|

काठमाडौं : गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन' बनाएको छ।

प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएको छ भने प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएको छ। कांग्रेसले एमालेलेभन्दा ४५ हजार १ सय ५ मत मात्रै कम पाएको हो। समानुपातिक मत परिणामअनुसार एमालेले ४१ र कांग्रेसले ४० स्थान प्राप्त गर्नसक्ने देखिएको छ।

एमालेले प्रत्यक्षतर्फ कांग्रेसभन्दा प्रतिनिधिसभामा ५७, प्रदेशसभामा १२७ र समानुपातिकमा एक सिट बढी पाउने भएको छ। पपुलर मतमा कांग्रेस-एमाले हाराहारीकै अवस्थामा रहेको समानुपातिक परिणामले देखाएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पदप्राप्ति र त्यसलाई जोगाउने कार्यले पार्टी जोगिन नसकेको बताए। ‘कांग्रेसलाई मतदान गर्नेको संख्या बढ्यो, मत बढ्यो र कांग्रेस सकिएको छैन भन्ने सन्देश जनता जनार्दनबाटै प्राप्त भयो', पौडेलले भने, ‘तर प्रधानमन्त्रीको पदकै लागि मरिहत्ते गर्दा प्रत्यक्षतर्फ पार्टी जोगिएन।'

कांग्रेस किनारा लागेको नभई आन्तरिक व्यवस्थापन र वैचारिकताको कार्यान्वयनका कारण प्रत्यक्षतर्फ असफल भएको उनले बताए। प्रत्यक्षमा भएको पराजयको जिम्मेवारी कसले लिनुपर्छ भन्ने जिज्ञासामा पौडेलले भने, ‘यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ, त्यसमा म पनि पर्छु।' कांग्रेसलाई अबका दिनमा बचाउन कांग्रेसी भन्नेहरूको त्याग र बलिदानीपूर्ण सहभागिता अपरिहार्य रहेकोमा उनले जोड दिए।

एमाले नेता सुवास नेम्बाङले यसअघिका दुई चुनावमा पहिलो स्थानमा रहेको कांग्रेस अहिले समानुपातिक मतमा दोस्रो हुनु नै उसको पराजय भएको धारणा राखे। नेम्बाङले भने, ‘दोस्रो स्थानमा झरेको कांग्रेस सकारात्मक रूपमा अर्को चुनावको तयारीमा लाग्नुपर्‍यो', उनले भने, ‘राष्ट्रियसभा गठनलगायत बखेडा झिकेर सरकार गठनमा अवरोध सिर्जना गर्नुभएन।' यो वा त्यो विन्दुमा ताजा जनादेशलाई कसैले रोक्न नहुने धारणा संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङले राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.