८२ मत सदर भएको थियो। १० प्रतिशत ल्याउन नसकेका नेपाली जनता दलका रामबाबु रजक, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सूर्यनारायण चौधरी (थारु), नेकपा माक्र्सवादीका मकुन चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामजीवनप्रसाद साह लगायत ७ साना दल र ३ स्वतन्त्र उम्मेदवार गरी १० जनाको धरौटी जफत भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.