|

सिन्धुपाल्चोक  : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनापछि सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारा बजारको सुनसान बन्दै गएको छ। निर्वाचनअघि व्यापक चहलपहल देखिएको चौतारा बजारमा मतगणनाको नतिजा सार्वजनिक भएसँगै मानिसको चाप घट्दै गएको हो।

उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु चुनावी गतिविधिका कारण बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको थियो। दशैँ तिहारपछि प्रायः सुनसान बनेका बजारमा नेता कार्यकर्ताको उपस्थितिले चहलपहल बढेको थियो। तर चुनावको नतिजा सार्वजनिक भएपछि अवस्था फेरी उस्तै भएको व्यापारीहरु बताउँछन् । चुनावको एक महिनाअघिदेखि मतगणना जारी हुँदासम्म बजारका स–साना चिया पसलदेखि ठूला होटलसम्ममा नेता कार्यकर्ताको जमघट हुने गरेको थियो।

चुनावका कारण आर्थिक गतिविधि वृद्धि भएपछि व्यवसायीहरु उत्साहित भएका थिए। राजनीतिक दलका बैठक, सभा, कोठे छलफलहरु होटलमा नै हुँदा आर्थिक कारोबारमा वृद्धि भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउँछन्।

‘चुनावी कार्यक्रमकै कारण गाउँको साग, आलु, दूध, दही, अण्डा, घिउ, कुखुरा, खसी, चामललगायतको व्यापार वृद्धि भएको थियो। अहिले फेरि अवस्था उस्तै भएको छ’ चौतारा साँगाचोकगढी नगरपालिका– ८ कि तेजकुमारी गिरी भनिन्।

चुनावको बेला नेता कार्यकर्ताको चहलपहल बढेपछि कारोबार पनि बढेको सुकुटे वीच रिसोर्टकी लक्ष्मी थापाले बताइन्। होटलमा मासु खाना, पेय पदार्थ तथा मादक पदार्थसमेतको कारोबार निकै बढेको उनको भनाइ छ।

सदरमुकाम चौताराको टुँडिखेलमा जम्मा भएका हजारौ मानिसहरुको एउटै उद्देश्य थियो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम सुन्ने। तर, त्यसमध्ये बाह्रविसेकी उद्यमी नरीमाया तामाङ आफूले बनाएको स्वेटर, ज्याकेट बिक्री गर्नमै व्यस्त भइन्। ‘तीन महिनाको व्यापार भयो,’ तामाङले खुसी हुँदै भनिन्, ‘स्थानीय स्तरमा उत्पादन गर्न र बिक्री गर्न दुवै गाह्रो छ, तर,  यो अवसर जुर्‍यो र हाम्रो सानो व्यावसाय राम्रो भयो।’

तामाङ जस्तै चौतारा–५ की न्याउरीमाया घलेले भने पछिल्लो मत परिणाम सुन्नेसँगै आफ्नै बारीमा फलेका फलफूल बिक्री गर्ने दुवै उदेश्य पूरा गरिन्। उनले सुन्तला, साग र अरु तरकारी बेचिन्।

पहिलो चरणमा भएको मतगणना मंसिर २१ गते देखि सुरु भएको थियो। टुँडिखेलनजिकै भएको मतगणनाको ताजा नतिजा सुन्ने नेता, कार्यकर्ता, समर्थकर आम मतदातालाई फलफूल, लप्सी क्याण्डी, तरकारी, ढाकाको कपडा, इन्टरलग इँटा र छालाको सामग्री बिक्री गर्ने उद्देश्यले जिल्ला लघु उद्यमी संघले स्टल निर्माण गरी लघु उद्यमीलाई प्रोत्साहन गरिएको संघका कार्यक्रम संयोजक विक्रम सुन्दासले जानकारी दिए। साना उद्यमीहरुले मतगणनास्थलमा ५ लाख भन्दा बढीको व्यपार गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.