|

शुक्लपक्षको प्रतिपदा पारेर वैदिक धर्मका अनुयायीहरू सोमबार नयाँ वर्ष मनाउँदैछन्। वैदिक पात्रोअनुसार संवत् ५०८३ सुरु भएको हो। वैदिक कालगणना चान्द्रमानमा आधारित भएकाले नयाँ वर्ष ठ्याक्कै यही मितिमा पर्छ भन्ने हुँदैन। सौरमानले वास्तविक उत्तरायण लाग्ने दिन अर्थात् पुस ७ गते शुक्लपक्षको कुनै तिथि परेको भए त्यसै पक्षको प्रतिपदामा नयाँ वर्ष लाग्ने वेदाङ्ग ज्योतिषका विज्ञ तथा वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायन बताउँछन्।

कृष्णपक्षको नवमी र त्यसभन्दा अघिका तिथि भए त्यस (कृष्णपक्ष) भन्दा अघिल्लो शुक्लपक्षको प्रतिपदामा र दशमीदेखि पछाडिका तिथि भए आउने शुक्ल प्रतिपदामा वैदिक नयाँ वर्ष शुरु हुन्छ। वैदिक नववर्षारम्भको दिन नै वैदिक सौरचान्द्र उदगयन (उत्तरायण), शिशिर ऋतु र तपोमासको अथवा आर्तव माघमासको सुरुआत हुन्छ। प्रयोग हुँदै आएको पात्रोको विवरणमा ‘दर्शश्राद्ध’ लेखिएको दिनको भोलिपल्ट नयाँ महिना शुरु हुन्छ।

तप, तपस्य, मधु, माधव, शुक्र, शुचि, नभ, नभस्य, इष, उर्ज, सह र सहस्य गरी वैदिक महिना पनि बाह्रै वटा हुन्छन्। वैदिक महिना र वर्ष ऋतुबद्ध मानिन्छन्। एक महिनामा शुक्ल र कृष्ण गरी दुइ पक्ष हुन्छन्। शुक्लपक्षमा प्रतिपदादेखि पूर्णिमा र कृष्णपक्षमा प्रतिपदादेखि औंसीसम्मका १५\१५ तिथि हुन्छन्। कौण्डिन्न्यायनका अनुसार वैदिक तिथि अहोरात्रात्मक हुने हुनाले चतुर्दशीबाहेक अरु तिथि टुट्दैनन्। एक वर्षमा बढीमा ६ वटा चतुर्दशी मात्रै टुट्छन्।

तस्बिर– प्रमोदवर्धन कौण्डिन्न्यायन

यो संवत् अनुसार पाँच वर्षको एक युग हुन्छ। क्रमशः संवत्सर, परिवत्सर, इदावत्सर, इद्वत्सर र वत्सर नामका पाँच वर्ष पुनः दोहोरिरहन्छन्। यो संवत् कुनै वर्ष शकसंवत् अनुसारको मार्गशीर्ष शुक्ल प्रतिपदा र कुनै वर्ष पौषशुक्ल प्रतिपदादेखि प्रारम्भ हुन्छ। यस वर्ष मार्गशीर्ष शुक्ल प्रतिपदाबाट शुरु भएको छ। चल्तीको मङ्सिर वा पुस परे पनि यस संवत् सुरु हुने समयलाई माघमासारम्भ भनिन्छ। ६ वटै ऋतुहरू रहेको यो संवत्को प्रारम्भमा शिशिर ऋतु पर्छ।

वैदिक पात्रोअनुसार गणना गर्दा अहिले चलेको जस्तो तिथि टुट्ने वा बिहान एउटा बेलुकी एउटा र अर्को दिन सूर्योदय नहुँदै अर्को लागिसक्ने हुँदैन। तिथिहरू अहोरात्रात्मक अर्थात् सूर्योदयदेखि अर्को सूर्योदय नभएसम्म एउटै तिथि रहन्छन्। तर वर्षमा बढीमा ६ वटा चतुर्दशी टुट्ने वैदिक तिथिपत्र निर्माणकर्ताहरूको भनाइ छ। वैदिक कालगणनालाई वेवास्ता गरी अर्वाचीन ज्योतिषका आधारमा चल्ने गरेकाले चाडपर्व मान्ने समय पनि परिवर्तन भइसकेको बताइन्छ।

यसैगरी वैदिक परम्परामा धार्मिक कार्यको अनुष्ठान सौरमान सापेक्ष चान्द्रमानका आधारमा गर्नुपर्ने विधान छ। त्यसैले वर्षाकालको प्रारम्भ हुनेवित्तिकै ‘पानी परेर वनजङ्गलमा औषधी (वनस्पति) उम्रिन थालेपछिको पहिलो पूर्णिमा’ मा गर्नुपर्ने पर्व उपाकर्म (जनैपूर्णिमा) लगभग वर्षाको अन्त्यतिर मनाउन थालिएको बताउँछन्, वैदिक कालगणनाका अध्येताहरू।

वैदिक कालगणनामा नक्षत्रको ठूलो महत्त्व छ। कृत्तिकादेखि भरणीसम्मका २७ वटा नक्षत्र नै विभिन्न कार्यका लागि गणना गरिन्छन्। नामकरणको लागि नक्षत्र देवताको प्रयोजन बताइएको छ। विवाह उत्तरायणको शुक्लपक्ष पूर्वाह्नमा, व्रतबन्ध उत्तरायणको शुभतिथिमा, उपाकर्म अर्थात् वेदको अध्ययनको नयाँ सत्रको आरम्भ गर्ने पर्व नभोमासको पूर्णिमामा मनाउने विधान छ। शुभकर्मको लागि शुभ नक्षत्रहरूको विधान बताइएको छ। एक वर्षदेखि अर्को वर्ष सुरु हुँदासम्म १३ चान्द्रमास पर्यो भने उत्तरायण वा दक्षिणायनको अन्त्यमा अयनको सातौँ अमान्त चान्द्रमासकै रूपमा अधिकमास पर्दछ।

वैदिक कालगणनामा क्षयमास पर्दैन। वैदिक पात्रोको अनुसरण गर्नेहरूले औँसी र पूर्णिमा तिथिलाई विशेष महत्त्व दिन्छन्। पूर्णिमा देवकार्यका लागि महत्वपूर्ण हुन्छ भने औँसी पितृहरूको उद्देश्यका लागि।

नेपालका कतिपय जातजातिले मनाउने संवत्मा पनि वैदिक परम्परालाई आधार मानेको पाइने वैदिक कालगणनाका अध्येताहरू बताउँछन्। नेपालसंवत् पनि वैदिक कालगणनाबाटै प्रभावित भएको पाइन्छ। कृष्णपक्षको प्रतिपदालाई आधार मानिएको शालिवाहन शाकेको गणनाविपरीत वैदिक नयाँ वर्ष शुक्लपक्षको प्रतिपदामा शुरु हुन्छ। यसैगरी मङ्गोल समुदायको लोसार र थारु समुदायले मनाउने माघी पर्वले पनि वेदको उत्तरायण लाग्दा माघबाट नयाँ वर्ष शुरु हुने मान्यतालाई अङ्गीकार गरेको पाइन्छ ।

 त्यति मात्र होइन प्राचीन कालमा संसारका धेरै भागमा उत्तरायण लाग्दा नयाँ वर्ष मान्ने चलन रहेको थियो। आजभोलिको ग्रेगोरियन क्यालेण्डरले जनवरी १ लाई नयाँ वर्ष मान्नुमा पनि यही कारण देखिन्छ। तर गणनाको गडबडीले गर्दा सौरमानले वास्तविक उत्तरायण लाग्ने दिन पुस ७ गते सौर नयाँ वर्षको आरम्भ हुनु पर्नेमा १० दिन पछाडि पुस १७ गते पुगेको छ।

भारतमा पहिले नै हराएको भएपनि नेपालमा लिच्छविकालदेखि मल्लकालमा (सोह्रौँ शताब्दीसम्म) पनि वैदिक कालगणनापद्धति संरक्षित भएको र व्यवहारमा रहेको कुरा काठमाडौँ उपत्यका र वरपरका क्षेत्रमा प्राप्त धेरै शिलालेखहरूमा पाइएको छ। अहिले पनि काठमाडौं उपत्यकाका परम्परागत मच्छिन्द्रनाथको रथयात्रालगायत पर्वहरूको निर्धारणमा यसको वैदिक कालगणनाको विचार गर्ने गरिएको पाइन्छ।

वैदिक कालगणनाका सिद्धान्तहरू बताउने आधिकारिक ग्रन्थ वेदाङ्ग ज्योतिष हो। यो ग्रन्थ आजभन्दा लगभग चौंतिस सय वर्षअघि लगध मुनिले बनाएका हुन्। शुक्ल यजुर्वेदीहरूको परम्पराबाट आएको ४४ श्लोकयुक्त वेदाङ्गज्योतिषको स्वाद्ध्यायशाला कुटुम्बका शिवराज आचार्यद्वारा विस्तृत व्याख्या गरिएको र ज्योतिष विषयका प्रश्नहरूको विवेचना गरिएको पुस्तक पनि वाराणासीबाट प्रकाशित छ।

नेपालमा ‘स्वाद्ध्यायशाला’ले आठ वर्षदेखि ‘वैदिक–तिथिपत्रम्’का नामले वैदिक पात्रो प्रकाशनमा ल्याइरहेको छ। ‘वैदिक पात्रो १५०० वर्षपछि नेपालबाट वैदिक सिद्धान्तको पुनर्जागरण गरेकोले महत्वपूर्ण छ’, कौण्डिन्न्यायन भन्छन्, ‘अर्कातिर दृश्य गणनामा आधारित रहेकाले यो पात्रोमा शुद्ध गणना छ।’ यसमा दिइएको ग्रहनक्षत्र आकाशमा हेर्दा पनि मिल्ने उनी बताउँछन्।
[email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.