|

काभ्रेपलाञ्चोकः नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताएका छन्।

आइतबार काभ्रेपलाञ्चोकको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २५ स्थापना दिवसको अवसरमा आयोजित रजत महोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका आचार्यले लोकतन्तत्रका लागि कसैसँग सम्झौता गर्न नसक्ने बताए। ‘लोकतन्त्र ल्याउनका निमित्त पत्रकार महासंघ सधैँ सडकमा लडिरह्यो, अझै पनि प्रेस स्वतन्त्रताको विरुद्धमा सरकारले कदम चाल्दै छ भन्ने कुरा आएको छ’, उनले भने, ‘यदि त्यस्तो हो भने हामी लोकतन्त्र र प्रेस स्वतन्त्रताको निमित्त कसैसँग सम्झौता गर्नेछैनौँ।’ 

नितान्त लोकतन्त्रको अग्र मोर्चामा लड्ने र नागरिक समाजका लागि पनि आशालाग्दो संस्था भनेको पत्रकार महासंघ नै भएकाले लोकतन्त्रमा कहीँ कतैबाट आँच पुर्‍याउने काम हुन्छ भने त्यसको विरुद्ध पत्रकार महासंघ सधैँ लडिरहने उनले बताए।

उनले लोकतन्त्रकै लागि लड्ने संस्थाका पत्रकारहरूलाई अझै पनि झूटा मुद्धा लगाएर थुन्ने काम राज्यबाट भइरहेको उल्लेख गर्दै त्यस्तो काम नहोर्‍याउन आग्रहसमेत गरे। आचार्यले अब कुनै पनि सभासदले प्रेस स्वतन्त्रताको विरुद्धमा कानुन बनाउँछ भने त्यसलाई जनताको बीचमा लैजाने काम पत्रकार महासंघले गर्ने चेतावनी दिए।

उनले संविधानले तल्लो तहसम्म पूर्ण अधिकार दिने नीति सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्ने प्रयास कसै र कतैबाट नगर्न आग्रह पनि गरे।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं.– १ का नवनिर्वाचित सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले पत्रकारहरूको समस्या र उनीहरूको जीविकोपार्जनको विषयमा आफ्नोतर्फबाट गर्नुपर्ने काम र खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने बताए। उनले अझै पनि धेरैजसो श्रमजीवी पत्रकारले श्रमको उचित मूल्य नपाउने गरेका उल्लेख गर्दै त्यसका लागि आफूले सक्दो आवाज उठाउने आश्वासन दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, महासचिव रमेश विष्ट, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङ (लालध्वज), नेकपा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवा, नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडालगायतले पत्रकारिता जगतले खुल्नुपर्ने भूमिका र आगामी दिनमा हुने सहकार्यको बारेमा बोलेका थिए।

कार्यक्रममा नेपाल पत्राकार महासंघ काभ्रेले रजत महोत्सवको अवसरमा प्रकाशन गरेको ‘पत्रकारिता दर्पण’को नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विमोचनसमेत गरे। साथै २५औँ वर्षको अवसरमा तयार पारिएको लोगो पनि उनले सार्वजनिक गरे। 

उक्त अवसरमा महासंघ काभ्रेपलाञ्चोक जिल्ला शाखाका संस्थापक सदस्यहरू, सल्लाहकारहरू तथा पूर्व अध्यक्षहरूलाई सम्मान पनि गरियो।

पत्रकार महासंघले नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना पनि दियो। कार्यक्रम नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.