|

भद्रपुरः पाँचथरबाट झापाको विर्तामोड उपचार गराउन आएका एक व्यक्तिको सुन तथा नगद लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पाँचथर जिल्ला साविक नागी गाविस– ३ घर भई हाल झापाको कनकाई नगरपालिका– १ मा डेरा गरी बस्ने ३७ वर्षका टेकबहादुर हिङ्माङ (दर्जी) रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। 

पक्राउ परेका हिङ्माङले पाँचथरको फाल्गुनन्द गाउँपालिका– १ निवासी ७८ वर्षका पूर्णबहादुर आङ्देम्बेका दुईवटा सुनका औँठी र १२ हजार रुपैयाँ नगद लुटेर फरार भएका थिए। फरार भएका हिङ्माङलाई इलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते विर्तामोड बसपार्कबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

कोइरालाका अनुसार लुटेको सुन हिङ्माङले दमकको एक सुनचाँदी पसलमा बेचेका थिए। उक्त सुन पगालेर सिक्री बनिसकेको अवस्थामा प्रहरीले सिक्री नै बरामद गरेको छ। साथै प्रहरीले उनले आफन्तको घरमा लुकाई राखेको नगद २० हजार रुपैयाँ पनि जफत गरेको छ। 

पाँचथरबाट उपचार गराउन नातिनीसँग विर्तामोड आएका आङ्देम्बेलाई हिङ्माङले रिक्सामा चढाएर केही पर लगेका थिए। एकान्तमा पुगेपछि हिङ्माङले आङ्देम्बेलाई कुटपिट गरी सुन र नगद लुटेर फरार भएका प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.