|

पर्वत : साँघुरो कोठाबाट चल्दै आएको स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घारका स्थानीयहरुले झण्डै १० लाखभन्दा बढी मूल्यको जग्गा दान गरेका छन्।

साँघुरो कोठाबाट सेवा प्रवाहमा कठिनाई भएपछि नयाँ सुविधासहितको आधुनिक भवन निर्माणको लागि दान र आर्थिक सहयोग जुटाएर जग्गाको व्यवस्था भएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष ठगराज बरुवालले जानकारी दिए।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बाग्लुङले ठेक्कामार्फत स्वास्थ्य चौकीको भवन निर्माण सुरु गरेको छ। निर्माण कम्पनीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम थालिसकेको छ। १५ शय्या क्षमता बराबरको दुईतले भवन निर्माणका लागि १ करोड ५६ लाखको इस्टिमेट गरिएको छ।

२०७५ सालको जेठ महिनाभित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ। अहिले गाउँ संरक्षण व्यवस्थापन समितिले उपलब्ध गराएको गाउँले घरको एउटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ।  बिरामीको स्वास्थ्य परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट गर्नुपर्दा सेवा प्रवाह प्रभावित हुँदै आएको छ।

स्वास्थ्य चौकीको नयाँ भवन बनेसंगै काठमाडौं मोडल अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसिन सेवासमेत सञ्चालन गर्ने तयारी भइरहेको व्यवस्थापन समितिका अध्यक्ष बरुवालले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.