|

दमक: पूर्वी नेपालमा बसोवास गर्दै आएका भुटानी शरणार्थीहरूले आइतबार आफ्नो देश भुटानको ११०औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन्। 

झापाको दमकस्थित बेलडाँगी शिविरमा झण्डै तीन दशकदेखि शरणागत नेपालीभाषी भुटानी शरणार्थीहरूले आफ्नो राष्ट्रिय दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेर आफ्नो देशलाई सम्झिएका हुन्। बेलडाँगी क्याम्प व्यवस्थापन समितिको आयोजनामा शिविर परिसरमा दिवस मनाइएको हो। कार्यक्रममा कराते खेल प्रदर्शन गरिनुका साथै नृत्यसमेत प्रस्तुत गरिएको थियो। 

भुटानी राष्ट्रिय कला, संस्कृति झल्कने नृत्य गरेका शरणार्थीहरूले नेपाली समुदायले दिएको माया र स्नेह पनि आफ्नो कलामार्फत् देखाएका थिए। 

दुवै देशका राष्ट्रिय गीतबाट कार्यक्रम सुरु
भुटान र नेपालको राष्ट्रिय गीत बजाएर सुरु गरिएको कार्यक्रममा शरणार्थी खेलाडी तथा शरणार्थीहरूलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएका थियो। 

यसैगरी भारत र नेपालका विभिन्न स्थानमा फरक फरक मितिमा भएका अन्तर्राष्ट्रिय खेलमा स्वर्ण उपाधि जित्ने विभिन्न तौल समूहका १०, रजततर्फ छ, कास्यतर्फ चार र कातातर्फ तीन गरी २३ खेलाडीलाई सम्मानपत्रले सम्मान गरियो। 

कार्यक्रममा वक्ताहरूले आफ्नो देशबाट लखेटिएका भुटानी शरणार्थीले राष्ट्रप्रति गरेको माया देखेर तत्काल भुटानले उनीहरूलाई फर्काउने व्यवस्था गर्न सरोकारवाला निकायले पहल गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.