|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा गठनको विषय उठाएर सत्ता हस्तान्तरणमा ढिलाइ नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सरकार गठन गर्नका लागि पर्याप्त हुने भएकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका हुन्।

'प्रतिनिधिसभाको काम हो सरकार गठन गर्ने र सरकार परिवर्तन गर्ने। यो इन्डिपेन्डेन्ट निकाय हो' पत्रकार सम्मेलनमा ओलीले भने 'संविधानको धारा ७६ मा सरकार गठन सम्बन्धी प्रष्ट व्यवस्था छ। प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ। त्यहाँ राष्ट्रिय सभाको विषय कसरी आयो? राष्ट्रिय सभा र प्रदेशसभाको विषय देखाएर निहुँ खोज्ने?'

प्रतिनिधिसभाको मुख्य काम प्रधानमन्त्री चयन वा सरकार गठन हो भन्दै ओलीले यसबाहेक अन्य विषय बेकार भएको बताए। 'राष्ट्रियसभा, प्रदेशसभा वा इलेक्ट्रोरल कलेज वा अरु विषयसँग यसको सम्बन्ध छैन' उनले भने 'प्रतिनिधिसभाको बहुमतको कुरा हो। यसबाहेकका अरु कोशिसहरु बेकार हुन्। अनैतिक ब्यवहार नदेखाउन म आग्रह गर्छु।'

'चुनाव गराएर राम्रो गर्नुभो, एक दुई नियुक्तिको लोभमा नपर्नू'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव गराएर राम्रो काम गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको बाटो खोलिदिनुपर्ने र केही नियुक्तिको लोभमा पर्न नहुने बताए। '

'हामीले सजिलै प्रधानमन्त्री छाडेका हौं। देउवाजीलाई पनि सरकार छाड्न गाह्रो नहुनु पर्ने हो' उनले भने 'सरकारले छिटो भन्दा छिटो समाधान दिनुपर्छ। निर्वाचन सम्पन्न गराएर राम्रो काम गर्नुभएको थियो। अब एक दुई नियुक्तिको लोभमा नफस्न आग्रह गर्छु।' अहिलेको सरकार काम चलाउ हैसियतको भइसकेको भन्दै प्रचण्डले निर्वाचन परिणाम आइसकेकाले अब सरुवा बढुवा लगायतका काम पनि गर्न नहुने बताए।

सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा पठाएको छ। उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिले ढिलाइ गरेको सरकारको आरोप छ। तर एमाले अध्यक्ष ओलीले राष्ट्रपतिले उक्त अध्यादेश जारी गर्न नहुने बताएका छन्।

सरकारले निर्वाचनको परिणाम हरेर राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा जथाभावी व्यवस्था परिवर्तन गरेको भन्दै त्यसलाई राष्ट्रपतिले जारी नगर्ने उनको भनाइ छ। 'अध्यादेशको नाममा जे पायो त्यही लगेर हुन्छ? राष्ट्रपतिले जारी गर्नुहुन्न' उनले भने 'प्रधानमन्त्रीले भन्नुभएछ, असंवैधानिक काम गर्न राष्ट्रपतिलाई दबाब नदिनु, म भन्छु प्रधानमन्त्रीको कुर्चीमा बसेर राष्ट्रपतिलाई काम गर्न दबाब दिनु हुँदैन। संविधानको रक्षकको हिसाबले राष्ट्रपतिले त्यसो गर्नुहुँदैन।'

ओलीले सरकारले खेल भइरहेका बेला नियम फेर्न लागेको भन्दै त्यसो गर्न नमिल्ने बताए। सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा सदस्यहरुको चयन एकल संक्रमणीय पद्धतिमा गर्ने व्यवस्था राखेकोमा ओलीले विरोध जनाएका हुन्। निर्वाचनको परिणाम हेरेर सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी व्यवस्था तय गरेको भन्दै ओलीले यस विषयमा राजनीतिक परामर्श गर्नुपर्ने बताए।

'यो (सरकार) कामचलाउ को पनि नितान्त कामचलाउको अवस्थामा पुगेको छ। निर्वाचनको परिणाम आइसकेकोले हस्तान्तरण गर्न मात्र बाँकी छ' ओलीले भने 'ठूला निर्णय र दूरगामी महत्वको कुनै पनि काम गरिदैन।'

भारतले समर्थन गर्छ : ओली

एमाले अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणामलाई भारतले स्वीकार गरिसकेको बताउँदै यस विषयमा अनावश्यक भ्रम फैलाउन नहुने बताए। 'भारतले आधिकारिक रुपमा के स्टेटमेन्ट दिएको छ, अहिलेको जनादेशलाई कदर गर्छौं, स्थायित्व दिनेमा विश्वास गरेका छौं। नयाँ सरकारसँग मिलेर काम गर्न आतुर छौं भनेको छ। अनि कथा बुन्नेहरुको पछि कुद्ने किन?'

आगामी सरकारबारे अनावश्यक भ्रम फैलाएर केही व्यक्तिले वैदेशिक लगानी नआओस् भन्ने चाहेको ओलीले आरोप लगाए। 'तीन महिनाको अवधिमा हेर्नुस् तपाईले फिल गर्नुहुनेछ' ओलीले भने, 'यो बकबासको कुनै आधार छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.